काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू मजदुरहरूकै प्रतिनिधि भएको र यो सरकार मजदुर हितका पक्षमा दृढतापूर्वक उभिने विश्वास दिलाएका छन्। मंगलबार मन्त्रालयमा यातायात सम्बद्ध विभिन्न तीनवटा मजदुर संघरसंगठनले पेश गरेको ज्ञापनपत्र बुझ्दै उनले त्यस्ताे विश्वास दिलाएका हुन्।
मजदुर संघ र संगठनले यातायात सम्बद्ध सरकारी संरचनाहरू ऐन विपरित चल्नाले सार्वजनिक यातायात अस्तव्यस्त भएको र सडकमा राज्य आतंक सिर्जना गरिएको भन्दै समाधानका लागि ज्ञापनपत्र बुझाउन आएको बताएका थिए।
ज्ञापनपत्रमा ऐन विपरित लाइसेन्स निलम्बन गर्ने गरिएको र मनखुसी जरिवाना असुल गर्ने गरिएको, प्रदूषण जाँचको वैज्ञानिक मापदण्ड नभएको, सीमानाकामा ढुवानी क्रममा सास्ती भोग्नुपरेको जस्ता समस्या उल्लेख छन्।
मजदुर हितका लागि बिद्यमान ऐन(कानुन परिमार्जन गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नुपर्ने तथा त्यसका लागि राष्ट्रिय यातायात प्राधिकरण, रोड सेफ्टी काउन्सिल र यातायात क्षेत्र सुधार आयोग गठन गर्नुपर्ने माग ज्ञापनपत्रमा छ।
ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले मागहरूबारे आफ्नो ध्यानाकर्षण भएको, सार्वजनिक यातायातका क्षेत्रमा कयौं नीतिगत एवं व्यवहारिक सुधारको सुरूवात भैसकेको र त्यसलाई प्रभावकारी बनाउन आफू क्रियाशील रहेको बताए। यातायात जस्तो जनसंवेदनशील सेवा क्षेत्रको प्रभावकारी सुधारका लागि सरकार, व्यवसायी र मजदुरहरूको हालेमालो हुनुपर्ने उनले बताए।
नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दीपक केसी र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई सहितका मजदुर प्रतिनिधिहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए। प्रतिनिधिमण्डलमा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत शिंखडा समेत सहभागी थिए।