काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा २८ औं संस्करणको क्यान इन्फोटेक सुरु भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) ले आयोजना गरेको क्यान इन्फोटेकको अफिसियल नाम ‘इन्फोडेभलपर्स क्यान इनफोटेक २०२३’ राखिएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका नौलो प्रविधिको प्रदर्शन गर्ने उद्देश्यसहित सुरु भएको यो इन्फोटेक आजदेखि यही २९ गते आइतबारसम्म सञ्चालन हुने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सफ्टवेयर, फिन्टेक, इन्टरनेट सेवा प्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स, मोबाइल तथा मोबाइल एक्सेसरिज, टेलिकम्युनिकेसन्स, आइटी कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्स, स्टार्टअप र इन्नोभेसनका साथै कम्प्युटिङ डिभाइससँग सम्बन्धित कम्पनीको स्टल रहेको छ । यस वर्ष इन्फोटेकमा अफिसियल प्रायोजक र फुड कोर्टसमेत गरि करिब २ सयवटा स्टल छन् ।
उद्घाटन कार्यक्रममा क्यान महासंघका अध्यक्ष रणजितकुमार पौदारले आइएनजीओ, इन्टरनेशनल स्तरमा ज्ञान तथा प्रविधि अनुभव साट्ने प्लेटफर्म बनाउने योजना रहेको बताए । ‘देशभरिबाट विभिन्न सूचना प्रविधिको प्रतिस्पर्धाहरू गरेर लुकेर रहेको छविहरू अगाडि ल्याउने कुराहरु पनि हामीले सोचिरहेका छौं । त्यसैगरी यहाँका व्यवसायीहरुका लागि बीटुबी कार्यक्रम गरेर उहाँहरुको व्यापारलाई अगाडि बढाउने प्रयास गर्ने हामीले सोंचिरहेका छौं’, उनले भने ।
उनले नेपाली प्रविधिलाई स्थापित गराउने अभियानमा पनि क्यान महासंघले भूमिका निभाउँदै आएको बताए । उनले भने, ‘नेपाली सफ्टवेयरका कम्पनीहरुलाई कसरी नेपाल सरकारले पनि पत्याउने, कसरी नेपालमै काम लगाउन सकिने, उत्पादन गरेका सफ्टवेयरहरुलाई कसरी विदेशमा बेच्न सकिने ती कुराहरुलाई क्यान महासंघले कसरी प्रवर्द्धन गर्न सक्छ भन्ने कुराहरु हामीले सोचिरहेका छौं।’
त्यस्तै कार्यक्रममा क्यान महासङ्हका चिरञ्जीवी अधिकारीले यसपटक अलिकति स्टार्टअप र नविन अनुसन्धानका उत्पादन र स्कूल प्रोजेक्टलाई लक्षित गरेको बताए। अगाडिका इन्फोटेकमा हार्डवेयरमा मात्र जोड़ दिइयो भन्ने गुनासो आइरहेको थियो, सोही सुझावलाई आत्मसाथ गर्दै योपटक आइको परामर्श कार्य (काउन्सिलिङ) देखि विधार्थी कलेज, नविन अनुसन्धानसँग जोडिएका करक फरक प्रर्दशनी (प्याविलियन) को व्यवस्था गर्छौं । अपांगता भएका अवलोकनकर्ताका लागि एप्लिकेसन सोलुसन बनाएका छौं, जसको पनि छुट्टै प्रर्दशनी हुने’, उनले भने ।
प्रदर्शनीमा हरेक दिन विभिन्न विषयमा छलफल चलाउन कनफ्रेन्स गर्ने योजना बनाएको उनको भनाइ छ । उनले भने, ‘अहिले च्याट जिपिटीले गर्दा मान्छेको सिर्जनशिलता हरायो भन्ने छ, त्यसको निराकरण गर्न सकिन्छ रु त्यसको सम्भाव्यताहरु के के रु भन्नेबारेमा हामीले कन्फ्रेन्समा छलफल गर्न सक्छौं । अर्को हामीले फाइभजी प्रविधि लगायत अन्य फरक-फरक ५र६ वटा विधामा कन्फ्रेन्स गर्दैछौं ।’