काठमाडौं। मुलुककै सबैभन्दा ठूलो जलविद्युत आयोजना सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले रोल्वालिङ खोला जलविद्युत बनाउन लागेको छ। कम्पनीले २२ मेगावाटको रोल्वालिङ आयोजना बनाउन विद्युत विकास विभागमा विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) का लागि निवेदन दिएको छ।
कम्पनीको मागबमोजिम विभागले ३५ दिनपछि रोल्वालिङ खोलाबाट बिजुली उत्पादन लाइसेन्स दिने छ। ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको रोल्वालिङ खोला आयोजनाबाट २०८४ मंसिर १ देखि बिजुली उत्पादनको प्रस्ताव गरिएको छ।
सुक्खायाममा बिजुली उत्पादन बढाउने लक्ष्यसाथ अघि बढाइएको आयोजनाबाट ३२ करोड १० लाख युनिट थप बिजुली उत्पादन हुनेछ। जसमध्ये प्रस्तावित २२ मेगावाटको आयोजनाबाट वार्षिक १० करोड ५० लाख युनिट र डाइभर्सन स्किमबाट २१ करोड ६० लाख युनिट बिजुली उत्पादन हुनेछ।
४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुन्छ। रोल्वालिङ खोला र डाइभर्सन स्किमसमेत थप्दा वार्षिक २ अर्ब ६० करोड २९ लाख युनिट बिजुली उत्पादन हुनेछ।
कम्पनीले आयोजनाको सम्भाव्यता अध्ययनसाथै वातावरणीय प्रभाव मूल्यांकनको कामसमेत सकेको छ। २२ मेगावाट क्षमताको आयोजनाको कूल हेड २ सय ७ मिटर अग्लो रहने छ। आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारमा पर्छ।
रोल्वालिङ खोलामा बाँध बाँधेर दायाँपट्टि निर्माण हुने इन्टेकबाट पानी फर्काइ आयोजनाको मुख्य संरचना हुँदै विद्युतगृहमा लगिने कम्पनीले जनाएको छ। खोलाको पानी फर्काउन ४२ मिटर लामो र चार मिटर अग्लो कंक्रिट वेयर बनाउने प्रस्ताव गरिएको छ।
विद्युतगृहमा दुइटा भर्टिकल एक्सेस पेल्टर्न टर्बाइनसँगै जोडिएका दुईथान १२.५ एमभीएका जेनेरेटरबाट बिजुली उत्पादन हुनेछ। बिजुली उत्पादनपछि माथिल्लो तामाकोसीको जलाशयमा पानी खसालिने छ। जलाशयमा पानी खसालेपछि माथिल्लो तामाकोसीबाट सुक्खायाममा थप २१ करोड ६० लाख युनिट बिजुली उत्पादन हुनेछ।
रोल्वालिङ आयोजना बनाउन अपर तामाकोसीले सतप्रतिशत अर्थात १० अर्ब ५९ करोड रुपैयाँबराबर हकप्रद सेयर निष्कासन गर्दैछ। आयोजना बनाउन कम्पनीले बैंकबाट ऋण नलिने जनाएको छ। रोल्वालिङ आयोजनाबाट बिजुली उत्पादन थालेपछि अपर तामाकोसीले लगानीकर्तालाई राम्रो लाभांश दिने अनुमान गरिएको छ।
रोल्वालिङ अपर तामाकोसीलाई ‘रेस्क्यु’ गर्ने आयोजनाका रूपमा हेरिएको छ। रोल्वालिङ डाइभर्सनका दुई ‘कम्पोनेन्ट’ छन्। एउटा, डाइभर्सनको क्षेत्र जसमा ‘इनर्जी एडप्सन’ हुन्छ। यसले नेपालको ऊर्जा प्रणालीलाई पनि सहयोग गर्छ। रोलवालिङ डाइभर्सनले सुख्खा याममा माथिल्लो तामाकोसीमा बिजुली उत्पादन बढाउने छ। बर्खामा चार/पाँच महिना ऊर्जा चाहिँदैन।
तर, रोल्वालिङ डाइभर्सनले सुक्खा याममा इनर्जीको ग्राफ बढाइदिन्छ। रोल्वालिङ सानो आयोजना भए पनि यसले माथिल्लो तामाकोसीलाई ठूलो वित्तीय योगदान गर्ने छ। माथिल्लो तामाकोसीले अहिले कमाएको आम्दानीमा रोल्वालिङबाट २० प्रतिशत थप हुन्छ।
विनाशकारी भूकम्प, कोरोना महामारी, डिजाइन परिवर्तन र लट दुईको ठेकेदारका कारण आयोजना ढिलाइ हुन गएको थियो। माथिल्लो तामाकोसी बनाउन झन्डै ९० अर्ब रुपैयाँ लागेको छ।