काठमाडौ । चितवनको भरतपुर महानगरपालिका २३ स्थित मनकामना बचत तथा सहकारी संस्थाका महिलाहरु पुष्प खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा माला तथा पूजाका लागि धेरै फूल खपत हुने र यसको बजार राम्रो देखेपछि महिलाहरुले खेती गर्ने सोच बनाएका हुन् । सहकारी संस्था महिला सञ्चालक समितिकी सदस्य मन्धरा ढुंगानाले महिलाहरुलाई पनि आर्थिक गतिविधिमा संलग्न गराउन पुष्प खेती सुरु गरेको बताइन् ।
पछिल्ला वर्षहरुमा तिहारमा प्रयोग हुने फूल भारतबाट आयात हुने गरेकाले मन्धरा लगायतका भरतपुर २३ का महिलाहरुलाई पिरोलेको छ । सानो मेहनत गरे पैसा पनि हुने र फूलको माग पनि पूरा गर्न सकिने भएकाले पुष्प खेती गर्ने योजना अनुसार सुरु गरेको सदस्य मन्धराको भनाई छ ।
सहकारीले स्थानीय महिलालाई पुष्प खेती तालिम दिएको थियो । सो तालिम लिएका महिला पुष खेतीमा आकर्षित भएका हुन् । मनकामनाले गत असारमा ३० महिलालाई पुष खेतीसंबन्धी ३ दिने तालिममा दिएको थियो ।
करिब १५ हजार तयारी मालाको अर्डर आएकाले अहिले फूल टिप्न र माला बनाउन भ्याइनभ्याई छ । घरका कामबाट फुर्सद निकालेर स्थानीय महिलाहरु फूल टिप्न र माला बनाउन व्यस्त छन् ।
आगामी दिनहरुमा महिलाहरुलाई आर्थिक उपार्जनमा संलग्न गराउने अन्य योजनाहरु पनि बनाई रहेको उनले बताइन् । महिलाहरुलाई व्यवसायिक तरकारी खेती,बाख्रा,कुखुरा,गाई फर्म लगायतका व्यवसायमा संलग्न गराउने विषयमा छलफल भइरहेको सदस्य ढुंगानाले जानकारी दिइन ।
मनकामना सहकारीका महिलाहरुले अहिले १५ कठठ जग्गामा सयपत्री फूलको खेती सुरु गरेका हुन् । यसै वर्षदेखि सुरु गरेको सो पुष्प खेतीलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने भएका छन् । पुष्प खेतीका लागि ९० हजार रुपैँया लगानी भएको छ । ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य रहेको मन्धराले बताइन् ।
सो आम्दानी पनि पुष्प खेतीमै लगानी गर्ने सहकारीमा आवद्ध महिलाले जनाएका छन् । सहकारीमा ६०० भन्दा बढी महिलाहरु आवद्ध छन् । त्यहाँ उत्पादित फूल चितवनको नारायणगढ लगायतका स्थानीय बजार तथा काठमाडौंमा बिक्री गरिने छ ।
तिहारमा अर्बौ रुपैयाँ बराबरका सयपत्री, मखमली लगायतका फूल विदेशबाट आयात गरिँदै आएको छ । नेपालको उत्पादनले बजारको माग धान्न नसक्ने भएपनि विदेशबाट पुष्प आयात गरिँदै आएको हो ।
नेपाल फ्लोरिकल्चर एशोसिएसन (फयान) का अनुसार यसपालीको तिहारका लागि झन्डै २५ लाख माला आश्यक पर्नेछ । झन्डै साढे २ लाख माला अपुग भएपछि भारतबाट आयात गरिएको छ ।
एसोसियसनका अनुसार ८० प्रतिशत आन्तरिक र २० प्रतिशत माला भारतबाट आयात हुने गरेको छ । हरेक बर्ष १५ प्रतिशतका दरले पूmलको आन्तरिक माग वृद्धि हुने गरेको छ । नेपालमा पूmलको व्यवसायिक खेती सुरु भएको दुई दशक बितेपनि पुष्पमा आत्मनिर्भर हुन सकिरहेको छैन ।
पुष्प खेतीको व्यवसायिक उत्पादनमा वृद्धि, क्षेत्र विस्तार, किसानलाई अनुदान, भरपर्दो बजार व्यवस्था र वितरण प्रणाली प्रभावकारी नहुँदा व्यवसाय फस्टाउन नसकेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
हाल नेपालमा १५७ हेक्टर क्षेत्रफलमा झन्डै ७०० भन्दा बढी व्यवसायिक किसानहरु पुष्प खेती आवद्ध छन् । नेपालमा खास गरी सयपत्री, मखमली, गुलाफ,लगायतका १६ प्रजातीको फूलको उत्पादन र बिक्री हुँदै आएको छ ।