काठमाडौं । शुभम पावर लिमिटेडले आजदेखि सर्वसाधारणलाई आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपछि बुधबारबाट सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।
कम्पनीले प्रतिसेयर १ सय रूपैयाँ अंकित मूल्यका ४ लाख ८१ हजार ८ सय २२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गरेको हो। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरी सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।
सोमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हजार ६ सय १० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो सेयर प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोला जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साल साउन १ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।