काठमाडौं। सांसदहरूले किसानदेखि आम सर्वसाधारणसम्मका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसदहरूले मलखाद तथा बीउबिजन अभाव, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सरकारले किसानको समस्या नसुनेको प्रतिध्यानाकर्षण गराए । नेकपा एमालेका सांसद वासुदेव घिमिरेले कृषिको आधुनिकीकरणका लागि कृषिसँग सम्बन्धित रहेको मलखादको व्यवस्थापन गर्नुपर्ने बताए । मलखाद र बीउबिजनका लागि स्वदेशमै कलकारखाना निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
एमालेकै सांसद तारा लामा तामाङले सिमानामा हुने अनियमितता र हिंसा रोक्न सरकारको ध्यानाकर्षण गराए । उनले कञ्चनपुरको बेलौरीमा बन्द अवस्थामा रहेको छोटी भन्सारलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउनसमेत माग गरे ।
नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले भोजपुरको सडानन्द नगरपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई अन्याय गरेको बताइन् । उनले जथाभावी सुरुङ खन्दा बस्ती नै जोखिममा परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले नेपालगञ्जबाट भारतको विभिन्न क्षेत्रमा हुने हवाई उडानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
कांग्रेसका सांसद पुष्पबहादुर शाहले अछाममा बाढीपहिरोमा परी ज्यान गुमाउने र घरबारविहीनलाई तत्काल राहत र व्यवस्थापन गर्नुपर्ने बताए । उनले यस क्षेत्रका बासिन्दाका लागि तत्काल ठोस नीति लिएर स्थानीयको उद्धार गर्नुपर्ने बताए ।
नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सल्यान, दाङ र रुकुमको राप्ती लोकमार्गको तत्काल मर्मत र स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए ।
कांग्रेसका सांसद प्रकाशमान सिंहले काठमाडौंमा दुई दशकपछि भित्रिएको मेलम्ची खानेपानीलाई बाह्रै महिना उपलब्ध हुनुपर्ने बताए । उनले मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले साउनदेखि पारिश्रमिक नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
कांग्रेसकै सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण गर्न बनेको विधेयकलाई तत्काल संशोधन पेस गर्न सरकारको ध्यानाकर्षण गराए । कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले पूर्वाधार निर्माण तीव्रता दिनुपर्ने बताए ।
एमालेका सांसद बलराम अधिकारीले सिँचाइ र मलको अभावबारे सरकारको ध्यानाकर्षण गराए । उनले भारतको खुला सिमानाबाट भित्रिने छाडा चौपायाले दुर्घटना बढाएको भन्दै सिमाना व्यवस्थापनमा समेत जोड दिए ।
कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडूले नेपाल–भारत र चीनको दार्चुला सडक आयोजना अपेक्षित रूपमा अघि नबढेको बताए ।