काठमाडाैं । सिराहा जिल्ला अर्नमा गाउँपालिकाका अध्यक्ष अशोककुमार यादवले बिमाको न्यून मूल्यांकनका कारण बिमाप्रति आम कृषकको आकर्षण बढ्न नसकेको बताएका छन् ।
मंगलबार नेपाल बिमा प्राधिकरणको आयोजनामा गाउँपालिकामा भएको बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बिमा व्यवसायमा पारदर्शिताको कमी र न्यून मूल्यांकनका कारण माछा, पशुपन्छी, घर लगायतको बिमामा गुनासो आउने गरेको उल्लेख गरे ।
सोही अवसरमा अध्यक्ष यादवले देशको समृद्धिका लागि हरेक व्यक्ति आर्थिक रूपले सुरक्षित हुनु अपरिहार्य भएकाले सबैले जीवन तथा निर्जीवन बिमा गर्नुपर्ने बताए ।
यस्तै अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा सहभागी कृषकहरूले बोयर जातको बाख्रा र गाईको बजार मूल्य अनुसार बिमा गर्न नपाएको, कृषि तथा पशुपन्छीको बिमा दाबी प्रक्रियाका बारेमा बिमा कम्पनीले जानकारी नदिएको, कम्पनीहरूले माछाको बिमा गर्न नमानेको, बिमा दाबी गरेको एक वर्षसम्म पनि दाबी भुक्तानी नपाएको लगायतका गुनासा गरेका छन् ।
बिमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधिहरूले वास्तविक मूल्यभन्दा बढीको बिमा गर्न खोजिने गरेकाले बिमा गर्न समस्या भएको र कृषि प्राविधिकको सिफारिसका आधारमा बिमा गर्न तयार रहेको स्पष्ट पारे ।