काठमाडौं। हवाई दुर्घटना न्यूनीकरण गर्न उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम जारी गर्ने तयारी गरेको छ।
प्राधिकरणले बनाएको नयँ नियमको मस्यौदाअनुसार अब एउटा पाइलटले दिनमा आठ घन्टा र बढीमा आठवटा मात्र उडान गर्न पाउनेछन्। हाल दैनिक १० घन्टा र १० उडान गर्न पाउने प्रावधान छ।
यस्तै पहाडी क्षेत्रमा हुने ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ (स्टल) उडान गर्दा जहाज जमिनको सतहबाट सधैं ५ सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट कम्तीमा १ हजार फिटमाथि हुनुपर्ने व्यवस्थासहित नियम जारी गर्ने लागेको हो।
प्राधिकरणका अनुसार दुर्घटना न्यूनीकरणका लागि गर्न सकिने उपायमध्ये अहिले जारी गर्ने तयारीमा रहेका नयाँ नियमले केही सहयोग मिल्ने छ। तथापि, निर्णय भने भइसकेको छैन।
वायुसेवा कम्पनीका सबै प्रशिक्षक पाइलट (आइपी) ले जहाज उत्पादक कम्पनीमा गई सीप परीक्षण गर्नुपर्ने, ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) उडान हुने विमानस्थलमा ‘भिजुअल फ्लाइट रुटल’ (भिएफआर) उडान गर्न नपाइने उल्लेख छ।
अहिले आइएफआर उडान हुने विमानस्थलमा समेत भिएफआर उडान तथा अवतरण भइरहेका छन्। आइएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने गरी नयाँ नियम जारी गर्न लागिएको हो। आइएफआर भनेको यन्त्रका सहायताबाट गरिने उडान हो भने भिएफआर भनेको ककपिटबाट पाइलटले अगाडि हेरेर गरिने उडान हो।
प्राधिकरणका एक उच्च अधिकारीले नयाँ नियम तयार भए पनि निर्णय भइसकेको छैन। ’छलफलकै क्रममा भएका कारण अहिले नै सार्वजनिक नगरिएको हो,’ ती अधिकारीले भने, ‘गर्मी मौसमबाट लागू हुने गरी केही दिनमै निर्णय हुनसक्छ।‘