काठमाडाैं। कामना सेवा विकास बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा हरेन्द्र दाहाल (ऋणी), चन्द्रबहादुर थापा (ऋणाी) र वीरेन्द्र सिंह भण्डारी रहेका छन्। प्रहरी कार्यालय दमकका अनुसार उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हाे। प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेकाे जनाएकाे छ।
उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए/नभएको नखुलेपछि अनुसन्धानअघि बढेको थियो। ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोका रूपमा राखेका थिए।
नेपाल राष्ट्र बैंकले केन्द्रीय अनुसन्धान ब्युरोलाई यससम्बन्धमा अनुसन्धान गर्न पत्र लेखेको थियो। ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो।
बैंकका निर्देशक विश्वेश्वर सुवेदीले यसरी धितो कम राखेर ऋण प्रवाह गर्दा चारदेखि ५ करोडसम्म घाटा हुन आएको देखिएकाे बताए।
बैंकले कर्जा लगानी गर्यो। लगानी गर्दा केही फाइलहरूमा मूल्यांकनभन्दा बढी प्रवाह गरेको देखियो बताउँदै उनले भने 'कर्मचारीले ऋणीसँग मिलेर गलत मूल्यांकन गरेको पाइयाे, सञ्चालक समितिले छानबिन गर्दा पत्ता लागेपछि यी/यी व्यक्तिले हानी नोक्सानी गरेकाे भनेर किटानी गरेर मुद्दा हालेका हौं।'
उनका अनुसार अनुसन्धानका लागि प्रहरीले ऋण दिँदा फाइलमा हस्ताक्षर गरेकाहरूलाई पनि बोलाएर सोधपुछ गरिरहेको छ। सुरूमा ३१ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो। जग्गा/व्यवसाय अधिकतम् पैसामा लिलामी गर्दा पनि ऋण नउठ्ने देखिएको हो। त्यसमा ४ देखि ५ करोडसम्म घाटा हुन आउने उनले बताए।
सुरूमा त्यति दिए पनि अहिले ऋण तिरेर १४ करोड मात्र बाँकी रहेकाे बताउँदै उनले समीक्षा गर्दा ४ देखि ५ करोडसम्म घाटा लाग्ने देखिएको छ,' उनले भने, 'कर्मचारीको मिलेमतोबिना यो गर्न सम्भव छैन, 'केही कर्मचारीले बदमाशीले धेरै कर्मचारीले दु:ख पाउने देखियाे।'
ऋण लिएर चलाएको व्यवसाय पनि चौपट भएको पनि उनले जानकारी दिए। उनका अनुसार यसरी कम धितोमा ऋण प्रवाह धेरै भएकाेबारे बैंकले थाहा पाएको पनि एक वर्ष बढी भइसकेको छ।
बैंकलाई घाटा भएपछि आन्तरिक रूपमा अनुसन्धान सुरू गरिएकाे थियो। बैंककाे आन्तरिक छानबिनपछि प्रहरीलाई अनुसन्धानका लागि पत्र लेखेपछि अनुसन्धान भइकाे बताइएकाे छ। बैंकका तत्कालीन प्रदेश प्रमुखलगायत अन्य केहीको पनि संलग्नता रहेको देखिएकाे बताइएकाे छ।