काठमाडौं। व्यावसायिक कुशलतामा कमजोर देखिएको स्मार्ट टेलिकमलाई तीन बैंकले बिनाधितो २७ करोड रुपैयाँ कर्जा दिएको पाइएको छ।
प्राइम कमर्सियल बैंक, लक्ष्मी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले स्मार्टसँग धितो नै नलिई उक्त परिमाणबराबरको कर्जा दिएको पाइएको नेपाल राष्ट्र बैंकले फेला पारेको हो।
क्यापिटल नेपाललाई प्राप्त कागजातअनुसार २०७६ कात्तिक ५ मा लक्ष्मी बैंकले ४ करोड र २०७६ कात्तिक ७ मा ४ करोड, नेपाल इन्भेस्टमेन्ट बैंकबाट २०७६ कात्तिक ७ मा २ करोड, २०७६ कात्तिक १७ मा २ करोड र २०७६ कात्तिक १९ मा १० करोड, प्राइम बैंकबाट २०७६ मंसिर २ मा ४ करोड, २०७६ मंसिर ५ मा १ करोड, २०७६ मंसिर ६ मा १ करोड तथा २०७६ असोज २७ मा इन्भेस्टमेन्ट बैंकबाट ८ करोड रुपैयाँ बिनाधितो ऋण दिइएको हो।
सरकारी बक्यौता तिर्न नसकेर थलिएको स्मार्टले बैंक तथा वित्तीय संस्थाबाट धितो र बिनाधितो ठूलो रकम कर्जा लिएको छ। बैंकहरूले स्मार्टका लगानीकर्ता सतिशलाल आचार्यको व्यक्तिगत जमानीमा बिनाधितो ठूलो रकम कर्जाका रूपमा दिएका हुन्।
मुलुकका शक्तिकेन्द्रसँग नजिकिएर नाजायज फाइदा उठाउँदै आएका आचार्यले सर्वसाधारणको रकममाथि रजाइँ गरेका हुन्। बैंकहरूले व्यवसाय गर्न चाहनेलाई धितो राख्दा पनि ऋण दिँदैनन्, तर स्मार्टलाई धितोसहित र बिनाधितो ऋण दिनुका पछाडि बैंकका व्यवस्थापकीय टिम र आचार्यको मिलेमतो रहेको केन्द्रीय बैंकको बुझाइ छ।
केन्द्रीय बैंक उच्च स्रोतका अनुसार २०७८ असारमा एमजी हर्बल एन्ड इन्भेस्टमेन्ट प्रालिले स्मार्ट टेलिकमलाई २७ करोड रुपैयाँ दिएको थियो। एमजी हर्बलले स्मार्ट टेलिकमलाई त्यति ठूलो रकम किन दियो भन्ने खुलाइएको छैन। बैंकले स्मार्टमा गरेको लगानीबारे राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले बारम्बार प्रश्न गर्दै आएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरू भने स्मार्ट टेलिकमले पुनः लाइसेन्स थप्ने र व्यवसाय निरन्तर गर्ने भन्दै बचाउ गरिरहेका छन्। तर, नेपाल दूरसञ्चार प्राधिकरण स्रोतका अनुसार चैतपछि कुनै हालतमा स्मार्टको लाइसेन्स नथपिने र उक्त लाइसेन्स बोलकबोलमा बेच्ने तयारी भइरहेको छ। बैंकका सिइओहरूसँग ‘राम्रो सम्बन्ध’ बनाएका स्मार्टका लगानीकर्ता आचार्य बैंकबाट बिनाधितो ठूलो रकम लिएर बैंक नै डुबाउनेतिर अघि बढेका छन्।
शक्तिका आडमा ‘बिचौलिया’ को परिचय बनाएका आचार्यले नेपाली बैंकबाट २ अर्बमाथि ऋण लिएका थिए। लामो समयदेखि बैंकलाई स्मार्टले तिर्नुपर्ने साँवा–ब्याज तिर्न सकेको छैन।