काठमाडाैं। घरपरिवारसँगै काम गरेर आम्दानी लिनुपर्छ भन्ने उद्देश्यले पढाइ सकेपछि कुशलचन्द्र अधिकारी गाउँ फर्किए। तनहुँको भानु नगरपालिका–१२ घलेछापका ३२ वर्षीय अधिकारी काठमाडाैंमा पढ्थे।
अधिकारीलाई जागिर गर्न मन थिएन। न त उनलाई व्यवसाय गर्न। कृषि व्यवसायबाट राम्रो आम्दानी हुन्छ भन्ने उनलाई लाग्याे। उनले बाझाे जमिनमा कृष व्यवसाय सुरू गर्ने निधाे गरे। नभन्दै उनले २२ वर्षदेखि बाँझो जमिन उपयोग गर्दै मिर्लुङ बहुउद्देश्यीय कृषि फार्म प्राली सञ्चालनमा ल्याए। पशुपालन सुरू गर्दा उनीसँग पाँच बाख्रा थिए।
समाजशास्त्रमा स्नातकोत्तर गरेका उनै कुशलले ४८ हजारको लगानीमा पाँच बाख्राबाट व्यवसाय सुरुवात गरे। थोरै संख्यामा बाँझो जमिनमा घाँस लगाएर व्यवसाय वृद्धि तथा विकास गर्दै अहिले उनीसँग ६५ बाख्रा छन्।
उनकाे व्यवसाय दुई सय रोपनी जमिनमा फैलिएकाे छ। आफ्नो जमिनसँगै जोडिएको डेढ सय रोपनी जग्गा भाडामा लिएर उनले फार्म सञ्चालन गरे। खोर र गोठले करिब छ रोपनी जग्गा ओगटेको छ भने बाँकीमा भैँसी, गाई, बाख्राका लागि प्रोटिनयुक्त घाँस लगाएका छन्।
बुबाकाे प्रेरणाले व्यवसाय गर्न सफल भएकाे उनी बताउँछन्। उनका बुवा करिब ३० वर्ष वैदेशिक रोजगारी सिलसिलामा बहराइन बसेका थिए। उनका बुवा राजेन्द्रले उनलाई कृषि व्यवसाय गर्न प्रेरित गरेका थिए। कुशल भन्छन्, 'विदेशमा गरिएको दुःख स्वदेशमा गर्न सके मनग्य आम्दानी गर्न सकिन्छ भन्दै बुवाले प्रोत्साहन गर्नुहुन्थ्याे। बुवाले देखाएकाे बाटाेमा लागेकाले व्यवसायबाट सन्तुष्ट छु।'
उनले बुवाले दिएकाे प्रेरणाअनुसार नै गाउँ फर्केपछि गाउँमै कृषिसम्बन्धी व्यवसाय गरे। 'बहराइनबाट फर्केपछि बुवाले तनहुँमै बस्न रुचाउनुभयो,' उनले भने, 'बुवाको रुचिअनुरुप नै मैले पनि गाउँमै व्यवसाय गरे, कृषि व्यवसायमा लागेको देखेर छिमेकीले पढेलेखेको शिक्षित युवा पनि बाख्रापालनमा लागेको भनेर कुरा काट्थे। लगानीसँगै आम्दानी राम्रो हुँदै गएपछि तिनै छिमेकीले अहिले प्रशंसा गर्छन्।
उनले पढाइ सँगसँगै काठमाडौंमा आफ्नै ‘ट्राभल्स एन्ड टुर्स’ व्यवसाय गरेका थिए। उनी नाफामा चलेको व्यवसाय छाडेर गाउँ फर्किएर कृषि फार्म सञ्चालन गरेका थिए। विसं २०६५ मा उच्च शिक्षाका लागि काठमाडौं गएका कुशल १० वर्षपछि व्यवसाय गर्ने लक्ष्यसहित गाउँ फर्किए।
उनले व्यवसाय सञ्चालन गर्ने समयमा समाजशास्त्र विषयमा स्नात्तकोत्तर तहको पढाइ सकेकाे बताए। उनले विद्यालयका शिक्षकले शिक्षण पेशासँगै केराखेती गरेको देखेर पनि कृषि व्यवसायमा प्रेरित भएको बताए। कुशल भन्छन्, 'बाँझो भएको जमिन उपयोग भएको छ।'
अहिले उनले गोठमा बाख्रासँगै भैँसी, गाई, कडकनाथ कुखुरा, कालिज, मौरीपालन गरिरहेका छन्। विगतमा बाख्रा मात्रै पालेका कुशलले अहिले भैँसी, गाई, कुखुरा, मौरी, कालिज थपेका छन्। संघर्ष धेरै भए पनि आम्दानी राम्रो हुँदै आएको उनी बताउँछन्। उनको गोठमा १२ भैँसी, एउटा ब्याडे राँगो, ६५ बाख्रा छन्।
'बाख्रा नोक्सानी भएमा भैँसीबाट पूर्ति गर्न सकिन्छ, एकथरिमा नोक्सान भएमा अर्को व्यवसायबाट पूर्ति र आम्दानी लिइरहन सकिन्छ,' उनले भने। उनले आफैंले गाईभैँसीबाट उत्पादित दूध बिक्रीका लागि बजारसम्म पुर्याउने गरेको बताए। दैनिक ७५ लिटर दूध उत्पादन गर्दै आएको र ३० लिटर बिक्री गरिन्छ भने बाँकी दूधबाट पनिर बनाएर बिक्री गर्ने गरेको उनी बताउँछन्।
दूधको बजार नपाउँदा घ्यू, नौनी बनाएर बिक्री गर्ने गरेको उनी बताउँछन्। पनिर बनाउन थालेपछि स्थानीय बजारमा खपत हुने गरेको उनले बताए। उनले फार्ममा उत्पादित पनिर प्रतिकिलो सात सय रुपैयाँमा बिक्री गर्दै आएको बताए। हालसम्म उनले भवनसहित करिब ७० लाख रुपैयाँ लगानी भएको बताए।
उनले विगतमा ४०/४५ घार मौरी पालेका थिए। माैरीले उपयोग गर्ने फलफूलमा विषादी प्रयोग गर्दा ३५ घार मौरी मरेका थिए। काठमाडौंको घरमा उनका पत्नी र छोराछोरी बस्दै आएका छन्। कुशलले बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमार्फत १० दिनको तालिम लिएर बाख्राको हेरचाह र दानापानीबारे सिके। उनले सिकाइलाई सहजरुपमा अहिले उपयोग गरेका छन्। उनले उक्त तालिममा रोग र उपचारबारे जानकारी पाए। तालिमले काममा ऊर्जा थपिएको उनी बताउँछन्।
उनले बाख्राका लागि राम्रो घाँसको बीउ र बिरूवा खोजी गरी एक सय ५० रोपनी जमिनमा सुपर नेपियर, सियोथ्री, मुलाटो, रायोखनियालगायतका घाँस लगाएका छन्। उनले कृषि पेसामा छिमेकीलाई पनि घाँस रोप्न प्रोत्साहत गर्दै आएका छन्।
कुशलका अनुसार उक्त जातका घाँसमा १७ प्रतिशतसम्म प्रोटिन हुन्छ। उनले डाले घाँसमा किम्बु, टाँकी, निवारो, खनिउँलगायत स्थानीय प्रजातिका घाँस रोपेका छन्। खसीबाख्रा बेच्न कुनै कठिनाइ नभएको उनी बताउँछन्। मागप्रशस्त भएकाले ग्राहक फार्ममै आउने गरेको उनाके भनाइ छ।
'धेरै ठाउँबाट खसीबाख्राको माग बढेपछि काम गर्न र उत्पादनमा जाँगर चल्ने रहेछ,' उनले भने। उनले सुरूमा पाल्पाबाट १० घार र तनहुँकै विभिन्न ठाउँबाट मौरी ल्याएर ३५ घार मौरी आधुनिक घार बनाएर मौरीपालन पनि अगाडि बढाएका छन्।
मौरीपालनको पहिलो वर्षमा मौरी र मह गरी तीन लाख रुपैयाँ आम्दानी लिएको उनी बताउँछन्। उनले एक वर्षमा ३५ घार मौरी बेचे। मौरी फस्टाउँदै गएको अवस्थामा एकाएक घारमा कीरा लाग्ने र मर्ने भयो। तनहुँभरि नै यस्तो समस्या देखिएको थियो। कुशलको फार्मका मौरी मासिएका थिए। उनले के कारणले मरे भनेर अध्ययन गरी फेरी नयाँ १५ घार हालेर व्यवसायलाई निरन्तरता दिए।
'मौरी चराउने समस्या छैन, गाउँघरमा तोरीखेती हुन्छ, चिउरी र मौरी चर्ने अरू फूल पाइन्छन्, जेठ–असार र कात्तिक–मंसिर गरी वर्षमा दुई पटक मह काढ्न सकिन्छ,' उनले भने।
यससँगै उनले रैथाने प्रजातिका कुखुरापालन सुरू गरे। उनी स्थानीय बजारमा कुखुराको माग राम्रो रहेको बताउँछन्। त्यसैले कुशलले रैथानेसँगै कडकनाथ खुकुरा पाल्न थाले। अन्यको तुलनात्मकरूपमा कडकनाथ अलि महँगो रहेको उनी बताउँछन्। हाल जिउँदो प्रतिकिलो एक हजार रूपैयाँ मूल्य पर्छ। 'यो जातको कुखुरा करिब छ महिनामै बेच्न योग्य हुने उनले बताए।
अहिले उनको गोठमा २९ गाईभैँसी छन् भने १२ भैँसी र दुई गाई छन्। दैनिक सय लिटर दूध उत्पादन हुन्छ। सबै दूध स्थानीय बजारमै खपत हुने गरेको छ। धेरैजसो मिठाइ उत्पादकले दूध लिने गरेको उनी बताउँछन्।
यसपछि गाउँमा उत्पादन हुने दूध पनि किनेर डेरी उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको उनी बताउँछन्। डेरी उत्पादनमा आफ्नो ब्रान्ड बनाउने सपना उनको छ। अब माछा पाल्ने तयारी गरेको उनी बताउँछन्। लगानीअनुसार आम्दानीमा सन्तुष्ट रहेको उनले बताए।
'हाल मासिक करिब सात लाख रुपैयाँ बराबरको कारोबार हुन्छ,' उनले भने। उनले परिवारका सदस्यबाहेक फार्ममा चार जना तलबमा नै कर्मचारी राखेका छन्। व्यवसायबाट आम्दानी लिनुका साथै कुशल ‘राष्ट्रिय युवा प्रतिभाको सम्मान–२०७८’ बाट सम्मानित भए। कृषि पेसाको सम्मानले काममा ऊर्जा थपिएको उनको भनाइ छ।
उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँबाट अनुदान एकपटक अनुदान लिएको र फार्मलाई विस्तारमा सहयोग पुगेको बताए। कृषि क्षेत्रमा लाग्ने युवालाई सरकारले व्यवसायमा टिकाउन अनुदानभन्दा सीप सिकाउन आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार आधुनिक प्रविधिका सामग्री चलाउन, पशुपंक्षीको सामान्य प्राविधिक ज्ञानलाई प्राथमिकता दिन सके किसान नै आत्मनिर्भर हुने हुँदा व्यवसायिक रुपमा सञ्चालित कृषि फार्मका कृषकले प्राविधिक नपुग्दै सामान्य उपचार गर्न सक्नेछन्। व्यवसायमा धेरै नोक्सानी व्यहोर्नुपर्ने अवस्था न्यूनीकरण गर्न सकिने उनकाे भनाइ छ। नेपाल व्यवसायी बाख्रापालन महासंघ, तनहुँको उनी अध्यक्ष छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले पशुपालक कृषकले पशुपालनका सामान्य खालका प्राविधिक ज्ञान आफैंले सिक्नुपर्ने बताए। उनले भने, 'सामान्य प्राविधिक ज्ञानले किसानले पालेका पशुपक्षी बिरामी हुँदा उपचारमा सहयोग पुग्छ, प्राविधिकको अभाव रहेकाले पनि तोकिएका समयमा प्राविधिक नपुग्दा पशुपक्षी मर्न सक्छन्, यस्तो अवस्थामा सहयोग पुग्नेछ।'
जिल्लामा अहिले युवा पशुपालनतर्फ आकर्षित भएको उनी बताउँछन्। सामान्य खालका प्राविधिक ज्ञानको भने आवश्यकता रहेको पाइएको श्रेष्ठ बताउँछन्। रासस