काठमाडौं। नेपालस्थित विदेशी लगानीका कम्पनीले लाभांशवापत १ खर्ब ९६ अर्ब १३ करोड ७० लाख रुपैयाँ लगेका छन्।
गत असारसम्म उक्त परिमाणबराबर लाभांश लगेका विदेशी कम्पनीले अघिल्लो असारसम्म १ खर्ब ७३ अर्ब ५८ करोड १ लाख रुपैयाँ लगेका थिए।
मुलुकको केन्द्रीय बैंकले प्रकाशित गरेको ताजाज तथ्यांकअनुसार एक वर्षकै बीचमा विदेशी कम्पनीले नेपालबाट जाने लाभांश १३ प्रतिशत बढाएका हुन्। विदेशी कम्पनीले एक वर्ष अवधिमा विभिन्न शीर्षकमा २२ अर्ब ५५ करोड ५ लाख रुपैयाँ लाभांश लिएर गएका हुन्।
विदेशी लगानीमा खुलेका कम्पनीले गत असारसम्म साँवा र ब्याजबापत २४ अर्ब ५८ करोड रुपैयाँ लगेका छन्। अघिल्लो वर्ष उनीहरूले २२ अर्ब ३२ करोड रुपैयाँ लिएर गएका थिए।
केन्द्रीय बैंकको तथ्यांकअनुसार विदेशी कम्पनीले नेपालबाट लैजाने नगद लाभांशको हिस्सा पनि बढिरहेको देखिएको छ। अघिल्लो असारसम्म १ खर्ब ३५ अर्ब नगद लाभांश लगेका कम्पनीले गत असारमा १ खर्ब ५१ अर्ब लगेका छन्। एक वर्ष अवधिमा विभिन्न विदेशी कम्पनीले १५ अर्ब ७५ करोड लाभांश लगेका हुन्।
त्यसैगरी प्रविधि हस्तान्तरणवापत पनि विभिन्न कम्पनीले आफ्नो नाफा तथा हिस्सा लिएर गएका छन्। अघिल्लो असारमा जम्मा ५ अर्ब ८८ करोड रुपैयाँ लगेका कम्पनीले गत असारमा आइपुग्दा ९ अर्ब ४६ करोड रुपैयाँ लगेका छन्। एकै वर्ष ३ अर्ब ५८ करोड रुपैयाँ लगेको तथ्यांकमा छ।
सम्पत्ति बिक्री गरेर पनि विभिन्न कम्पनीले अघिल्लो असारमा ४ अर्ब ३५ करोड रुपैयाँ लगेका थिए। गत असारमा ५ अर्ब १३ करोड रुपैयाँ लगेका छन्। एक वर्ष अवधिमा ७८ करोड रुपैयाँ लगेको तथ्यांकबाट देखिन्छ। अघिल्लो असारमा अन्य शीर्षकमा ५ अर्ब ६९ करोड रुपैयाँ लगेका थिए। गत असारमा आइपुग्दा १७ करोड रुपैयाँ थपिएको छ।
‘नियमसम्मत चलेका कम्पनीले गरेको नाफा लैजान कुनै समस्या छैन। सबैले सहजै लगिरहेका छन्,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले क्यापिटल नेपालसँग भने, ‘नेपालबाट आकर्षक लाभांश लैजानुले यहाँ काम गर्ने राम्रो वातावरण छ भन्ने बुझिन्छ। यसको अर्थ नेपाल राम्रो नाफा आर्जन गर्न सकिने आकर्षक गन्तव्य हो।’
एनसेल प्रालि, सूर्य नेपाल, पावर ट्रान्समिसन कम्पनी नेपाल, निस्साक कम्पनी जापान, बुटवल पावर कम्पनी, गोर्खा ब्रअरी, नबिल बैंक राम्रो लाभांश आर्जन गर्ने कम्पनीमा पर्छन्।नेपालको सेयर बजारमा सबैभन्दा धेरै मूल्यमा खरिद–बिक्री हुने सेयर पनि विदेशी लगानीकै युनिलिभर नेपाल र बोटलर्स नेपालका छन्।
यस्तै डाबर नेपाल, बोटलर्स नेपाल, एसियन पेन्ट्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एभरेस्ट बैंक, आरती स्ट्रिप्स, होङ्सी सिमेन्ट, शिवम् सिमेन्ट, पेप्सी, केएफसीलगायतले पनि राम्रो प्रतिफल लिइरहेका छन्।
कम्पनीहरूले नाफाबाट प्रतिफल छुट्याएपछि आवश्यक प्रक्रिया पूरा गरेर सजिलै लैजान पाउँछन्। नेपाली रुपैयाँबाट डलरमा राष्ट्र बैंकले सटही सुविधा उपलब्ध गराउँछ। बैंकिङ प्रणालीमार्फत लाभांश विदेशी खातामा भुक्तानी हुन्छ।
देशले कोभिड महामारी, महँगी, तरलता अभाव, ब्याजदर वृद्धिलगायत संकट झेलिरहेको समयमा पनि विदेशी लगानीका बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा आकर्षक आम्दानी गरेका छन्।