काठमाडाैं। नेपाल सरकार, संयुक्त राष्ट्र संघ र युरोपेली संघको संयुक्त साझेदारीमा नेपालमा लैंगिक समानता, महिला र युवतीको सशक्तीकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ।
‘सशक्त महिला, समृद्ध नेपाल’ नाम दिइएको चार वर्षे संयुक्त राष्ट्रिय कार्यक्रम आज ललितपुरको पाटनमा आयोजित विशेष समारोहमा शुभारम्भ गरिएको हो।
उक्त कार्यक्रम महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, युरोपियन युनियनको अन्तर्राष्ट्रिय साझेदारीका निर्देशक पेटेरिस उस्टुब्स र युनिसेफ नेपालका प्रतिनिधि एल्के विस्चले संयुक्त रुपमा शुभारम्भ गरेका हुन्।
संघ, प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा सञ्चालित यो कार्यक्रम १९.५ मिलियन अमेरिकी डलरको रहेको छ। यस कार्यक्रमले नेपालमा लैंगिक समानता तथा महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउने र समृद्ध र सुखी नेपालको राष्ट्रिय परिकल्पनालाई साकार पार्न काम गर्ने बताइएको छ।
कार्यक्रम कर्णाली, मधेस र सुदूरपश्चिम प्रदेशमा कार्यान्वयन गरिनेछ। कार्यान्वयनका विविध विषयमा संयुक्त राष्ट्रसंघका चार वटा एजेन्सी अन्तर्राष्ट्रिय श्रम संगठन, राष्ट्रसंघीय जनसङ्ख्या कोष, राष्ट्रसंघीय बाल कोष र यूएन वुमनको सहयोग रहनेछ।
शुभारम्भ समारोहमा मन्त्री चौधरीले महिलाको सशक्तीकरण नभई दिगो विकास नहुने उल्लेख गर्दै कार्यक्रम कार्यान्वयनमा सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
उनले लैंगिक हिंसा अन्त्य र महिला सशक्तीकरणका लागि विभिन्न कानुन र संरचनागत व्यवस्था बनेको जानकारी गराउँदै कार्यान्वयनमा सबैको योगदान आवश्यक पर्नेमा जोड दिए।