काठमाडौं। ललितपुर कुमारीपाटीस्थित युनाइटेड एकेडेमीको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले यस्तो ‘डस्टबिन’ (फोहोर फ्याँक्ने भाँडो) निर्माण गरेका छन्, जसको बिर्को आफैं खुल्ने र बन्द हुने गर्छ।
विद्यार्थीले ‘स्मार्ट डस्टबिन’ नाम दिएको उक्त डस्टबिन स्वचालित प्रविधिमा आधारित छ। जुन ‘सेन्सर’ बाट चल्ने गर्छ। एकेडेमीको २५औं वार्षिकोत्सवमा ती विद्यार्थीले स्मार्ट डस्टबिन सार्वजनिक गरेका हुन्।
एकेडेमीका कक्षा ११ र १२ मा अध्ययनरत सचिन बिजुक्छे, सुजल तुलाधर, सक्षम श्रेष्ठ, अश्विनी चौधरी र कृषल कोइरालाको टोलीले निर्माण गरेको स्मार्ट डस्टबिनछेउ मानिस फोहोर लिएर गएपछि यसको बिर्को (ढकनी) आफैं खुल्छ भने मानिस टाढिएपछि आफैं बन्द हुन्छ। मानिसले फोहोर हाल्न यसको बिर्को खोलिरहनुपर्दैन भने फोहोर फालिसकेपछि बिर्को आफैं बन्द हुन्छ।
उनीहरूका अनुसार यो डस्टबिन स्वचालित प्रविधिमा आधारित छ। जसमा कोही यसको छेउमा पुग्नेबित्तिकै काम गर्न थाल्छ। जब कोही डस्टबिन नजिक पुग्छ, यो स्वतः खुल्छ र जब यसबाट पर हुन्छन् तब यो तुरुन्तै बन्द हुन्छ।
यसमा चार तत्व प्रयोग गरिएका छन्। जसमा अल्ट्रासोनिक सेन्सर, अडिनो, सर्भर मोटर र एउटा ब्याट्री प्रयोग भएको छ। साथै, यसमा अल्ट्रासोनिक सेन्सरको २० सेन्टिमिटरको रेडियस राखिएको छ। यसभित्र कुनै पनि वस्तु लिएर आएको खण्डमा आफैं प्रतिक्रिया जनाउँछ। त्यसलाई ‘सर्भर’ सँग ‘कम्पाइल’ गरेका छन्। जसले गर्दा सर्भर १ सय ८० डिग्री घुम्दछ। त्यसले डस्टबिनको बिर्को आफैं खुलाउन मद्दत गर्छ।
हालसम्म आएका ‘एडभान्स’ डस्टबिन भनेको खुट्टाले थिचेर खोल्ने डस्टबिन हो तर एकेडेमीका विद्यार्थीले निर्माण गरेको यो डस्टबिनमा फोहोर राख्न त्यति पनि काम गर्नुपर्दैन। मानिस फोहोर लिएर छेउमा गएपछि आफैं खुल्छ र मानिस टाढा गएपछि यसको बिर्को स्वतः बन्द हुन्छ। जुन निकै आधुनिक र रोचक छ।
यो अपाङ्ग व्यक्तिका लागि सबैभन्दा बढी उपयोगी छ। यसले फोहोरको गन्ध बाहिर जान नदिन, मानिसले बोकेको फोहोर सजिलै डस्टबिनमा हाल्न सहज वातावरण सिर्जना गर्छ। मानिसले डस्टबिनको बिर्को फोहोर भएका कारण खोल्न गाह्रो मान्ने तथा खोलेर हाल्न अप्ठेरो मान्ने भएकाले यसले सहजै फोहोर संकलनका लागि सहयोग पु¥याउने विद्यार्थीहरू बताउँछन्।
‘कतिपयको बानी बिर्को खोल्न गाह्रो मानेर बाहिर नै फोहोर फाल्ने र बिर्को खोले पनि नलगाइदिने किसिमको हुन्छ। जसले गर्दा प्रदूषण बढी हुन्छ,’ विद्यार्थी सचिन बिजुक्छेले क्यापिटल नेपालसँग भने, ‘यही समस्या हेरेर हामीले स्मार्ट डस्टबिन निर्माण गरेका हौं।’
उनले यो डस्टबिन घरमा नभएर विशेषगरी सार्वजनिक स्थलमा प्रयोग गर्न निकै उपयोगी हुने बताए। अर्का विद्यार्थी सुजल तुलाधर महानगरले तथा सरकारले सार्वजनिक ठाउँमा यस्ता डस्टबिन प्रयोग गर्दा फोहोर व्यवस्थापन गर्न सहज हुने र वातावरण सफा रहने बताउँछन्।
‘हामीले अध्ययनका क्रममा प्रयोगात्मक कार्य गर्दा स्मार्ट डस्टबिन विकास गरेका हौं,’ तुलाधारले भने, ‘प्रयोगात्मक कार्य गर्नका लागि खोज्दै र अध्ययन गर्दै जाँदा यसको आइडिया आएको थियो।’
उनले यसलाई तयार गर्न रोबोटिक्स एसोसिएसन अफ नेपाल (¥यान) का गुरुले पनि केही सहयोग गरेको बताए।
सार्वजनिक स्थानमा राख्न, अपाङ्गमैत्री बनाउन लगायत काममा स्मार्ट डस्टबिन निकै उपयोगी हुने उनी बताउँछन्। सरकारले यो डस्टबिन प्रयोग गर्न चाहे धेरै महँगो नपर्ने र टिकाउ पनि हुने उनीहरूको भनाइ छ।
हाल ब्याट्री जडान गरेर परीक्षण गरिरहेको भए पनि बाहिर राख्दा यसमा सोलार जडान गर्न सकिन्छ। जसका कारण विद्युत आवश्यक पर्दैन। फोहोर बाहिर हाल्नुप¥यो र अरू गाडीमा हाल्नुपर्यो भने यसलाई उठाएर गाडीमा हाल्न सकिन्छ। त्यस्तै यसको पछाडिपट्टि पनि फाहोर निकाल्ने मिल्ने ढकनी राख्ने स्थान बनाइएको छ।
स्मार्ट डस्टबिनसँगै ड्रोन विकास
स्मार्ट डस्टबिनसाथ विद्यार्थीहरूले ‘ड्रोन’ पनि बनाएका छन्। यसमा ‘केके२.१.५’ को ‘फ्लाइ कन्ट्रोल’ प्रयोग गरिएको छ। ४ हजार केभीको ‘प्रोसेस मोडो’ प्रयोग भएको यो ड्रोन अन्य ड्रोनजस्तै भए पनि यसमा सबै उनीहरूले नै जडान गरेर तयार पारेका हुन्।
यसलाई कृषि बालीमा विषादी हाल्न प्रयोग गर्न सकिने र अग्नि नियन्त्रण ड्रोन पनि बनाउन मिल्ने उनीहरू बताउँछन्। त्यसबाहेक सामान आपूर्ति गर्न ‘कुरियर’ को काम पनि यसबाट गर्न सकिन्छ। यसमा क्यामेरा राख्न मिल्छ भने ‘एफपिपी’ ड्रोन पनि बनाउन मिल्छ।
विद्यार्थी सचिन बिजुक्छेले कक्षा ८ मा पढ्दै गर्दा यो ड्रोनको नमुना बनाएका थिए। त्यसपछि यसलाई यत्तिकै छाडेका उनले हाल भने ¥यानको सहयोगमा नै तथा अन्य साथीसँग मिलेर यसलाई तयार गरेका हुन्।
उनीहरूले हाल स्मार्ट डस्टबिन र ड्रोन दुवैको ‘प्रोटोटाइप’ अर्थात अवधारणामात्र तयार गरेका हुन्। यसको परीक्षणसमेत गरेर हेरेका उनीहरूले यसलाई थप विकास गरी ठूलो संख्यामा बनाएर बिक्री वितरण गर्ने सोच बनाएका छन्।
विद्यार्थीहरूको यस्ता प्रोटोटाइपलाई उत्पादन चरणसम्म लैजाने रोबोटिक्सका म्यानेजर तथा युनाइटेड एकेडेमीका संयोजक नीर सिंह बताउँछन्। उनका अनुसार यसमा सुधार गर्नुपर्ने कुरा सुधार गर्दै र सम्बन्धित क्षेत्रसँग समन्वय गरेर विद्यार्थीको यो आइडियालाई उत्पादन गर्ने चरणसम्म पुर्याइने छ।
‘हाम्रो क्याम्पसमा नयाँ–नयाँ आइडिया र यस्ता उत्सुकता बोकेका धेरै विद्यार्थी छन्,’ सिँहले भने, ‘हामी यस्ता सोच र आइडिया भएका विद्यार्थीलाई प्लेटफर्म उपलब्ध गराएर उनीहरूमा जागेको उत्सुकता प्रयोगमा ल्याउन थप मद्दत गर्छौं।’
युनाइटेड एकेडेमीले र्यानको सहकार्यमा पहिलोपटक आयोजना गरेको ‘युनाइटेड रोबोटिक्स फेस्टिभल’ मा विद्यार्थीहरूले आविष्कार गरेका र बनाएका सामग्री प्रस्तुत गरेका थिए। एकेडेमीका संयोजक सिँहले फेस्टिभलमा १७ प्रोटोटाइप प्रस्तुत भएको र तिनलाई उत्पादन चरणसम्म लैजाने जानकारी दिए।