काठमाडौं। नेपालमा सबैभन्दा बढी सामसङ ब्रान्डको मोबाइल प्रयोग हुने गरेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा सबैभन्दा बढी प्रयोग हुने मोबाइल ब्रान्डमा सामसङ रहेको पाइएको हो।
दूरसञ्चारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार एनसेलको नेटवर्कमा ५१ र नेपाल टेलिकमको नेटवर्कमा ५२ वटा गरी नेपालभर जम्मा ५२ ब्रान्डका मोबाइल सेट प्रयोगमा रहेको देखिन्छ। एनसेलको नेटवर्कमा कुल १ करोड ७० लाख ३९ हजार ३५ वटा मोबाइल सेट र नेपाल टेलिकमको सिस्टममा १ करोड ५७ लाख ८४ हजार ७ सय २३ वटा मोबाइल सेट पहिचान भएको प्रतिवेदनमा उल्लेख छ।
जसमध्ये सबैभन्दा बढी सामसङ ब्रान्डको मोबाइल प्रयोग भएको पाइएको हो। सामसङ ब्रान्डको मोबाइल सेट एनसेल र नेपाल टेलीकम दुबैमा सबैभन्दा बढी प्रयोग भएको देखिन्छ। दूरसञ्चारको प्रतिवेदन अनुसार नेपाल टेलिकमको नेटवर्कमा बढी प्रयोग हुने मोबाइल ब्रान्डमा दोस्रोमा साओमी, तेस्रोमा ओप्पो, चौंथोमा भिभो र पाँचौंमा आइटेल छन्। त्यस्तै यही सूचीको छैटौंमा लाभा, सातौंमा नोकिया, आठौंमा रियलमी, नवौंमा कलर्स र दशौं नम्बरमा हुवाई छ।
तर, पहिलो स्थानमा बाहेक नेपाल टेलिकम र एनसेल नेटवर्कमा प्रयोग भएको देखिएको मोबाइल ब्रान्डको सूची भने केही फरक छ। एनसेल नेटवर्कमा सामसङ दोस्रो, ओप्पो तेस्रो, भिभो चौथो, आइटेल पाँचौं र लाभा छैटौं स्थानमा छ। त्यस्तै नोकिया सातौं, एप्पल आठौं, रियलमी नवौं र कलर्स दशौं स्थानमा रहेको देखिन्छ।