काठमाडौं। अमात्य ग्रुपअन्तर्गतको माउन्ट एभरेस्ट ब्रुअरी प्रालिले लिएको करोडौं रुपैयाँ ऋण अझै चुक्ता गरेको छैन।
ब्रुअरीले ऋणको साँवामात्र ४५ करोड रुपैयाँ तिर्न बाँकी छ। यस्तै ब्याज पनि यही हाराहारीमा रहेको लगानीकर्ता बैंकको भनाइ छ।
यस्तै ग्रुपले पोखरामा पाँचतारेस्तरको फूलबारी रिसोर्ट बनाउँदा लिएको झन्डै ४ अर्ब रुपैयाँ ऋण पनि तिरेको छैन। फूलबारी रिसोर्टले आगामी असारसम्म सबै ऋण चुक्ता गर्ने प्रतिबद्धता नेपाल बैंकसँग गरेको छ।
रिसोर्टका अध्यक्ष पियुषबहादुर अमात्य र उनका भाइ दमनबहादुर अमात्यले माउन्ट एभरेस्ट ब्रुअरी सञ्चालन गरिरहेका छन्।
चितवन भरतपुरस्थित माउन्ट एभरेस्ट ब्रुअरीले ‘एभरेस्ट’ ब्रान्डमा बियर उत्पादन गरिरहेको छ। गत वर्ष चैतमा बैंकरूले ब्रुअरी लिलाम गरेर ऋण असुलीको प्रक्रिया अघि बढाएका थिए।
त्यसविरुद्ध सञ्चालक दमनबहादुर अमात्यले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए। अदालतले अन्तरिम आदेश दिएर लिलामी रोक्न बैंकहरूलाई आदेश दिएको थियो।
बैंकहरू त्यसविरुद्ध ‘भ्याकेट’ मा गए पनि पटक–पटक पेसी चढे पनि पालो नपाएकाले अघि बढ्न नसकेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए।
माउन्ट एभरेस्टमा नेपाल बैंकको अगुवाइमा हिमालयन बैंक, नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन्। बियर कारखाना र जग्गा बिक्री गर्दा ऋण असुली हुन सक्ने उनको भनाइ छ। भरतपुरमा ब्रुअरीको नाममा ४ बिघा ५ कठ्ठा जग्गा छ।
यसअघि पनि ६० करोड रुपैयाँ ऋण तिर्ने सर्तमा बैंकहरूले माउन्ट एभरेस्टको ऋण पुनर्संरचना गरेका थिए। एकपटक किस्ता बुझाएको पनि थियो। ऋण नतिरेपछि बैंकहरूले ब्रुअरी र जग्गा लिलामी अघि बढाएका थिए।
माउन्ट एभरेस्टका सञ्चालक दमनबहादुर अमात्यलाई बैंकहरूको सिफारिसमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखिसकेको छ।
ब्रुअरीले एक समयमा ‘सानमिगेल’ बियर उत्पादन गरेर नेपालको बियर बजारमा एकछत्र राज गरेको थियो। फिलिपिन्सिको प्रतिष्ठित ब्रान्ड सानमिगेललाई डेनमार्कको काल्सबर्ग ग्रुपले किन्यो। त्यसपछि माउन्ट एभरेस्टले सानमिगेल बियर उत्पादन गर्न पाएन।
सानमिगेलको स्वामित्व गोरखा ब्रुअरीमा सर्याे। त्यसपछि माउन्ट एभरेस्ट समस्यामा पर्न थालेको हो। ब्रुअरीले एभरेस्ट प्रिमियम बियरसँगै गोल्डेन टाइगर स्ट्रङ, राइनो प्रिमियम र राइनो स्ट्रङ बियर उत्पादन गर्दै आएको छ।