काठमाडौं। मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी मानिने क्यान इन्फोटेक काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा चलिरहेको छ।
मंगलबारदेखि सुरू भएकाे प्रदर्शन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) काे आयोजनामा भएकाे क्यान इन्फोटेकको अफिसियल नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ राखिएको छ। माघ २९ गतेसम्म सञ्चालन हुने इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विभिन्न प्रविधिहरुको डेढ सयभन्दा बढी स्टल राखिएको छ।
इन्फोटेकमा निकै आकर्षक र उपयोगी प्रविधि तथा स्टार्टअपहरु प्रदर्शनमा छन्। तीमध्ये यहाँ केही आकर्षक प्रविधि र स्टार्टअपहरुको चर्चा गरिएको छ:
कम्युनिटी साइरन
‘कम्युनिटी साइरन’ रामलक्ष्मण इनोभेसन प्रालिले इन्फोटेकमा प्रदर्शनमा राखेको प्रविधि हो। यो प्रविधिले हाम्रो घरलाई तथा हामीलाई सुरक्षित राख्न मद्दत गर्छ।
नेपालमा विभिन्न समयमा चोरले घरमै पसेर चोरी गरेका घटनाहरु सार्वजनिक हुने गरेका छन्। यस्ता घटनाबाट बँच्न र बचाउँन रात्री गस्ती राख्ने, कुकुर पाल्ने, सिसि क्यामेरा जडान गर्ने लगायतका विभिन्न उपायहरु अपनाउँदै आएको पाइन्छ तर पनि यो समस्यामा भने कमी आएको देखिँदैन।
यही समस्यालाई मध्येनजर गर्दै रामलक्ष्मण इनोभेसन प्रालिले नेपालमै ‘कम्युनिटी साइरन’ बनाएका हुन्। यसले चोरीको समयमा तथा यस्तै कुनै भवितब्यको समयमा टोल समाजलाई एकजुट बनाउनका लागि टोल थर्कने गरी घण्टी बजाउन सकिने कम्युनिटी साइरन हाल प्रदर्शनमा राखेका छन्।
यसले सानो खर्चमा टोललाई सुरक्षित पार्ने उनीहरु बताउँछन्। मोबाइलबाटै टोल थर्कने गरी घण्टी बजाउन सकिने कम्युनिटी साइरन जडान गरेपछि प्रहरीलाई बोलाउने, छिमेकिलाई बोलाउन चिच्याउनुपर्ने लगायतका विभिन्न झन्झटबाट मुक्त हुन सकिने कम्पनीको दाबी छ।
‘तपाईंको घरको डाक्टर’
घरको डाक्टर नामले परिचित ‘स्किल सेवा’ले पनि इन्फोटेकमा आफ्नो स्टल राखेर भारी छुटका साथमा सेवा उपलब्ध गराइरहेको छ। घरको भित्ता रसाउने वा फुल्ने, पानी चुहिने, चर्कने, पेन्ट उम्कने समस्याको समाधान गर्ने काम स्किल सेवाले गर्दै आएको छ।
यसले दक्ष तथा योग् प्राविधिक जनशक्तिमार्फत् हाई–टेक डिभाइसको प्रयोगगरी घरको चेकजाँचबाट समस्या पत्ता लगाई समस्या समाधान गर्ने दाबी काम गरिरहेको छ। विशेष गरी उपत्यकाको ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आफ्नोसेवा दिईरहेको यस कम्पनीले उपत्यका बाहिर पोखरामा पनि सेवा सञ्चालनमा ल्याएको छ।
कम्पनीले अन्य मुख्य सहरहरूमा पनि आफ्नो शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ। करिब ४०० भन्दा बढी पाट टाइम स्टाफ र ६० भन्दा बढी स्टाफले फुल टाइम काम गरी रहेका छन्। हालसम्म ३० हजारभन्दा बढी घरहरुको चेकजाँच गरिसकेको कम्पनीका संस्थापक रामशरण विक्रम थापाले जानकारी दिए।
हालै मात्र उनीहरुले ‘सेवा एप’ लन्च गरेका छन् जसबाट हामीले पेन्टिङ, इलेक्ट्रिसियन, प्लम्बरलगायतका सेवा सजिलै पाउन सकिन्छ। साथै यसएपमा स्थानीय बजारसम्बन्धी सबै जानकारी, वडा र नगरका दैनिक सूचना पनि सजिलै थाहा पाउन सकिन्छ। साथै घरबाडामा लगाउनका लागि सम्झौता समेत गर्न मिल्ने सेवा यसमा रहेको छ।
‘नेपाली भोटिङ मेसिन’
नेपालमा निर्वाचनको समयमा जहिले पनि चर्चा हुनेगरेको भाटिङ मेसिन क्यान इन्फोटेक २०२३ मा प्रदर्शनीमा राखिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले प्रदर्शनमा राखेको मेसिनले नेपालमा अपनाइने झन्झटीलो र खर्चिलो निर्वाचन प्रणालीलाई बदल्ने बताइएको छ।
यो मेसिनको माध्यमबाट आजसम्म विभिन्न पार्टीका अफ्ठ्यारा निर्वाचनहरु, महाधिवेसन, अधिवेसनहरु, गैर–आवासीय नेपाली संघको लगातार २ वटा निर्वाचन, नेपाल जेसिजका ३ वटा गरी ५० भन्दा बढि निर्वाचनहरु सफलतापूर्वक सम्पन्न गरिसकेकाे कम्पनीले बताएको छ।
फोटोसहित उम्मेदारको नाम रहने, बदर मत शून्य हुने, सर्पण उम्मेदारको आँखै अगाडी पारदर्शी मतगणना गर्न सकिने, आवश्यक परेमा व्यालेट नै प्रिन्ट गर्न सकिने जस्ता विशेषता यस मेसिनमा छ। यसर्थ यस्ता विशेषतायुक्त आधुनिक मेसिन हुँदाहुँदै कागजमा चुनाव गर्ने प्रवृत्तिलाई परिवर्तन गर्न आवश्यक रहेको उनीहरु बताउँछन्।
मतको सदर/बदरको विषयमा विवाद हुने, एकपल्ट गन्दा एउटाले र अर्कोपटक गन्दा अर्कैले जित्ने अवस्था, हप्तौं दिनसम्म गणना गरेर नसकिने, मुद्दा पर्ने समस्यालाई ध्यानमा राखेर यो मेसिन बनाएको र यो सबैका लागि उपयुक्त भएको कम्पनीको दाबी छ।
इन्फिनिटी
इन्फिनिटी टप नच कोर बैंकिङ सिस्टम हो। यसले वित्तीय संस्थाको बढ्दो मागलाई पूरा गर्ने कोसिस गर्छ। यो एकदमै नौलो प्रविधिमा आधारित छ। इन्फोडेभलपर्स प्रालिले इन्फेटेकमा राखेको यसले वित्तीय संस्थालाई बैंकिङ कारोबारका लागि सुरक्षा प्रदान गर्ने गर्छ। यसले लेनदेन प्रक्रियालाई पनि एकदमै सुरक्षित बनाउने गर्दछ।
यसमा रहेका थुप्रै एमआईएस रिपोर्टले बैंकहरूलाई आफ्नो कारोबार गर्न अझै सहज पार्ने गर्छ। यसको थुप्रै च्यानलहरू बनाएर ग्राहकलाई दिन पनि मिल्छ। यसमा सजिलो इन्टरफेस भएका कारण ग्राहकले सजिलै सफ्टवेयरबाट जान्न सक्छन्।
यो प्रणालीलाई बैंक र सहकारीहरूमा प्रयोग गरिन्छ। मोबाइल बैंकिग सेवा, एटिएम बैंकिग र इन्टरनेट बैंकिग यसको डेलिभरी च्यानल रहेको कम्पनीले जनाएको छ। साथै इन्फोडेभलपर्स प्रालिले ई–रिकन्सिलेसन सिस्टम, अनलाइन (ई) रिक्रुमेन्ट भ्यानेजमेन्ट सिस्टम र आईस्मार्ट सर्भिसेस लगायतका प्रोडक्टहरु पनि राखेको छ।
आइटेकको नयाँ ट्रासियर
क्यान इन्फोटेकमा आइटेक अफिस सपोर्टले नयाँ ट्रासियर नामक प्रडक्ट प्रर्दशनमा राखेको छ। यो एक रूसी भिडियो विश्लेषणात्मक प्रडक्ट हो।
यसले सीसीटिभीको भिडियोलाई विश्लेषण गर्ने गर्दछ। यस प्रडक्टले सीसीटिभी क्यामेराले खिचेको भिडियो फुटेजमार्फत नै कतै आगलागी भयो वा धुँवा आइरहेको छ भने सचेत गराउने गर्छ।
याे प्राेडक्टले यस ठाउँमा आगलागी भएको छ भनेर जानकारी फोटोसहित पठाइदिने गर्छ। त्यस्तै, कसैले सिसिटिभीलाई छोपिदिने वा तार काटिदिएमा पनि तुरुन्तै नोटिफिकेसन पठाउने गर्छ। योसँगै ट्रासियरलाई क्यामेरा अटेन्डेन्स टुलका रूपमा पनि प्रयोग गर्न सकिन्छ ट्रासियरको फेस रिकगिनसन टुलले कुनै मान्छेको अनुहार कुनै क्यामेरामा पनि पर्न गएमा पत्ता लगाइदिन सक्छ।
यसलाई एटिएममा पनि पैसा चोर्ने वा एटिएम फोड्ने जस्ता गतिविधि पक्रिन पनि प्रयोग गर्न सकिने कम्पनीले बताएको छ। कम्पनीले क्यान इन्फोटेकको अवलोकनकर्तालाई एक वर्षको ई–स्क्यान एन्टिभाइरस खरिद गर्दा ६ महिना निःशुल्क दिने अफरसमेत राखेको छ।