काठमाडौं। लगानी बोर्डले राजधानीको चक्रपथमा विद्युतीय बस सञ्चालनका लागि अध्ययन गर्न आह्वान गरेको आशयपत्र रद्द गरेको छ। बोर्डले निकालेको आशयपत्रमा त्रुटि भेटिएपछि रद्द गरेको हो।
‘सार्वजनिक खरिद नियमावलीमा उल्लेख भएअनुसार बोर्डले निकालेको आशयपत्र नमिलेपछि सूचना नै रद्द गर्नुपरेको हो,’ बोर्डका एक अधिकारीले क्यापिटल नेपालसँग भने, 'आशयपत्र निकाल्ने बेला सिस्टमले देखाएको कुरामा भर परेर पुनः चेक नगरी सूचना निकाल्दा रद्द गर्नुपरेको हो।’
गत कात्तिक २० गते आह्वान भएको उक्त आशयपत्रमा विभिन्न देशका १३ कम्पनी सहभागी भएका थिए। ती कम्पनीको प्राविधिक अध्ययन चलिरहेका बेला बोर्डको सूचना गलत भएको भन्दै रद्द गरेपछि चक्रपथमा विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन अनिश्चित भएको छ।
‘पहिला प्राविधिक अर्थात सिस्टमको भर परेर ठेक्का आह्वान भयो अहिले क्रस चेक गर्दा खरिद नियमावलीसँग नमिल्ने देखिएपछि ठेक्का रद्द गर्नुपरेको हो। अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ होला,’ ती अधिकारीले भने।
चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न २० अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान बोर्डको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारपछि मात्र यकिन लागत आउने छ।
अध्ययन जिम्मेवारी पाउने कम्पनीले सम्झौताको १८ महिनाभित्र चक्रपथमा विद्युतीय बस सञ्चालनसम्बन्धी अध्ययन गरेर लगानी बोर्डलाई प्रतिवेदन बुझाउनुपर्ने आशयपत्रमा उल्लेख थियो।
२७.३० किलोमिटर लामो चक्रपथको एउटा लेन विद्युतीय बसका लागि मात्र छुट्ट्याइने योजना छ। त्यस्तै निर्माण, सञ्चालन र व्यवस्थापन निजी क्षेत्रले गर्ने छ। पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ७५ टर्मिनल र २७ स्टेसन रहनेछन्।
चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न ६ मिटर चौडाइको बसस्टेसन, स्मार्ट कार्ड र सिक्कामा आधारित भाडा प्रणाली, बत्ती, सिग्नल, जिपिएस प्रणाली, टर्मिनल र चार्जिङ स्टेसनलगायत निर्माण हुनेछन्। त्यस्तै फ्लाइओभर सडक, पुलहरू तयार हुनेछन्।
सन् २०२९ सम्म चक्रपथमा दैनिक यात्रु आवागमन संख्या कम्तीमा १७ लाखदेखि बढीमा ३० लाख ८ हजारसम्म रहने बोर्डले अनुमान गरेको छ। २०४९ सम्म पुग्दा कम्तीमा २३ लाख ७ हजारदेखि बढीमा दैनिक ४२ लाख ९ हजारले चक्रपथको बाटो प्रयोग गरेर यात्रा गर्नेछन्।
सोही चाप आधार मानेर पूर्वाधार निर्माण गर्ने योजना बोर्डले लिएको हो। राजधानीमा बढ्दो जनघनत्व र प्रदुषण लक्ष्य गरी विद्युतीय बस सञ्चालन योजना अघि सारेको बोर्डले जनाएको छ।