काठमाडौं । तिहारको पहिलो दिन अर्थात काग तिहारलाई पछिल्लो समय धनवन्तरी त्रयोदशीका रुपमा मनाउने प्रचलन बढ्दो छ । जसलाइ धनतेरस पनि भनिन्छ ।
यो दिन सुन, चाँदी, पूजाका भाँडा, घरायसी उपयोगका भाँडा, धातुका थाल, कचौरालगायतक सवारी साधन खरिद गर्दा पनि शुभ हुने मान्यता छ । यस्ता सामान भित्राउँदा लक्ष्मी खुसी हुने र घरमा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
बिशेष गरि नेपालमा मारवाडी समुदायमा बढी मनाइने धनतेरस पछिल्लो समय सुचना प्रबिधिको विस्तारले नेपालमा पनि पर्वको रुपमा मनाउन लागिएको सुनचाँदी व्यवसायी एवम सुनचाँदी व्यवसायी महासंद्यका पुर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । नेपालमा धनतेरसमा धातुका सामग्री किन्ने प्रचलन भित्रिएको करिब १५ बर्ष जति भएको उनको भनाई छ ।
नेपाली समाजमा लक्ष्मी पुजाका दिन आफ्नो गक्ष अनुसार धातुका सामान किन्दा लक्ष्मी भित्रने विश्वास रहेकाले त्यही दिन किन्ने प्रचलन रहेको थियो । उनले भने ‘पहिला नेपाली प्रचलन यम पन्ञ्चक लागेपछि मात्र किन्ने गरिन्थो । काग तिहारकै दिन किन्नु पर्छ भन्नी थिएन, लक्ष्मी पुजाको दिनमा मात्र किन्नु पर्ने हुन्थो तर भारतको प्रभावले गर्दा अहिले धनतेरस कागतिहार कै दिन मनाउने पाइएको छ ।’
तर अहिले भारतको सिको गरेर कात्तिक कृष्ण पक्ष यम पन्ञ्चकको पहिलो दिन अर्थात काग तिहारलाई धनतेरस पर्व मान्दै बहुमुल्य सामान घरमा भित्राउने गरिन्छ । सोहि कारण अन्य दिनको तुलनामा धनतेरसमा सुनचाँदीको कारोवारमा समेत बृद्धी हुने गरेको छ । सो दिन व्यापारमा ३५ प्रतिशतले बृद्धी हुने सुनचाँदी व्यवसायीले बताएका छन् ।
धनतेरसको सुरुवात
धनतेरस विशेष गरी मारवाडी समुदायको विशेष पर्वको रुपमा मनाउछन् । नेपालमा माडवाडी समुदायको प्रवेशसँगै यो पर्वको पनि सुरुवात भएको पाइन्छ ।
माडवाडी व्यापारी समुदाय भएकाले उनीहरुले धनको पूजालाई बिशेष प्राथमिकता दिएर लक्ष्मी पूजालाई महत्व दिन्छन् । उनीहरु तिहारलाई दिपावालीको रुपमा मनाउने गर्दछन । उनिहरु धनन्तरी त्रयोदशी दिन नयाँ सामान घरमा भित्राउदा शुभ हुने बिश्वास गर्छन् ।
अहिले भने नेपालमा अन्य समुदायले पनि त्यहि सिको गरेर धनतेरस मनाउने गर्छन् । बदलिदो समयसगै अहिले धातु तथा सुनचाँदीका गहरगना मात्र नभएर दैनिक जीवनमा आवश्यक मेसिनरी तथा सवारीका साधन पनि खरिद गर्ने गरेको समेत पाइएको छ ।
उपत्यका लगाएत देशका सबै सहरका मुख्य क्षेत्रमा धनतेरसका दिन सहर गुलजार हुने गर्दछन । नेपाल र भारत सीमावर्ती सहरहरु विराटनगर, विरगन्ज, जनकपुर, हेटौडा, भरतपुर, भैरहवा, बुटवल, नेपालगन्जजस्ता सहरमा भाडाँवर्तनको व्यापार बढ्ने व्यवसायीहरु बताउछन् ।