काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बिहीबार नेपाल ट्रष्टसँग ब्रिफिङ लिएका छन्। नेपाल ट्रष्टको जिम्मेवारी मन्त्री किराँतीले पाएपछि आज पदभार ग्रहण गर्दै ब्रिफिङ लिएका हुन्।
ब्रिफिङपछि सम्बोधनका क्रममा किराँतीले ट्रष्टको नियमावलीमा शिक्षा क्षेत्रमा लगनी गर्ने नीति रहेको बताए।
'विश्वले ठुलठूला आनविक हतियार बनाउन सक्ला। विज्ञानमा ठूलो परिवर्तन ल्याउन सक्ला तर हाम्रो सगरमाथा, पशुपती र लुम्बिनीको फोटोकपी गर्न सक्दैनन्,' उनले भने, 'त्यसैले विश्व हिन्दुहरुको आस्थाको केन्द्र पशुपती क्षेत्रमा विश्व हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव अगाडि किन नबढाउने?'
उनले लुम्बिनीमा बौद्ध विश्वविद्यालय स्थापनाका लागि ट्रष्टले त्यो योजना अगाडि बढाउनुपर्ने बताए।
एक अर्काे प्रसंगमा मन्त्री किराँती भने 'मानिस जन्मिएपछि मर्छ भन्ने अनुभूती मात्रै गर्ने हो भने कसैले नकरात्मक काम गर्ने छैनन्। मान्छे अजम्बरी हुनलाई त सुन्दर कर्म गर्नुपर्छ।'
आफू जनताकाे प्लेनकाे पाइलट भएकाे बताउँदै मन्त्री किराँतीले भने, 'म त तपाईंहरुको नेतृत्व प्लेनको पाइलट जस्तो जहाजको ककपिटमा बसेर जहाज उडाउने हैन। तपाईंहरुसँगै बसेर र्यापटिङ चलाउने हो। म कसैलाई जात, लिंग र विचारको आधारमा विभेद गर्दैन। तपाईंहरुले निर्धक्क काम गर्नुस् र त्यसकाे परिणाम निकाल्नुस्।'
ट्रष्टबाट धेरै उदाहरणीय काम गर्न सक्ने उनकाे भनाइ छ । उनले ट्रष्टको बैठक महिनामा दुई पटक बस्ने निर्णय गरेका छन्।