रुकुम। बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिकाको छिमेकी पालिका हो । बाँफिकोटको अधिकांश वडामा सडक पुगेको छ । तर, बाँफिको–१० मा भने बल्ल सडक पुगेको छ ।
‘घर आँगनबाटै गाडी चढ्ने सपना पूरा हुने भएको छ’, स्थानीय ७७ वर्षीय बिर्खे कामीले भने । भौगोलिक विकटताका कारण लामो समयसम्म सडक जोडिन नसकेको सानीभेरी गाउँपालिका र बाँफिकोटको भेरी पारिपट्टिको भूगोल पहिलोपटक सडक सञ्जालसित जोडिएको हो । बाँफिकोट–१० को गाराघाट र सानीभेरी गाउँपालिका–३ गरायलादेखि भेरी पारिपट्टिका विभिन्न ठाउँ सडक सञ्जालसित जोडिएका छन् ।
आर्थिक वर्ष २०६७/६८ देखि सडक खन्ने योजना बनेको हो । आव २०७४/७५ देखि सडक निर्माण थालिएको हो । चालू आवमा सानीभेरी–३ र बाँफिकोट–१० सडक सञ्जालसित जोड्न सकिएको बाँफिकोट–१० का वडाध्यक्ष हरि चन्दले बताए । गाराघाटबाट सानीभेरीको सिमाना मैदुलोटेसम्म करिब सात किलोमिटर सडकको ट्रयाक खोलिएको छ ।
सडक निर्माणमा हालसम्म १ करोड ८५ लाख खर्च भएको वडाध्यक्ष चन्दले बताए । केही ठाउँमा सडकको काम भइरहेको छ । सानीभेरी–३ पेदीबजार हुँदै मैदुलोटेसम्म करिब नौ किलोमिटर सडक निर्माण भएको छ । उक्त सडक निर्माण गर्न १ करोड ५० लाखभन्बदा ढी बजेट खर्च लागेको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताए तर सडक मर्मत भने हुन नसकेको उहाँको भनाइ छ ।
भेरीपारि सडक सञ्जालमा जोडिएसँगै बाँफिकोट र सानीभेरीका विभिन्न ठाउँमा पहिलो पटक ट्र्याक्टर, मोटरसाइकललगायतका सवारी साधन पुगेका छन् । नियमित सवारी साधन सञ्चालनका लागि केही ठाउँमा मर्मतको काम गर्नुपर्ने र त्यसका लागि बजेटको समेत व्यवस्था भइसकेको बाँफिकोट–१० का वडाध्यक्ष चन्दले बताए।
नजिकै भएर पनि विकट ठाउँका रुपमा रहेका बस्ती सडक सञ्जालमा जोडिएको र अब त्यसको सुधार तथा थप बस्तीमा विस्तारका लागि प्रयास भइरहेको चन्दको भनाइ छ । उनका अनुसार एकता आधारभूत विद्यालय सेजेदेखि बालहित आधारभूत विद्यालयसम्मको चार किलोमिटर सडक निर्माणका लागि ५० लाख रूपैयाँ बजेट आएको छ ।
त्यस्तै मयारीदेखि भानुभक्त माविसम्मको डेढ किलोमिटर सडक निर्माणका लागि ३० लाख रूपैयाँ बजेट आएको छ । मुख्य रूपमा वडा सडक सञ्जालमा जोडिएपछि अब बस्ती–बस्ती जोड्ने सडक प्राथमिकतामा रहेको वडाध्यक्ष चन्दले बताए। रासस