दमौली। चालू आर्थिक वर्षको ६ महिनामा तनहुँमा ४ सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को ६ महिनाको अवधिमा ४ सय ३५ उद्योग दर्ता भएका हुन् ।
सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिए । तीमध्ये ३४ उत्पादनमूलक, २ सय ६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् ।
जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उनको भनाइ थियो । “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू पशुपालनतर्फ आकर्षित भएका छन्”, प्रमुख कुँवरले भने, 'यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।'
कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा २ सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् ।
आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७/७८ मा दुई हजार एक र ०७६/७७ मा ३ हजार ५ सय १५ उद्योग थपिएको थियो ।
उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका एक सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ ।
१ लाख रूपैयाँसम्म पूँजी भएको उद्योगले १ हजार १ सय, तीन लाखसम्म पुँजी भएको उद्योगले ३ हजार १ सय, ५ लाखसम्म पुँजी भएको उद्योगले ६ हजार १ सय, ५० लाख रूपैयाँसम्म पुँजी भएको उद्योगले १२ हजार १ सय, १ करोड रूपैयाँसम्म पुँजी भएको उद्योगले २० हजार १ सय, ५ करोडसम्म पुँजी भएको उद्योगले ३० हजार १ सय र ५ करोडभन्दा माथि पुँजी भएको उद्योगले ५० हजार १ सय १० रूपैयाँ दर्ताबापत शुल्क बुझाउनुपर्छ ।