काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नियमविपरीत काम गरेकाे भन्दै ९ वाणिज्य बैंकलाई कारबाही स्वरूप जरिवाना तिराएको हो।
राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाडाैं (हाल ग्लोबल आइएमई बैंक), प्राइम कमर्सियल बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), नबिल बैंक र सिभिल बैंकलाई कारबाही गरेकाे हाे।
राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेका बैंकलाई जरिवाना तिराएको हाे। राष्ट्र बैंकले कुमारी बैंक, प्रभु बैंक, साविक बैंक अफ काठमाडाैं र प्राइम कमर्सियल बैंकलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ।
यस्तै, माछापुच्छ्रे बैंकलाई पुँजी कोष पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई सचेत गराएको छ।
केन्द्रीय बैंकले सानिमा बैंकलाई बैंकको तत्कालीन सिइओलाई बैंक तथा वित्तीय संस्थाको ऐन उल्लंघन गरी सुविधा उपलब्ध गराएको भन्दै सचेत गराएको छ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले प्रिमियम दरमा अनुपालना नगरेकाे भन्दै व्यवस्थाकाे दफा १० काे उपदफा (२) (क) बमाेजिम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएकाे छ।
नबिल बैंकलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको उपदफा २ मा रहेको ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएकाले बैंकलाई सचेत गराएको छ। राष्ट्र बैंले प्रभु बैंकलाई कर्जा सूचना कालोसूचीसम्बन्धी व्यवस्थाको बुँदा १९ उपदफा २ को (ङ) ५ को व्यवस्था पालन नगरेकाले सचेत गराएको छ।