काठमाडाैं । आयोजना कार्यालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकेर बजेट माग गरे पनि पर्याप्त नआउँदा निर्धारित समयमै निर्माण सम्पन्न हुने सम्भावना कम हुँदै गएको सिनियर डिभिजनल इन्जिनियर (सिडिई) बद्रीप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको राजमार्गको हालसम्म ४० प्रतिशत निर्माण सम्पन्न भएको छ। तर, ठेक्का सम्झौता भएका र निर्माणाधीन कामका आधारमा ६० प्रतिशत भौतिक प्रगति भएको छ।
‘हाम्रो जिम्मेवारीमा रहेकामध्ये ४० प्रतिशत काम पूर्णरूपले सकिएको छ। ठेक्का लगाएको सहित हिसाब गर्दा ६० प्रतिशत काम भएको छ,’ शर्माले क्यापिटल नेपालसँग भने, ‘तर, बाँकी ४० प्रतिशतको ठेक्का लगाउन बाँकी नै छ।’
कुल १ हजार ३ सय ९० किलोमिटर लामो मदनभण्डारी राजमार्गको ७ सय ४० किलोमिटरमा राजमार्ग आयोजनाले काम गर्छ। बाँकी सडकमा अन्य राजमार्ग जोडिएका कारण आयोजना कार्यालयले काम गर्नुपर्दैन। आयोजना कार्यालयले काम गर्ने ७ सय ४० किलोमिटरमध्ये ४ सय ५४ किलोमिटर सडकको ठेक्का व्यवस्थापन भई निर्माण कार्य चलिरहेको छ। त्यसमध्ये पनि २ सय ६३ किलोमिटरमा कालोपत्रे भइसकेको छ।
तर, आयोजना सुरु भएको पाँच वर्षसम्म पनि २ सय ८६ किलोमिटर सडकको ठेक्का सम्झौता गर्न नसकिएको आयोजनाले जनाएको छ।
‘२ सय ८६ किलोमिटर सडकको विस्तृत डिपिआर तयार भएर बजेट माग गरिरहेका छौं,’ सिडिई शर्माले भने, ‘पर्याप्त बजेट आउँदैन। वन, खानेपानी पाइप, ढल, विद्युत पोलका कारण पनि निर्माण कार्यमा बाधा पुग्छ।’
त्यस्तै ४ सय ५४ किलोमिटर सडकमा १ सय ८५ पुल निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ। जसमध्ये ९७ वटा निर्माण पूरा भइसकेका छन्। तै पनि डिपिआर तयार भएको २ सय ८६ किलोमिटर सडकमा बन्ने पुलको विषयमा भने आयोजनाले प्रष्ट पारेको छैन। उनका अनुसार पाँचवटा योजना कार्यालयबाट काम हुन्छ। ठेक्का सम्झौता हुन बाँकी सडकको विवरण संकलन भइरहेको छ।
आयोजनाको म्याद आर्थिक वर्ष २०८१/८२ सम्म छ। उक्त अवधिमा हालसम्म ठेक्का सम्झौता भएका स्थानमा निर्माण कार्य सम्पन्न गर्न सकिने सिडिई शर्मा बताउँछन्। तर, ठेक्का सम्झौता प्रक्रियामा नगएका स्थानमा निर्माण सम्पन्न हुने सम्भावना कम हुँदै गएको उनको भनाइ छ।
‘बजेट माग गरेको फाइल राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालय पुगेको छ, तर पैसा आउँदैन,’ शर्माले भने, ‘देशको आर्थिक अवस्थाले गर्दा नै होला पैसा नदिएको, विकासको काम रोक्ने रहर त अर्थलाई पनि नहुनुपर्ने।’ उनका अनुसार बजेट आएर ठेक्का सम्झौता गरेपछि पनि एउटा ठेक्का सम्पन्न गर्न कम्तीमा तीन वर्ष लाग्ने छ।
कति छ चालू आर्थिक वर्षको लक्ष्य?
चालू आर्थिक वर्ष मदनभण्डारी राजमार्ग आयोजनाले २४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ। त्यस्तै १० वटा पुल निर्माण गर्ने योजना छ। जसमध्ये पुस मसान्तसम्म चारवटा पुल निर्माण सकिएको छ।
तर, चालू आर्थिक वर्ष ६ महिना बित्दा चार किलोमिटर सडकमात्रै कालोपत्रे भएको छ। ‘कालोपत्रेको काम सबैभन्दा अन्तिम चरणमा हुन्छ,’ सिडिई शर्मा भन्छन्, ‘त्यसैले अहिलेसम्म चार किलोमिटर हुँदैमा २४ किलोमिटर लक्ष्य पूरा गर्न नसकिने होइन। पुल निर्माण र कालोपत्रेमा लिएको लक्ष्य पूरा हुन्छ।’
तर, पनि बजेट अभावकै कारण सडक कालोपत्रे र पुल निर्माणको लक्ष्य पूरा गर्न चुनौती रहेको आयोजनाले जनाएको छ। कूल ७५ अर्ब लागत अनुमान गरिएको मदनभण्डारी राजमार्गमा हालसम्म २८ अर्ब खर्च भइसकेको छ। हालसम्म ४१ वटा ठेक्का लगाएर निर्माण कार्य सञ्चालनमा रहेको आयोजनाका पाँचवटा निर्देशनालयले देशभरि काम सञ्चालन गर्दै आएका छन्।
सरकारको आफ्नै लगानीमा निर्माण हुने आयोजनामा मुआब्जा दिने व्यवस्था छैन। जसका कारण स्थानीयको अवरोध हुनुका साथै कम क्षति हुने स्थानबाट अलाइनमेन्ट बनाएर सडक निर्माण भइरहेको आयोजनाले जनाएको छ। जसले गर्दा सडकको लम्बाइ बढ्नुका साथै निर्माण कार्यसमेत ढिलाइ हुने गरेको छ।
थप ३ अर्ब बजेट माग
गत आर्थिक वर्ष ६ अर्ब रुपैयाँ बजेट खर्च भएको आयोजनामा चालू आर्थिक वर्ष २ अर्ब ८४ करोड रुपैयाँमात्रै बजेट आएको छ। त्यसमध्ये हालसम्म १ अर्ब १६ करोड रुपैयाँ खर्च भइसकेको छ।
चालू आर्थिक वर्षको खर्चका लागि आयोजनाले थप ३ अर्ब रुपैयाँ माग गर्नुपर्ने सिडिई शर्माले बताए। एकैपटक ३ अर्ब माग्दा अर्थ मन्त्रालयले नदिने भएपछि मासिक खर्चका आधारमा क्रमशः माग गर्दै जाने योजनामा आयोजना छ।