काठमाडौं। संघीय राजधानी काठमाडौंबाट तराई जोड्ने बिपी राजमार्ग दुई लेनमा विस्तार हुने भएको छ। सवारी चाप बढ्दै गएपछि राजमार्ग विस्तार गर्न लागिएको हो। बिपी राजमार्ग अनुदान सहयोगमा विस्तार गर्न सडक विभागले जापानी सहयोग नियोग (जाइका) लाई डेढ वर्ष पहिला अनुरोध गरेको थियो।
विभागको अनुरोधपछि जाइकाले प्राविधिक पठाएर अध्ययन गरेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए। उक्त राजमार्गलाई अहिलेको अवस्थामा एक लेन वा दुई लेन दुवै भन्न नमिल्ने थापाको भनाइ छ।
‘त्यो सडक साढे एक लेनजति छ। एक वा दुई लेन ठ्याक्कै भन्न सक्ने अवस्था छैन,’ महानिर्देशक थापाले क्यापिटल नेपालसँग भने।
बनेपा–सिन्धुली–बर्दिबास जोड्ने छोटो बाटोका रूपमा रहेको बिपी राजमार्गको लम्बाइ १ सय ६० किलोमिटर छ।
जाइकाले २०५२ सालमा निर्माण सुरु गरेर २०७२ असारमा बिपी राजमार्ग नेपाललाई हस्तान्तरण गरेको थियो। जसको लागत २६ अर्ब जापानी येनबराबर थियो।
हाल उक्त राजमार्गमा सवारीसाधन चाप अत्यधिक छ। सोही कारण सडक विभागले लेन बढाउन जाइकालाई अनुरोध गरेको महानिर्देशक थापा बताउँछन्।
‘अहिले भएको बिपी राजमार्गले मात्रै यात्रा सहज नहुने भएपछि दुई लेन बनाउनुपर्छ भनेर अनुरोध गरेका थियौं,’ उनले भने, ‘जापानी टोलीले अध्ययन गरेर गएको छ।’
उनका अनुसार जापानी प्राविधिक टोलीले बिपी राजमार्गमा सवारी चाप, सडक विस्तारको आवश्यकता तथा लागत रकमसमेत अध्ययन गरेको छ। तर, अध्ययनका लागि आएको टोलीले हालसम्म नेपाललाई कुनै प्रतिक्रिया भने दिइसकेको छैन।
‘हामीले अनुरोध गरेका हौं। अध्ययन प्रतिवेदन आइसकेको छैन। जापान सरकारलाई जाइकाका प्राविधिकले प्रतिवेदन दिएका होलान्। उनीहरूले छलफल गरेपछि हामीलाई भन्छन्,’ थापाले भने।अनुदान सहयोगमा सडक विस्तार हुने अपेक्षामा सडक विभाग जापानको प्रतिवेदन पर्खेर बसेको छ।
खुर्कोट–चियाबारी सुरुङमार्ग तत्काल नबन्ने
बिपी राजमार्गमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा नेपाल र जापान छन्। सन् २०२२ फेब्रुअरीमा खुकोर्ट–चियाबारी सुरुङमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन जाइकाले तयार गरेको थियो।
उक्त प्रतिवेदनअनुसार सुरुङमार्ग निर्माण लागत करिब ३७ अर्ब रुपैयाँ हुनेछ। अध्ययन प्रतिवेदन बुझाउँदै जाइकाले सन् २०४१ सम्म सुरुङ निर्माण सम्पन्न गर्न सकिने जनाएको थियो। तर, सडक विभागले भने २०३१ सम्म निर्माण सम्पन्न गर्न आग्रह गरेको छ।
बिपी राजमार्गमा सवारी चाप बढेपछि सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको विभागले जनाएको छ। ‘तत्कालै सुरुङ निर्माण हुने सम्भावना छैन, पहिला सडक विस्तार हुन्छ,’ महानिर्देशक थापाले भने, ‘जाइकाले कुनै पनि आयोजना निर्माण गर्दा अध्ययनमा धेरै समय लगाउने गरेको छ। जसका कारण सुरुङ निर्माण समय पछिसम्मको योजना हो।’
सुरुङमार्ग जमिनमुनि हुने काम भएकाले पनि अध्ययनमा बढी समय लगाएरमात्रै निर्माण सुरु हुने इन्जिनियर बताउँछन्। पूर्वसम्भाव्यता अध्ययनले सुरुङमार्गको लम्बाइ ७.७ किलोमिटर हुने देखाएको छ। त्यस्तै १.६ किलोमिटर पहुँचमार्ग पनि निर्माण हुनेछ।
खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण भएपछि २२ किलोमिटरभन्दा बढी सडक दुरी छोट्टिने सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले जनाएको छ। उक्त सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन सिआइटी इन्टरनेसनल कम्पनी र ओरिएन्ट कन्सल्टेन्टको संयुक्त लागानीको साझेदारले गरेको थियो।
जाइकाको सहयोगमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणाधीन छ। जलविद्युत तथा खानेपानी आयोजनामा धेरै सुरुङमार्ग बने पनि सडक सञ्जालमा आधुनिक तरिकाले निर्माण हुन लागेको नेपालको पहिलो नागढुंगा सुरुङमार्ग हो।
नागढुंगा सुरुङमार्गको लम्बाइ ५ हजार ४ सय ९९ मिटर छ। जसमध्ये २ हजार ६ सय ८८ मिटर मुख्य सुरुङ र बाँकी आपतकालीन सुरुङ छ। २०७६ कात्तिकमा निर्माण सुरु भएको नागढुंगा सुरुङमार्ग आयोजनाको हालसम्म समग्र भौतिक प्रगति ४८ प्रतिशत छ।
सुरुङ खन्ने काम भने ७४ प्रतिशत सकिएको सडक विभागले जनाएको छ। आयोजनाको म्याद २०८० साउनसम्म छ। साढे २२ अर्ब लागतमा निर्माण गर्न लागिएको सुरुङमार्गमा साढे १६ अर्ब रुपैयाँ जापानको ऋण सहयोग र ६ अर्ब रुपैयाँ नेपालको लगानी छ।
त्यसबाहेक पाल्पामा सिद्धबाबा सुरुङमार्ग सरकारले आफ्नै लगानीमा निर्माण गर्ने तयारी गरेर ठेक्का सम्झौता भइसकेको छ। तर, डिजाइन अध्ययन चरणमा रहेकाले निर्माण कार्य सुरु भएको छैन।