काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( एमडीएमएस) को काम आगामी चार महिनाभित्र पुरा गर्ने भएको छ । आउँदो ४ महिनामा परीक्षण गरी लागु गरिने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।
उक्त प्रणालीको निर्माणको ठेक्का पाएको मलेशियाली कम्पनी न्यूमेरा जेभीले अहिले सफ्टवेयर डेभलपमेन्टको काम गरिरहेको छ । डेभलपमेन्टको काम सकेपछि प्रणालीलाई अपरेटरको नेटवर्कसँग जोड्ने र प्राधिकरणमा सेन्ट्रल सर्भर राखिने भएको उनले जानकारी दिए । न्यूमेराले हार्डवेयर कस्टमाइज गरी विदेशबाट आयात गर्ने प्राधिकरणले बताएको छ ।
एमडीएमएस प्रणाली सञ्चालनमा आएपछि यसअघि म्यानूअलरुपमा हुँदै आएको हराएको, चोरी भएको फोन र आइएमई नम्बर ट्रयाक गर्ने, भन्सारबाट फोनको चोरी सिकारी जस्ता गतिविधिको निगरानी हुँदै आएको थियो । अब यो प्रणाली अटोमेसनमा जाने अर्यालले बताए ।
यो प्रणालीले नेपालमा मोबाइल उपकरणलाई ट्रयाक गरी यहाँको समस्या समाधान त गर्नसक्छ तर खुल्ला सीमाका कारण भारत र नेपालमा चोरी निकासीका मोबाइलहरु वारीपारी भईरहने हुँदा भारतमा पुगेका यहाँका मोबाइल तथा भारतबाट यहाँ आएका मोबाइललाई सिस्टमबाट ट्रयाक गर्न समन्वयका लागि द्धिपक्षिय स्तरमा कुराकानी गर्ने योजनामा पनि प्राधिकरण रहेको प्रवक्ता अर्यालले बताएका छन् ।
यसबाहेक विश्वभरीका मोबाइल नेटवर्क अपरेटर्सहरुको छाता संगठन ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन असोसिएसन ( जीएसएमए) सँग पनि सहकार्यका लागि योजनामा रहेको प्राधिकरणले बताएको छ ।
‘जीएसएमएसँग विश्वभरी जति पनि उत्पादन भएका जेन्युन फोन डिभाइसहरु छन् त्यसको आईएमईआई नम्बरहरुको डेटाबेस हुन्छ, ’ अर्याल भन्छन्, ‘त्यो डेटाबेसलाई प्रयोग गरेर हाम्रो सिस्टमले ट्रयाक गरी विश्वको जुनसुकै कुनामा भएको हाम्रो चोरी निकासीको मोबाइल डिभाइसलाई जीएसएमएले फिर्ता गर्न सर्कुलर गरेपछि ती देशबाट हाम्रो मोबाइल डिभाइस फिर्ता आउँछ ।
यसो गर्यो भने हामीले यो कामका लागि द्धिपक्षिय वा त्रिपक्षीय सहकार्य गर्न पर्दैन यो संस्थाबाटै सर्कुलर भएर हाम्रो काम बन्न सक्ने उनले जानकारी दिए । यस्तै अहिले यो प्रणाली लागू भएको छैन । तर, देशभित्र लागू भएर काम हुन थालेपछि जीएसएमएसँग सहकार्य गर्ने योजना प्राधिकरणको छ ।