काठमाडौं। चालू आर्थिक वर्षको ६ महिनामा १ खर्ब १९ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो २०७९ असारको तुलनामा २.५४ प्रतिशतले वृद्धि हो।
गत असारमा ४७ खर्ब ९ अर्ब १३ करोड रुपैयाँ ऋण प्रवाह भएकोमा पुसमा आइपुग्दा ४८ खर्ब २८ अर्ब ९० करोड रुपैयाँ कर्जा पुगेको छ।
ऋण विस्तार सुस्त वृद्धि भए यो ६ महिनामा ऋणीको संख्या ह्वात्तै घटेको छ। ऋण विस्तार हुँदा ऋणीको संख्या पनि वृद्धि हुनुपर्नेमा चालू आवको ६ महिनामा ऋणीको संख्या भने घटेको हो। मुलुकको अर्थतन्त्र कठिन अवस्थामा पुगिरहेका बेला ऋण विस्तार सुस्त भएको छ।
पछिल्लो ६ महिनामा १३ हजार ३ सय ५९ ऋणीको फाइल बन्द (क्लोज) भएको छ। वित्तीय रूपमा प्रतिस्पर्धात्मक भएको अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाले ऋण उठाउन ताकेता गरिरहँदा झन्डै साढे १३ हजार ऋणीको फाइल बन्द गरिएको हो। यद्यपि, यसबीचमा ऋणी फाइल भने अझ बढी बन्द गरिएको हुन सक्छ।
२०७९ असारमा १८ लाख २९ हजार ४४ ऋण फाइल रहेकोमा पुसमा आइपुग्दा १८ लाख १५ हजार ६ सय ८५ मा झरेको छ। एक दशकको ऋण विस्तारको स्थिति अध्ययन गर्दा औसत वार्षिक १ लाख हाराहारी नयाँ ऋण फाइल बढ्ने गरेकोमा चालू वर्षको ६ महिनामा भने उल्टो ऋण फाइल घटेको हो।
नयाँ दिएको ऋणको पनि फाइल नयाँ नै बनाइन्छ। यस्तो अवस्थामा पुराना ऋणीहरूको फाइल अझ धेरै बन्द भएको हुने अनुमान केन्द्रीय बैंकको छ।
बैंक तथा वित्तीय संस्थाले पछिल्लो समय ऋण असुलीलाई तीव्रता दिइरहेका छन्, ऋणीहरु पनि ऋणको साँवा ब्याज र किस्ता तिर्न नसकेर हात उठाउने अवस्थामा पुगेका छन्। कतिपय व्यक्ति तथा व्यवसायीहरूले ऋण तिर्न नसकेर आत्महत्याको बाटो रोजिरहेका छन्।
यस्तो स्थितिमा ऋणी असुली प्रक्रियालाई केही सहजीकरण गर्नुपर्ने आवश्यकता छ। त्यसो त राष्ट्र बैंकले कात्तिकदेखि लागू हुने गरी ल्याएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ का कारण धेरै कर्जाका फाइलहरू बन्द भएको अनुमान छ।
पछिल्लो ६ महिनामा मात्रै वाणिज्य बैंकहरूले लिने कर्जाको औसत ब्याजदर १.१७ प्रतिशत बिन्दुले बढेको छ। गत असारमा ११.६२ प्रतिशत ब्याजदर रहेकोमा पुसमा आइपुग्दा १२.७९ प्रतिशत पुगेको छ।