काठमाडौं। लगानी बोर्ड नेपाल (आइबिएन)ले चक्रपथमा इलेक्ट्रिक बस सञ्चालन (र्यपिट ट्रान्जिट)को सम्भाव्यता अध्ययनका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको छ। यसअघि कात्तिक २० गते आह्वान गरेको बोलपत्रमा कानुनी त्रुटि देखिएपछि दोस्रोपटक बोलपत्र आह्वान गर्नु परेको बोर्ड कार्यालयले जनाएको छ।
अघिल्लो पटकको बोलपत्र सार्वजनिक खरिद नियमावलीको नियमसँग नमिल्ने भएपछि ठेक्का प्रक्रिया नै रद्द भएको हो। सो समयमा विभिन्न देशका १३ वटा कम्पनीले प्रास्ताव पेस गरेका थिए।
पहिला प्राविधि अर्थात् सिस्टमको भर गरेर ठेक्का आह्वान भए पनि १३ वटा कम्पनीको प्राविधिक मूल्यांकन चलिरहेको समयमा क्रस चेक गर्दा खरिद नियमावलीसँग नमिल्ने देखिको थियो।
बोर्डले निकालेको बोलपत्र नै गलत भएपछि १३ वटै कम्पनीको प्रस्ताव पनि रद्द भएको छ। आइतबार निकालिएको दोस्रो बोलपत्रको म्याद मार्च १२ अर्थात् २८ गते दिउसो १२ बजेसम्म रहेको छ। चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न २० अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान बोर्डको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारपछि मात्र यकिन लागत आउने छ।
अध्ययन जिम्मेवारी पाउने कम्पनीले सम्झौताको १८ महिनाभित्र चक्रपथमा विद्युतीय बस सञ्चालनसम्बन्धी अध्ययन गरेर लगानी बोर्डलाई प्रतिवेदन बुझाउनुपर्ने बोर्डले जनाएको छ।
२७.३० किलोमिटर लामो चक्रपथको एउटा लेन विद्युतीय बसका लागि मात्र छुट्याउने योजना छ। त्यस्तै निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रले गर्ने छ। पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ७५ टर्मिनल र २७ स्टेसन रहनेछन्।
चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न ६ मिटर चौडाइको बसस्टेसन, स्मार्ट कार्ड र सिक्कामा आधारित भाडा प्रणाली, बत्ती, सिग्नल, जिपिएस प्रणाली, टर्मिनल र चार्जिङ स्टेसनलगायत निर्माण हुनेछन्। त्यस्तै फ्लाइओभर सडक, पुलहरू तयार हुनेछन्।
सन् २०२९ सम्म चक्रपथमा दैनिक यात्रु आवागमन संख्या कम्तीमा १७ लाखदेखि बढीमा ३० लाख ८ हजारसम्म रहने बोर्डले अनुमान गरेको छ। २०४९ सम्म पुग्दा कम्तीमा २३ लाख ७ हजारदेखि बढीमा दैनिक ४२ लाख ९ हजारले चक्रपथको बाटो प्रयोग गरेर यात्रा गर्नेछन्।
सोही चाप आधार मानेर पूर्वाधार निर्माण गर्ने योजना बोर्डले लिएको हो। राजधानीमा बढ्दो जनघनत्व र प्रदूषण लक्ष्य गरी विद्युतीय बस सञ्चालन योजना अघि सारेको बोर्डले जनाएको छ।