काठमाडौं। सामान्य परिवर्तन गरिएको ग्वार्को फ्लाइ ओभरको ‘डिजाइन’ स्वीकृत हुने भएको छ। निर्माण व्यवसायीले बनाएको डिजाइनमा सामान्य परिवर्तन गरेर स्वीकृतिका लागि तयार गरिएको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताए।
यसअघि निर्माण व्यवसायीले तयार गरेको डिजाइनमा सामान्य परिवर्तन गर्दा स्वीकृतिमा केही ढिलाइ भएको हो। गत मंसिरबाट निर्माण सुरु गर्न ट्राफिक व्यवस्थापन भएको थियो। तर, पुस अन्तिममा पुल महाशाखाले फ्लाइ ओभर डिजाइनमा सामान्य परिवर्तन गर्नुपर्ने सुझाव दिएको थियो।
सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले पुल महाशाखाको सहयोगमा फ्लाइ ओभरको ‘स्ट्रक्चरल डिजाइन’ परिवर्तन गरेको छ। उक्त डिजाइन विभागका महानिर्देशक अर्जुनजंग थापाले स्वीकृत गरेपछि निर्माण कार्य सुरु हुने विभागका प्रवक्ता अधिकारीले बताए।
‘डिजाइन तयार भएको छ। महानिर्देशकले स्वीकृत गरेपछि फिल्डमा काम सुरु हुन्छ,’ प्रवक्ता अधिकारीले भने, ‘स्वीकृतिका लागि एक हप्ता लाग्छ होला। त्यसलगत्तै फिल्डमा काम सुरु हुन्छ। आगामी फागुनबाट मात्रै फ्लाइ ओभर निर्माण सुरु हुनेछ।’
पुस अन्तिमबाट निर्माण व्यवसायीको डिजाइनमा सुधार गरेको पुल महाशाखा र विकास केन्द्रले करिब एक महिनापछि फ्लाइ ओभरको अन्तिम डिजाइन तयार गरेको हो।
केन्द्रका अनुसार डिजाइन परिवर्तन भने धेरै भएको छैन। फ्लाइ ओभरको जग अर्थात जमिनमुनिको भागमा केही पविर्तन भएको हो। उक्त परिवर्तनले आयोजनाको लागत, निर्माणको म्याद, बाहिरी संरचनामा भने कुनै परिवर्तन हुँदैन।
निर्माण कम्पनीले बनाएको डिजाइनमा सामान्य सुधार भएको केन्द्रले जनाएको छ। यसअघि केन्द्रले माघमा दोस्रो स्ट्रक्चरल डिजाइन परिवर्तनको काम सम्पन्न हुने जनाएको थियो। तर, माघ अन्तिममा मात्रै परिवर्तनको काम सम्पन्न भएको छ।
निर्माण सुरु गर्न मंसिरमा ट्राफिक व्यवस्थापन सुरु भएको थियो। तर, पुलसम्बन्धी विज्ञलाई डिजाइन देखाउँदा परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कार्य सुरु हुन सकेको छैन।
नेपालकै पहिलो फ्लाइ ओभर ‘इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा निर्माण हुँदैछ। विकास केन्द्रले १७ करोड ६ लाख रुपैयाँमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ।
विकास केन्द्रले २०७८ साउनमा ठेक्का आह्वान गरेर २०७८ माघमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता भएको भन्दा लागत बढे पनि निर्माण व्यवसायी स्वयंले खर्च बेहोर्नेछन्। डिजाइन परिवर्तनको बहानामा विकास केन्द्रले सम्झौताभन्दा बढी रकम नदिने जनाएको छ।
निर्माण कम्पनीहरूले २०७८ फागुनबाट फ्लाइ ओभरको डिजाइन सुरु गरेका थिए। ठेक्का सम्झौता भएको मितिबाट दुई वर्षभित्र फ्लाइ ओभर निर्माण कार्य सम्पन्न गर्नुपर्ने विकास केन्द्रले जनाएको छ। जसमध्ये डिजाइन र आवश्यक तयारी गर्दा ११ महिना सकिएको छ।
अब बाँकी समयमा निर्माण सम्पन्न गर्नुपर्ने चुनौती निर्माण व्यवसायीलाई छ। फ्लाइ ओभरको लम्बाइ बढेर ५ सय ५ मिटर हुने बताइएको छ। त्यस्तै उचाइ ६ मिटर हुने विकास केन्द्रले जनाएको छ।
चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तार गरेर आठ लेन बनाइएको छ। जसमध्ये बीचको चार लेनमा फ्लाइ ओभरबाट चक्रपथमा गुड्ने सवारी चल्नेछन् भने फ्लाइ ओभर मुनिबाट मंगलबजार–इमाडोल–मंगलबजार चल्ने सवारीले आवतजावत गर्नुपर्ने हुन्छ।