काठमाडौं। सामसङले फ्ल्यागसिप स्मार्टफोन सिरिज ‘एस २३’ सार्वजनिक गरेको छ। कम्पनीले बुधबार एस २३, एस २३ प्लस र एस २३ अल्ट्रा गरी तीन मोडेलका स्मार्टफोन एकैपटक सार्वजनिक गरेको हो।
सार्वजनिक भएको ‘सामसङ एस २३’ मा आठ जिबी र्याम छ, जुन फोन १२८ जिबी, २५६ जिबी र ५१५ जिबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ। कम्पनीकाअनुसार सामसङ एस २३ को आधारभूत मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो लेन्स, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छ।
३९०० एमएएच ब्याट्री क्षमता भएको यो फोन चार्ज गर्न २५ वाटको तारयुक्त चार्जर उपलब्ध गराउने कम्पनीले जनाएको छ। ६.१ इन्चको डिस्प्ले रहेको यस फोनमा कम्पनीले १० वाटको वायरलेस चार्जर र ४.५ वाट रिभर्स वायरलेस चार्जरसमेत उपलब्ध गराउने बताइएको छ। ७९९ डलर (करिब एक लाख ४ हजार ४९३ रुपैयाँ) सुरुवाती मूल्य तोकिएको यो फोन फेब्रुअरी १७ बाट प्रि–अर्डर गर्न सकिने बताइएको छ। तर बजारमा कहिले उपलब्ध हुन्छ भन्ने कुरा खुलाइएको छैन।
त्यस्तै ‘सामसङ एस २३ प्लस’ मोडेल आठ जिबी र्याममाको साथमा २५६ जिबी र ५१५ जिबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ। सामसङ एस २३ प्लस मोडेलमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ।
‘सामसङ एस २३ प्लस’मा ४७०० एमएएच क्षमताको ब्याट्री उपलब्ध हुने र फोन चार्ज गर्न ४५ वाट वायर्ड चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ। जसले फोनलाई आधा घण्टामै ६५ प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दाबी छ। ९९९.९९ डलर (करिब एक लाख ३० हजार ७७८ रुपैयाँ) सुरुवाती मूल्य तोकिएको यस फोनमा ६.६ इन्च आकारको डिस्प्ले राखिएको छ। यस फोनलाई पनि फेब्रुअरी १७ बाट प्रि–अर्डर गर्न सकिने छ।
सार्वजनिक भएको अर्को ‘सामसङ एस २३ अल्ट्रा’ मोडेलमा भने २०० मेगापिक्सेलको मुख्य क्यामेरा, १० मेगापिक्सेलको टेलिफोटो, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेराको साथमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ। ५००० एमएएच ब्याट्री क्षमता भएको यो फोन चार्ज गर्न ४५ वाटको तारयुक्त चार्जर उपलब्ध गराउने कम्पनीले बताएको छ।
८ जिबी र्याम र १२ जिबी र्याम गरी दुई विकल्पमा उपलब्ध हुने यो फोन २५६ जिबी, ५१५ जिबी, र एक टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा पाउन सकिने छ। ६.८ इन्चको डिस्प्ले रहेको ‘सामसङ एस २३ अल्ट्रा’को सुरुवाती मूल्य ११९९.९९ डलर (करिब एक लाख ५६ हजार ९३४ रुपैयाँ) राखिएको छ। यस फोनलाई पनि फेब्रुअरी १५ बाट प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ।
सार्वजनिक भएका सबै मोडेलमा १२० हर्ज रिफ्रेश रेट भएको कोर्निङ गोरिल्ला ग्लास भिक्टस टु प्रोटेक्सन सहित डाइनामिक एमोलेड डिस्प्ले दिइएको बताइएको छ। कम्पनीका अनुसार सबै फोनमा डेस्कटप अनुभवका लागि सामसङ वायरलेस डेस्क र सामसङ डेस्क राखिएको छ। अन्डर डिस्प्ले अल्ट्रासोनिक फिंगरप्रिन्ट रहेको यो सिरिजमा एक्सिलेरोमिटर, जाइरो, प्रोक्सिमिटी, कम्पास तथा ब्यारोमिटर जस्ता आधारभूत सेन्सरहरू रहेका छन्।