काठमाडौं। निर्माणाधीन अवधिसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई क्षेत्रीय भनेर प्रचार गरिन्थ्यो। तर, उद्घाटन सँघारमा आइपुग्दा यसको प्रमुख सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणसहित सरकारी कामकाजमा ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ हुन थाल्योे।
सन् २०२३ जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भनेर उल्लेख गरियो। तथापि, विमानस्थलको भवनमा भने ‘पोखरा’ मात्र लेखिएको बोर्ड छ। त्यहाँ क्षेत्रीय वा अन्तर्राष्ट्रिय भन्ने उल्लेख छैन। सञ्चालनमा रहेको त्रिभुवन र गौतमबुद्धमा भने अन्तर्राष्ट्रिय विमानस्थल भनेरै बोर्ड राखिएका छन्। तर, पोखरा विमानस्थलमा भने पोखरामात्र लेखिएको छ।
२०७३ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गर्दा होस् या विमानस्थल निर्माणका लागि चिनियाँ लगानीकर्ता ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग ऋण सम्झौता गर्दा, त्यसबेला सार्वजनिक भएका समाचारहरूमा समेत क्षेत्रीय नै भनेर उल्लेख गरिएका थिए।क्षेत्रीय भनेर प्रचार गरिएको विमानस्थललाई एकाएक अन्तर्राष्ट्रिय भनिएपछि अधिकांशले चासो व्यक्त गर्न थालेका छन्। खासमा क्षेत्रीयबाट कसरी अन्तर्राष्ट्रियमा रूपान्तरण भयो भन्ने प्रश्नको जवाफ प्राधिकरणसँग पनि छैन।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जुन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन्छ, त्यसलाई अन्तर्राष्ट्रिय विमानस्थल भनिने बताए। ‘पोखराका हकमा सुरुमा क्षेत्रीय भनेर प्रचार गरिए पनि खासमा अन्तर्राष्ट्रिय विमानस्थल नै हो,’ प्रवक्ता निरौलाले क्यापिटल नेपालसँग भने, ‘बोलीवचनमा क्षेत्रीय भनिए पनि प्राधिकरणको डकुमेन्टमा अन्तर्राष्ट्रिय नै उल्लेख छ।‘
प्राधिकरणले अन्तर्राष्ट्रिय दाबी गरे पनि पोखरा विमानस्थलबाट हालसम्म कुनै पनि वायुसेवाले अन्तर्राष्ट्रिय उडान अनुमति लिएका छैनन्। पोखरामा नयाँ विमानस्थल निर्माण बेलादेखि नै त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सम्भव नभएको प्रतिक्रिया विज्ञहरूले दिँदै आएका थिए। तर, पोखरामा नयाँ विमानस्थल बनाइछाड्ने प्राधिकरणको हठ र राजनीतिक दबाबपछि विज्ञहरूलाई सामसुम पार्न सानो आकारको विमानस्थल निर्माण गर्ने भन्दै प्रचार गरिएको थियो।
खासगरी छोटो दुरी र साना (एयरबस ३२०) आकारसम्मका जहाजमात्र उडान–अवतरण गर्ने गरी विमानस्थल निर्माण गरिएको छ। धावनमार्गको क्षेत्रफल नै कम भएकाले पोखराबाट क्षेत्रीय उडानमात्र हुने गरी प्राधिकरण विमानस्थल तयार गरेको हो।
सुरुमै अन्तर्राष्ट्रियभन्दा विरोध आउने भएकाले पनि क्षेत्रीय भनेर प्रचार गरिएको प्राधिकरणका अर्का एक अधिकारीको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै अर्को अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता नभएको र चीनबाट महँगो ब्याजमा ऋण लिएर बनाउन नहुने भन्दै विरोधसमेत भएको थियो। तर, पोखरेलीले भने जसरी पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भन्दै आमरण अनशनसमेत गरेका थिए। जसका कारण तत्कालीन ओली सरकारले ऋण सम्झौता गर्नुभन्दा एक वर्षअघि नै शिल्यान्यास गरेको थियो।
तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीले समेत पोखरालाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भनेरै प्रचार गरेका थिए। नेपालबाट नजिकका भारत, चीन, बंगलादेश, श्रीलंका र भुटानलगायत देशमा उडान गर्ने गरी विमानस्थल निर्माण गरिएको उनले बताउँदै आएका थिए। प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै भएको बताए। चलनचल्तीमा क्षेत्रीय भनेर प्रचार गरिए पनि पोखरा अन्तर्राष्ट्रिय नै भएको उनको भनाइ छ। उक्त विमानस्थल चार घन्टाको दुरीबाट आउने साना जहाज लक्ष्य गरी प्राधिकरणले निर्माण गरेको उनले बताए।
प्राधिकरणको वेबसाइटमै छैन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
यता प्राधिकरणको आधिकारीक वेबसाइट मा पनि चालू परियोजनाका रूपमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नै भनेर उल्लेख छ। सोही वेबसाइटमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको सूचीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमात्र उल्लेख छ। प्राधिकरणको सूचीमा पोखरामा आन्तरिक विमानस्थलमात्र समावेश गरिएको छ।
चीनले परियोजना हस्तान्तरण गरेपछि चलनचल्तीमा आयो अन्तर्राष्ट्रिय
२०७८ चैत १२ गते नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए। विमानस्थल निर्माण गरेको चिनियाँ निर्माण कम्पनी सिएएमसिईले काम सम्पन्न गरेको भन्दै सरकारलाई साँचो हस्तान्तरण गरिएको थियो। त्यही बेलादेखि पोखरालाई एकाएक क्षेत्रीयबाट अन्तर्राष्ट्रिय भनेर प्रचार गरिएको थियो। नेपाली मिडियादेखि सामाजिक सञ्जालमा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नै भनेर उल्लेख गर्न थालिएको देखिन्छ।