काठमाडौं। सन् २०२३ जनवरी १ बाट तामझामसाथ सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको किस्ता आगामी चैतबाट सुरु हुँदैछ।विमानस्थल निर्माण गर्न ऋण दिएको चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले वार्षिक दुई किस्ता गरी १ अर्ब ७० करोड रुपैयाँ तिर्नुपर्छ।
चिनियाँ एक्जिम बैंकले दिएको २२ अर्ब रुपैयाँबराबर सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा पोखरा विमानस्थल निर्माण गरिएको हो। उक्त ऋणको २५ प्रतिशत रकम नेपालले अनुदानस्वरूप पाएको हो भने बाँकी रकमको ब्याज नेपालले वार्षिक दुई प्रतिशतका दरले चुक्ता तिर्नुपर्छ। प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले एक्जिम बैंकलाई चैतबाट किस्ता तिर्न तयार रहेको बताए।
‘किस्ता तिर्न चैतबाट सुरु हुने भए पनि ब्याज भने सात वर्ष अघिबाटै तिर्न सुरु भइसकेको थियो,’ अधिकारीले क्यापिटल नेपालसँग भने, ‘एक्जिम बैंकलाई हालसम्म ब्याजमात्र १ अर्ब ५ करोड तिरिसकेका छौं।’ उनका अनुसार वर्षको दुई किस्ता गरेर एक्जिम बैंकलाई किस्ता बुझाउनुपर्ने सहमति छ। सम्झौताअनुसार एक किस्तामा ८५ करोड रुपैयाँ तिर्नुपर्छ।
२०७३ वैशाख १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण शिलान्यास भएको थियो। २०७४ सालमा चीनले ऋण दिन अनुमोदन गरेको थियो। विमानस्थल निर्माण गर्न २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। तर, अझै लागत सार्वजनिक भइसकेको छैन।
प्राधिकरणले लिएको ऋण एक्जिम बैंकलाई १३ वर्षमा २६ किस्तामा चुक्ता गर्नुपर्ने छ। बैंकले ऋण सम्झौता भएको सुरुका सात वर्षलाई ‘ग्रेस पिरियड’ मानेको छ।
चिनियाँ निर्माण कम्पनी सिएएमसिईले २०७८ चैतमा चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणकै अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको थियो।
३ हजार ७ सय रोपनी क्षेत्रफल ओगटेको विमानस्थलमा ‘न्यारोबडी’ (एयरबस ३२० सिरिज) आकारका जहाज उडान र अवतरण गर्न सकिने प्राधिकरणले दाबी गर्दै आएको छ। विमानस्थलमा आठ ठूला र आठ साना गरी ११ जहाज पार्किङ गर्ने क्षमता छ। धावनमार्ग भने २ हजार ५ सय मिटर लम्बाइ र चौडाइ ४५ मिटर छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिक उडानमात्र भइरहेका छन्। खासरी साना जहाजमात्र उडान अवतरण गर्नसक्ने भएकाले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले खासै चासो देखाएका छैनन्। हाल पोखराबाट हिमालय एयरलाइन्सले चीन र बुद्ध एयरले भारतका विभिन्न सहरमा उडान गर्ने तयारी गरेका छन्। तर, भारतले उडानका लागि अनुमति भने दिएको छैन।