एजेन्सी। गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ। आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने अमेरिकाको श्रम विभागले एक रिपोर्टमा भनेको छ, 'जनवरीमा पाँच लाख १७ हजार रोजगारी थपिएपछि रोजगारीको दर ३.४ प्रतिशतमा झरेको छ।'
'अवकाश र आतिथ्य, आर्थिक तथा व्यावसायिक सेवा र स्वास्थ्य सेवामा भएको वृद्धिका कारण रोजगारीको वृद्धि व्यापक भएको छ,' प्रतिवेदनमा भनिएको छ।
यो आँकडा नीति निर्माताहरूका लागि चिन्ताजनक सावित हुनसक्छ। किनकी यसले रोजगारीको लाभमा थप गिरावटको अपेक्षालाई अस्वीकार गर्दछ र गत डिसेम्बरको दुई लाख ६० हजार रोजगारीको संख्याबाट तीव्र वृद्धिको संकेत गर्छ।
केन्द्रीय बैंकरहरूले बढ्दो मुद्रास्फीतिलाई कम गर्न आक्रामक अभियान सुरू गर्दा, चिन्ताको एक प्रमुख क्षेत्र श्रम बजार भएको छ। अमेरिकी श्रम बजारमा उपलब्ध कामदारहरूको आपूर्तिभन्दा बढी माग छ र रोजगारदाताहरू महामारीको समयका आफ्ना कर्मचारीहरू कायम राख्न उत्सुक छन्।
सामान्यतया ब्याज दर बढ्दै जाँदा बेरोजगारी बढ्ने देखिए पनि बेरोजगार दर ऐतिहासिक रूपमा न्यूनस्तरमा रहेको छ। फेडरल रिजर्भले पनि उच्च तलबले सेवा मुद्रास्फीतिमा योगदान गर्नसक्छ भन्ने चिन्तामा ज्याला वृद्धिको निगरानी गरिरहेको छ।
जनवरीमा औसत अमेरिकीको प्रतिघण्टा आम्दानी ०.३ प्रतिशतले बढेर ३३.०३ डलर पुगेको श्रम विभागले जनाएको छ।