काठमाडौं। पूर्वी पहाडी जिल्लालाई तराई हुँदै संघीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ । कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो।
सो करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको आयोजनाले जनाएको छ । कालोपत्र गर्न चार ठेक्कामार्फत काम भइरहेको र तीनको अवधि अब दुई वर्ष रहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताए। कुल ४९ किमी लम्बाइमा दोभानसम्म नाली बनाउने, पर्खाल लगाउनेलगायतका संरचनाको काम भइरहेको उनले बताए । उनले भने, 'यस वर्ष संरचना बनिसकेपछि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ।'
पछिल्लो समयमा निर्माण कम्पनीले स्रोत बढाएर काम गरिरहेको उनले बताए। आयोजना आफैंले गर्नुपर्ने ठाउँमा ट्र्याक खोलिसकिएको र कडा चट्टान भएको खण्डमा सेनाले ट्र्याक खोलिरहेको आयोजनाका प्रमुख खड्काले बताए । किमाथाङ्काबाट तल खाँदबारीलाई शून्य मान्दा १३४ किमीदेखि देखि १४८ किमीसम्म काम सम्पन्न भइसकेको उनले बताए ।
कडा चट्टान रहेको साढे १० किमी सडकमा सेनाले ट्र्याक खोल्ने काम गरिरहेको आयोजनाले जनाएको छ । ट्रयाक खोलेपछि सेनाले हस्तान्तरण गर्ने र त्यसपछि नै स्तरोन्नतिको काम हुने आयोजना प्रमुख खड्काले बताए । करिडोरको चौडाइ नौ मिटर रहेको छ । झन्डै सात मिटर कालोपत्र र त्यस बाहिर अरू संरचना निर्माण गरिने उनले बताए ।
मंसिर अगाडिसम्म काम कम भए पनि अहिले स्रोत परिचालन राम्ररी भइरहेको प्रमुख खड्काले बताए। निर्माण कम्पनीले जनशक्ति र उपकरण दुवै बढाएको उनले जानकारी दिए । उनले भने, 'बीचमा निर्माण सामग्रीको समस्या आए पनि अहिले त्यसको समाधान भइरहेको छ ।'
बरुण र अरुण नदीको दोभानसम्मको सडक गाभ्रेल भइसकेको छ । दोभानदेखि माथि स्तरोन्नतिका लागि बजेट व्यवस्थापन गरी ठेक्का लगाउन स्रोत सुनिश्चित गर्न फाइल अघि बढाइएको उनले बताए । उनले भने, 'अब ८० किमीभन्दा माथि खण्डमा स्तरोन्नतिको काम अघि बढाइनेछ ।'
बरुण र अरुण करिडोरमा विद्युतका परियोजना निर्माण भइरहेकाले त्यहाँका लागि आवश्यक सामग्री ल्याउन भारी सामान बोकेका गाडी गुरिहेका र यसले गर्दा निर्माणाधीन सडकमा क्षति पुग्ने गरेको प्रमुख खड्काले बताए । सडक निर्माण सम्पन्न भएपछि सडकले क्षमताअनुसार भार थेग्न सक्ने भए पनि अहिले नै त्यो नसक्ने उनले बताए ।
सडक निर्माण सम्पन्न गर्न विसं २०८१ सम्मको लक्ष्य लिइएकाले कामको गति बढाउँदा त्यो अवधिसम्म सकिने उनले बताए । अहिले ठेक्कामा गइसकेको खण्डमा काम सकिने र ठेक्का लगाउन बाँकी ठाउँमा केही बाँकी रहन सक्ने उनको भनाइ छ । आयोजनामा हालसम्म ८० किमी ग्राभेलमध्ये ४९ किमी कालोपत्र भएको छ । ८० किमीदेखि एक सय ६२ किमीसम्मको खण्ड ठेक्कामा जान बाँकी रहेको प्रमुख खड्काले बताए ।
करिडोरमा कुनै-कुनै खण्डमा वर्षाको समयमा पहिराको समस्या आइरहेको आयोजनाले जनाएको छ । विभिन्न स्थानमा पहिराले गर्दा यातायात अवरुद्ध भइरहेको छ । आयोजनाअन्तर्गत जम्मा दुई पुल निर्माणाधीन, दुई सम्पन्न र चार ठेक्कामा जान बाँकी रहेको आयोजनाले जनाएको छ । चारमध्ये वरुण नदीमा झन्डै ७० मिटरको पुल निर्माणाधीन रहेको प्रमुख खड्काले बताए । बरुण नदीभन्दा माथि चार पुलको डिजाइन भएर ठेक्कामा जान बाँकी छ ।
करिडोर सडकमा ट्र्याकसमेत पूरै खोलिनसकिएकाले सम्पन्न गर्ने अवधि बढाएर जानुपर्ने प्रमुख खड्काले बताए । राष्ट्रिय गौरवका अरू आयोजना जस्तै यसमा पनि बजेटको समस्या छैन । वार्षिक बजेट पर्याप्त नभएमा थप माग हुने र बहुवर्षीय ठेक्कामा लागि सहमति मागेर अघि बढाइने गरिएको उनले बताए ।
विगत वर्षमा निर्माण अलि ढिला भएकामा आयोजना र योजना कार्यालयले निर्माण कम्पनीलाई पटक-पटक ताकेता गरेर कामको गति बढाइरहेको उनले बताए । निर्माणको गति सुस्त रहेकामा अहिले कम्पनीसँग पटक-पटक बैठक गरेर गति बढाउन लागिएको हो ।
सो राजमार्गको निर्माण पाँच वर्षपहिले सुरु भएको हो । उक्त आयोजनाको कोसी करिडोर नामाकरण भए पनि कोसी र तमोर नदीको किनारबाट निर्माण भइरहेको छ । दक्षिणमा भारतीय सीमादेखि उत्तरमा चीनको सीमासम्म जोड्ने सो राजमार्गले प्रदेश नं १ का कतिपय जिल्लालाई प्रत्यक्ष र कतिपयलाई अप्रत्यक्ष रुपमा लाभ दिनेछ ।
मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमलाई प्रत्यक्ष रुपमा समेटे पनि सिङ्गो प्रदेश नै यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ । रासस