काठमाडौं। इन्जिनमा समस्या उत्पन्न भएका कारण पोखरामा माघ १ गते यती एयरलाइन्सको ७२ सिटे एटिआर जहाज दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटना जाँच आयोगका अनुसार जहाजको ‘फ्लाइट डाटा रेकर्डर‘ र ’ककपीट भ्वाइस रेकर्डर’ (ब्ल्याक बक्स) को विश्लेषण र अनुसन्धानबाट दर्ता नम्बर ‘९एन-एएनसी’ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने क्रममा ‘बेस लेग‘ मा दुवै इन्जिनका ’प्रोपेलर‘ हरु ’फेदर’ मा गएको थियो।
‘त्यसकारण उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी आयोगले प्राविधिक र मानवीय पक्षबारे थप अनुसन्धान अगाडि बढाइसकेको छ,’ आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेद्वारा जारी विज्ञप्तिमा छ।
७२ सिट क्षमतायुक्त ‘एटिआर७२-५००‘ सिरिजको जहाज उडाइरहेका एक वरिष्ठ क्याप्टेनका अनुसार दुवै इन्जिनका प्रोपेलर फेदरमा जानु भनेको इन्जिनले प्रोपेलर घुमाउन चाहिने आवश्यक पावर (शक्ति) नदिनु हो। जसले गर्दा जहाज अगाडि बढ्न सक्दैन।
‘यतीको जहाज अवतरण गर्ने बेलामा बेस लेगमा दुवै इन्जिनको प्रोपेलर फेदरमा जाँदा इन्जिनले प्रोपलेर घुमाउन चाहिने पावर दिएको देखिएन,’ ती क्याप्टेनले क्यापिटल नेपालसँग भने, ‘प्रोपेलर आफ्नै शक्तिले घुमेको थियो, तर इन्जिनबाट पनि थप पावर नपाउँदा प्रोपेलरले जहाजलाई थामेर धावनमार्गतिर लान सकेन र दुर्घटना भयो।’
दुर्घटना जाँच आयोगले ब्ल्याक बक्सको डाटा विश्लेषण गर्न सिंगापुर लिएर गएको थियो। त्यहाँ सिगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टिएसआइबी), फ्रान्सको हवाई दुर्घटना अनुसन्धान ब्युरो (बिइए), क्यानडाको ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (टिएसबी), क्यानडाकै इन्जिन निर्माता प्राट एन्ड ह्विट्नी (पिएन्डडब्लु) र युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) का प्रतिनिधिहरुको सहभागितामा प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो। त्यसैगरी सिंगापुरस्थित एटिआर जहाजको ’सिमुलेटर’ मा विभिन्न उडान र प्राविधिक पक्षको थप अध्ययन गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार अन्तिम प्रतिवेदन पेस गर्न समय लाग्ने भएकाले हालसम्म प्राप्त सूचना र तथ्यांक विश्लेषण तथा अनुसन्धानका आधारमा हवाई उडानमा थप सुरक्षा अभिवृद्धि गर्न सम्बन्धित निकायलाई तत्काल अपनाउनुपर्ने सुरक्षात्मक उपायका सिफारिस सहितको प्रारम्भिक प्रतिवेदन पेस गर्ने तयारी छ। आयोगलाई ४५ दिनभित्र अन्तिम प्रतिवेदन पेस गर्ने म्याद दिइएको छ।
यती एयरलाइन्सको पोखरामा भएको एटिआर ७२ जहाज दुर्घटनालगत्तै उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले यस खालका जहाज परिक्षण गरी कुनै पनि प्राविधिक समस्या नभेटिएको बताएको थियो। दुर्घटनामा परी चालक दलका ४ र यात्रु ६८ गरी ७२ जनाको मृत्यु भएको थियो।