काठमाडौं । तिहारमा मुलुकभर झन्डै डेढ अर्बको भाइमसलाको कारोबार हुने व्यवसायीहरु बताउछन् । भाइमसलामा प्रयोग हुने काजु, किसमिस, ओखर, बदाम, पेस्ता, नरिवल, छोकडा, सुकमेललगायत विभिन्न मिठाइका परिकारको व्यापार यो समयमा उच्च हुन्छ ।
तिहारमा यस्ता ड्राइफूडको बिक्री कति हुन्छ एकिन तथ्यांक कुनै निकायसँग नभएपनि व्यापारीहरु डेढ अर्बभन्दा बढीको कारोबार हुने बताउछन् । ‘तिहारका बेला भाइमसलाजन्य वस्तुको झन्डै डेढ अर्ब कारोबार हुने अनुमान हाम्रो छ’ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘भाइमसलामा प्रयोग हुन अधिकांश वस्तु भारतबाटै आउँछ ।’
उनका अनुसार ७० प्रतिशतभन्दा बढी तिहारजन्य सामग्री भारतबाटै आयात हुन्छ । त्यसमा पनि खुल्ला सिमानाका कारण अनौपचारिक क्षेत्रबाट आयात हुने यस्ता सामग्रीको परिमाण ठूलो छ । हाँडे ओखर, मखना, अलैंची, नरिवलजन्य वस्तुलगायतका केहि बस्तु भने नेपालमै उत्पादन हुन्छ ।
काठमाडौं उपत्यकाका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड, कालीमाटी, मैतीदेवी, पाटन, लगानखेललगायतका क्षेत्रमा तिहारका सामाग्री किन्नेको भीड लाग्छ । उपभोक्ताहरु भाइमसलामात्र नभई मिठाइजन्य वस्तु, सप्तरङ्गी टिका, माला, झिलिमिलीबत्ती लगायतका वस्तु खरिद गर्नेहरुको भिड पनि उस्तै छ ।
तिहारमा प्रयोग हुने भाइमसलाजन्य वस्तुको खुद्रा मुल्य ः
१. काजु (प्रतिकेजी)– १५५० देखि १७०० रुपैयाँ
२. किसमिस (प्रतिकेजी)– ५०० देखि ६५० रुपैँया
३. पिस्ता —१७०० देखि १९०० रुपैँया
४. नरिवल प्रतिकेजी— ४८० देखि ५०० रुपैँया
५. छोकडा प्रतिकेजी– २०० देखि २२० रुपैयाँ
६. बदाम प्रतिकेजी— १३५० देखि १५०० रुपैयाँ
७. ल्वाङ प्रतिकेजी— १८०० रुपैयाँ
८. सुपारी प्रतिकेजी— ६५० रुपैयाँ
९. ओखर प्रतिकेजी– ६२० देखि ७०० रुपैयाँ
१०. अन्जिर प्रतिकेजी– २००० रुपैयाँ
११. दालचिनी प्रतिकेजी– ५५० रुपैयाँ
१२. मिस्रि प्रतिकेजी– १८० देखि २०० रुपैयाँ
१३. खुर्पानी प्रतिकेजी– ९०० रुपैयाँ
१४. अलंैची प्रतिकेजी – १५०० रुपैयाँ
१५. सुकमेल प्रतिकेजी– ४५०० देखि ५५०० रुपैयाँ
१६. मखना प्रतिकेजी– १२०० रुपैयाँ
स्रोतः खुद्रा व्यापार महासंघ, नेपाल