काठमाडौं। महालक्ष्मी विकास बैंकका शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रम र शैक्षिक संस्थालाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
बैंकको भाटभटेनी शाखाले खुला आकासमुनि जीवन व्यतित गर्न विवश अनाथ, अपांग, अशक्त, असहाय र मनोरोगाीहरूलाई सेवा गर्ने विशुद्ध परोपकारी संस्था मानव सेवा आश्रमलाई विभिन्न औषधिहरू, दैनिक खानाका लागि अत्यावश्यक सामग्रीहरू साथै विविध सरसफाइका सामग्रीहरू हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
सहाराविहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा कमजोर आदिका लागि खाना, कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमको दैनिक आवश्यकतामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।
त्यस्तैगरी बैंकको राजापुर शाखाले राजापुर नगरपालिका-४ मा अवस्थित अमर सहिद बहुमुखी क्याम्पसलाई खानेपानीको फिल्टर हस्तान्तरण गरेको छ । क्याम्पसमा हाल ८ सय विद्यार्थाी अध्ययनरत रहेका र बर्सेनि विद्यार्थीको सङ्ख्या बढ्दै गएका कारण खानेपानी व्यवस्थापनमा उत्पन्न समस्या समाधानका लागि बैंकले खानेपानीको फिल्टर प्रदान गरेको हो ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।