न्यूदिल्ली, एजेन्सी। गौतम अदानीको स्वामित्वमा रहेका सबै कम्पनीहरुको सेयर मूल्य निरन्तर ओरालो लागेपछि भारतका सबैभन्दा धनी गौतम अदानीले हप्ता दिनमै १ खर्ब डलर गुमाएका छन् ।
गौतम अदानीले २.५ अर्ब डलरको सेयर बिक्री रोकेपछि बिहीबार भारतको अदानी समूहको सेयर मूल्यमा गिरावट आएको छ। जसले गर्दा अदानीका कम्पनीहरुको बजार पुँजीकरण १ खर्ब डलर घटेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। समूहको प्रमुख फर्म अदानी इन्टरप्राइजेजको सेयर मूल्य बिहीबार १० प्रतिशत झरेको छ।
समूहका अन्य कम्पनीहरू अदानी पोट्र्स, स्पेशल इकोनोमिक जोन, अदानी टोटल ग्यास, अदानी ग्रीन एनर्जी र अदानी ट्रान्समिशनको सेयर मूल्य १० प्रतिशतका दरले घटेको छ। जबकि अदानी पावरको सेयर मूल्य ५ प्रतिशत मात्र घटेको छ। भारतीय डलर अर्बपति अदानीका कारण सेयर बजारमा आतंक छाएको छ।
कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यवसायिक साम्राज्य अहिले कर्पाेरेट ठगीको आरोप र सेयर बजारमा आएको अचानक गिरावटले आतंक छाएको हो।
अमेरिकी सर्टसेलर हिन्डनबर्गले आफ्नो प्रतिवेदनमा अदानीलाई ‘व्यावसायिक इतिहासकै सबैभन्दा ठूलो ठगी’ गरेको आरोप लगाएको छ। ठूलो कर्पोरेट ठगी आरोपको सामना गरिरहेका अदानीले एसियाको सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो उपाधि पनि गुमाएका छन्।
अदानी ग्रुपको कारोबारलाई लिएर भारतीय रिजर्भ बैंक (आरबिआई) ले चासो देखाएको छ। आरबिआईले स्थानीय बैंकहरुसँग अदानी ग्रुपका कम्पनीहरुमा भएको लगानीको विवरण मागेको छ।
अमेरिकी सर्ट सेलर हिडनबर्गले गलत वित्तीय विवरण देखाएर कर्पोरेट ठगी गरेको प्रतिवेदन सार्वजनिक गरेपछि ओरालो लागेका गौतम अदानीका कम्पनीहरुमाथि भारतको केन्द्रीय बैंकले चासो देखाएपछि संकट अझै गहिरिँदै गएको छ।
सेयर बजारका आधारमा विश्वकै सबैभन्दा धनी बन्ने अदानीको योजनार्मा ब्रेक’ लाग्नुका साथै हिडनबर्गका कारण उनको प्रतिष्ठा र कम्पनीको करियरमा सबैभन्दा ठूलो दाग लागेको छ।