काठमाडौं। दिवाकर गोल्छा कर्पका सञ्चालक भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेडको नाममा लिएको ऋण तिर्न बैंकको सम्पर्कमा आएका छन्।
कर्पका सञ्चालक हितेश गोल्छा कागज कारखानाले लिएको सबै ऋण चुक्ता गर्ने प्रस्ताव लिएर नेपाल बैंक पुगेका हुन्।
ऋण असुलीका लागि गोल्छासँग छलफल भइरहेको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए ।
‘ऋण असुलीका लागि गोल्छासँग छलफल चलिरहेको छ। केही दिनभित्र टुंगो लाग्ने छ’ सिइओ अधिकारीले क्यापिटल नेपालसँग भने, ‘ऋण तिर्ने विषयमा गोल्छासँग समझदारी (एमओयु) गरेर अघि बढ्ने कुरा भएको छ।´
भृकुटी कागजको साँवामात्रै ८५ करोड रुपैयाँबराबर छ। ऋणमा लागेको ब्याज तथा हर्जना गर्दा झन्डै दोब्बर हुने बैंकले जनाएको छ। कारखानाको क्षमता बढाउन त्यसबेला गोल्छाले नेपाल बैंकबाट उक्त ऋण लिएका थिए।
नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकले सहवित्तीयकरणमा भृकुटी कागजमा ऋण लगानी गरेका थिए। कागज कारखानाको नाममा रहेको जग्गा बेचेर ऋण तिर्ने प्रस्ताव सञ्चालक गोल्छाले राखेको नेपाल बैंक सिइओ अधिकारीले जानकारी दिए।
उनका अनुसार ९.५ प्रतिशत ब्याज तिर्न गोल्छाले सहमति जनाएका छन्। कारखाना किन्दा ८ टन कागज उत्पादन गर्ने क्षमता थियो। क्षमता बढाएर दैनिक १३ टन पुर्याउन गोल्छाले नेपाल बैंकबाट ऋण लिएका थिए। कारखाना सञ्चालन हुन नसकी बन्द भएपछि गोल्छाले बैंक ऋण नतिरी बसेका थिए।
नवलपुर गैंडाकोटमा रहेको कागज कारखाना २०६७ फागुन १९ देखि पूर्णरूपमा बन्द छ। बन्द भएको १२ वर्षभन्दा बढी भइसकेको छ। कारखाना सञ्चालन गर्ने सोचाइ गोल्छाकाे छैन। कारखानाको क्षमता बढाउन ऋण लिएकाले जग्गा बेचेर बैंक ऋण तिर्ने उनको तयारी छ।
चीनले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन २०३९ सालमा भृकुटी कागज कारखाना निर्माण गरी हस्तान्तरण गरेको थियो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बिस्तारै राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति लिएपछि भृकुटी कागज कारखाना २०४९ सालमा निजीकरण गरिएको थियो।
त्यसबेला गोल्छा अर्गनाइजेसनसहितको ‘ज्वाइन्ट भेन्चर’ (जेभी) कम्पनीलाई १ हजार ८० कठ्ठा जमिन र औद्योगिक उपकरणसहित १३ करोड रुपैयाँमा कारखाना बेचिएको थियो। निजिकरण भएपछि कारखाना राम्रोसँग सञ्चालन हुन सकेन।
गोल्छाले कारखानाको नाममा रहेको ८ बिघा जमिन अलग्गै बेचिसकेका छन्। भृकुटी कागज कारखानाका मुख्य सञ्चालक दिवाकर गोल्छा थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस कोटाबाट समानुपातिक सभासदसमेत भएका थिए। अंशबण्डा हुँदा भृकुटी कागज कारखाना दिवाकर गोल्छाको नाममा आएको हो।
दिवाकरको निधन भइसकेको छ। अहिले कारखानाको स्वामित्व दिवाकरका सन्तान हितेशको नाममा छ। २०६७ मा बन्द भएपछि यसका करोडौंका सामान नष्ट भइसकेका छन्। नयाँ मेशिन खरिद गरेर कारखाना पुनः सञ्चालन गर्न करोडौंं रुपैयाँ लगानी आवश्य पर्ने देखिएको छ। हितेशले कारखाना सञ्चालन गर्नुभन्दा पनि जग्गा बेचेर ऋण तिर्ने योजना बनाएका छन्।
कारखानाले विगतमा स्वदेशी कच्चापदार्थ पराल, बाँस, बाबियो, गहुँको छ्वाली, काँस, झुत्रा कागजबाट दैनिक १५ हजार टनसम्म कागज उत्पादन गर्दै आएको थियो।