काठमाडौं। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ)को आयोजनामा २८औं संस्करणको क्यान इन्फोटेक आजदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ।
मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी मानिने क्यान इन्फोटेक भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ। क्यान इन्फोटेक २०२३को टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससिटी) रहेको छ। प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससिटी’ राखिएको छ।
क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिसहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे छन्। सिल्भर स्पोन्सरहरूमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) रहेका छन्।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्यारेन्स पार्टनरमा आइएमई जेनेरल इन्स्योरेन्स, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनरमा ¥याकेट बार एन्ड इभेन्टस, पावर्ड बाई आइएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस छन्।
प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसुलगायतका संस्थाले सहयोग गरेका छन्। त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो र वल्र्ड इन्फमेसन टेक्नोलोजी एन्ड सर्भिस एलाइन्सको पनि सहयोग छ।
प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहनेछन्। क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अवसर दिनेछ।
क्यान इन्फोटेकमा अवलोकनर्ताले देश÷विदेशका सफ्टवेयर नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउनसक्ने छन्। साथै ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटिभी पनि प्रदर्शनीमा उपलब्ध हुनेछन्।
त्यसैगरी आइओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन्।
यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर पे वेलमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने व्यवस्था महासंघले गरेको छ। यसअन्तर्गत सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ। क्यान इन्फोटेकको दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने छ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आइटी करियर काउन्सिलिङ (स्टुडेन्ट पेभिलियन), कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरेको महासंघले उल्लेख गरेको छ। इन्फोटेक आजदेखि ६ दिनसम्म चल्नेछ।
सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन २०२२ मा इन्फोटेकको २७औं संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो। नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीका रुपमा स्थापित भएको छ।
६ दिनको इन्फोटेक समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुनेछ। यसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुने महासंघले जनाएको छ। प्रदेश १. कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा गरिने बताइएको छ।