काठमाडौं। राजधानीको कमलादीमा निर्माण भइरहेको दक्षिण एसियाकै पहिलो स्काइवाक टावरको आउँदो वैशाख १ गतेबाट सञ्चालनमा आउने भएको छ। काठमाडौंभित्रै पर्यटनमा नयाँ गन्तव्य विस्तार गर्ने उद्देश्यका साथ निर्माण भएको स्काइवाक टावरको निर्माण कार्य सकिएको अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए।
वर्न्डस नेपालले २ वर्षभित्रै सञ्चालनमा ल्याउने गरी २०७६ साल मंसिरमा टावरको शिलान्यास गरेको थियो । तर, काम सुरु भएपछि विश्वव्यापी कोभिड महामारीका कारण समय अवधि लम्बिएको कम्पनीले जनाएको छ।
पुरानाे समाचार
‘अहिले निर्माणको सम्पन्न गरी फिनिसिङको काम भइरहेको छ’, अध्यक्ष पोखरेलले क्यापिटल नेपालसँग भने, नयाँ वर्षमा नयाँ स्वाद चखाउने उद्देश्यका साथ अघि बढेका छौं।’
अहिले टावरको सबैभन्दा माथिल्लो भागमा सिसा हाल्ने काम भइरहेको छ। योसँगै टावरको बीचमा रेस्टुरेन्ट सञ्चालनका लागि जिम्मासमेत हस्तान्तरण भइसकेको छ। रेस्टुरेन्ट कस्ले चलाउने र कस्तो हुने कम्पनीले खुलाएको छैन।
सिसामाथि नै हिँड्ने र त्यहाँबाट काठमाडौंका दृश्य हेर्न मिल्ने भएकाले पनि धेरैको आकर्षणमा पर्ने विश्वास कम्पनीले लिएको छ। दक्षिण एसियामै पहिलो हुने भएकाले अन्य मुलुकका पर्यटकहरूको रोजाइसमेत नेपाल पर्न सक्ने अनुमान कम्पनीको छ।
२ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेको सो टावरमा ११ जना लगानीकर्ता छन्। मनोरञ्जनका लागि नाइट क्लब पनि सञ्चालन हुने टावरमा १० वटा कोठा, मिटिङ हलसमेत हुनेछ। त्यसको माथि १०० जना अट्ने रेस्टुरेन्ट र सबैभन्दा टपमा स्काइवाक हुनेछ ।
१३.२ रोपनी जग्गामा निर्माण भइरहेको सो टावर नेपाली भवनको ढाँचाअनुसार झन्डै २८ तलाबराबरको अर्थात् ७८ मिटर अग्लो टावर हुनेछ ।
टावर निर्माणमा स्ट्रगेस क्यानडा, इभर प्रोस्पर चीन र समर ग्रुप नेपाल परामर्श साझेदार छन्। सिसाको टावरमा पार्किङ, हेल्थ क्लब, रेस्टुरेन्ट, स्वीमिङ पुल, एयर रेस्टुरेन्ट, पसल र एयर क्लब सञ्चालन हुने अध्यक्ष पोखरेलले जानकारी दिए।
टावरभित्र राखिने लिफ्ट जमिन सतहदेखि सीधै ६८ मिटर माथि पुगेर रोकिनेछ, जहाँ सिसाको हिँड्ने बाटो बनाइएको हुन्छ। उक्त टावर अमर कन्स्ट्रक्सन कम्पनीले बनाएको हो। टावरमा प्रवेश गर्दा निश्चित शुल्क लाग्नेछ भने टावरमा जानेहरुको सुरक्षा जाँच हुनेछ।
टावरमा अन्डरग्राउन्डसहित १ सय ५० भन्दा बढी कार र ५ सयभन्दा बढी मोटरसाइकल पार्क गर्न सकिनेछ। टावरलाई सुरक्षित पर्यटकीय र मनोेरञ्जनको गन्तव्य बनाउने योजना कम्पनीको छ। स्काइवाक टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमता छ।