काठमाडौं। अधिक मूल्यांकन गरेर दूरसञ्चार उपकरण भित्र्याउने निर्णयकर्ता दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूमाथि चारवटै निकायले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चार निकायलाई अनुसन्धान गर्न पत्राचार गरेपछि छानबिन सुरु भएको हो। कार्यालयले माघ १९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, नेपाल राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागलाई थप अनुसन्धान गर्न पत्राचार गरेको थियो।
दूरसञ्चार उपकरण खरिद प्रक्रियामा संलग्न कर्मचारीमाथि अनुसन्धान सुरु गरेको सम्पत्ति शुद्धीकरण विभागले जनाएको छ। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सामान अधिक मूल्यांकन गरी विदेशी मुद्रा अपलचन गर्न खोजेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण निवारण विभाग, नेपाल राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागलाई थप अनुसन्धान गर्न पत्राचार गरेको थियो।
भन्सार कार्यालयको लिखित पत्रसहित सम्पूर्ण फाइल सम्पत्ति शुद्धीकरण विभाग आइपुगेको र फाइलमाथि अध्ययन भइरहेको विभागका एक अधिकारीले बताए।
‘अहिले फाइलमाथि अध्ययन भइरहेको छ। निर्णय प्रक्रियामा सहभागी कर्मचारीमाथि पनि अनुसन्धान सुरु भइसकेको छ,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘दूरसञ्चार प्राधिकरणले साइप्रस र लेबनानबाट सामान झिकाएका छन्, ती ट्याक्स हेभन कन्ट्री हुन्। कम मूल्यका सामान बढी मूल्य देखाएर नेपालको डलर बाहिर लैजान खोजेको हुनसक्छ।’
उनका अनुसार दूरसञ्चारका कर्मचारीमात्रै नभई सामान आपूर्ति गर्ने कम्पनीमाथि पनि अनुसन्धान चलिरहेको छ। भन्सार कार्यालयले अधिक मूल्यांकनको आशंका गरेपछि सामानमाथि आफैंले पनि एक चरण अनुसन्धान गरेको थियो। उनीहरूको अनुसन्धानबाट पनि सामानको अधिक मूल्यांकन गरिएको फेला परेपछि कार्यालयले चार निकायलाई अनुसन्धान गर्न भनेको हो।
अहिले अख्तियारले पनि अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार निर्णय प्रक्रियामा सहभागी सबैको फाइल झिकाइएको छ। अनुसन्धान अधिकृतले अनुसन्धान गरिरहेका छन्। त्यसैगरी केन्द्रीय बैंकबाट खरिद भएको सामानको भुक्तानी हुन्छ। स्रोतका अनुसार बढी बिजकीकरण गरेर दूरसञ्चार उपकरण ल्याइएको कार्यालयको अध्ययनबाट देखिएको थियो।
‘बढी बिजकीकरण गरेर ल्याउँदा विदेशी मुद्रा अपचलन भएको मानिने छ,’ विभागका एक अधिकारीले भने, ‘कम मूल्यलाई धेरै मूल्य परेको भनेर लिएर आउने, ल्याइसकेपछि यताबाट बढी डलर बाहिरिने भएकाले सम्पत्ति शुद्धीकरणले हेर्न थालेको हो।’
प्राधिकरणले विदेशबाट आउने फोन नियमन र निगरानी गर्न भन्दै साइप्रसबाट २ करोड ३७ लाख ७० हजार अमेरिकी डलरबराबरका उपकरण खरिद गर्न प्रक्रिया अघि बढाएको थियो। पहिलो चरणमा ८८ लाख १२ हजार ८ सय ८६ डलर (हालको विनिमय दरअनुसार १ अर्ब १५ करोड ७८ लाख ३६ हजार ९ सय ६२ रुपैयाँ) बराबरका उपकरण खरिद गरिएको हो।
जसमा १ सय ९ वटा सर्भर, दुईथान ल्यापटप र आठथान मोबाइल छन्। तीमध्ये ल्यापटपको मूल्य प्रतिथान ५० हजार डलर देखाइएको छ भने सर्भर भनिएका उपकरणको मूल्य प्रतिथान ७९ हजार ९ सय २० अमेरिकी डलर र मोबाइलको मूल्य प्रतिथान २ सय डलर उल्लेख छ। शून्य भन्सार सम्झौता गरी ल्याइएका सामानको बिलबिजक अस्वाभाविक देखाइएकाले भन्सार कार्यालयले अनुसन्धान गर्न भनेको हो।
सामान आएलगत्तै प्राधिकरणका उच्च अधिकारी, बिचौलिया, प्रशासक र राजनीतिक शक्तिकेन्द्रले पनि सामानको जाँचपास गराएर छाड्न दबाब दिएका थिए। चार महिनाभन्दा बढी समय सामान रोकेर राखेको भन्सार कार्यालयले दबाबबीच १८ प्रतिशत शुल्क असुलेर सामान छाडेको छ।
‘प्राधिकरणका लागि ल्याइएका उपकरणको मूल्य अस्वाभाविक र पत्याउनै नसकिने गरी कायम गरेको भेटिएपछि हामीले कानुनले दिएको अधिकार प्रयोग गरेर अधिकतम भन्सार शुल्क लिई जाँचपास गरेका हौं,’ त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले भने, ‘तर, यसमाथि थप अनुसन्धान आवश्यक छ।’