काठमाडौं। वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि सरकारले समयमै बजेट उपलब्ध नगराएपछि राष्ट्रिय आविष्कार केन्द्रले आफ्नै लागतमा काम सुरु गरेको छ।
कारखाना सञ्चालनको जिम्मा पाएको केन्द्रले कारखाना सरसफाइ र मेसिनहरु छुट्याउने तथा अलग्याउने काम सकेपछि यसको विस्तृत सर्भे गरेको थियो। जसमा कारखाना मर्मत गरी सञ्चालनमा ल्याउन २५ करोड रुपैयाँ लाग्ने देखिएपछि उक्त रकम आविष्कार केन्द्रले सरकारसँग माग गरेको थियो।
गत संघीय तथा प्रदेशसभा निर्वाचन लगत्तै सरकारसँग लागत माग गरेको भए पनि हालसम्म उक्त रकम उपलब्ध हुन नसक्दा कारखाना मर्मतको कामले गति पाउन सकेको छैन। तर आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनका अनुसार आविष्कार केन्द्रले अहिले आफ्नै लागतमा विभिन्न मेसिन मर्मतको काम सुरु गरेको छ।
‘हामीले माग गरेको लागत सरकारले कहिले उपलब्ध गराउँछ र कति उपलब्ध गराउँछ भन्ने टुंगो छैन,’ अध्यक्ष पुनले क्यापिटल नेपालसँग भने ‘हामीले सक्ने र हाम्रो लागतले धान्ने मेसिन मर्मतलगायतका केही काम हाल गरिरहेका छौं।’
उनले कारखानामा रहेका डाई प्रेस मेसिन, मिलिङ मेसिन, लेथ मेसिन, पञ्चिङ मेसिन, ड्रिल मेसिन र फर्नेसहरू मर्मत सकेर परीक्षण गरेको पनि जानकारी दिए। पुनका अनुसार हाल कारखानाको हाताभित्र ३० वर्षदेखि झाडीहरु डोजर लगाएर सफा गर्ने र समतल बनाउने, त्यहाँ रहेका दुइटा माछा पोखरीलाई सफा गरी माछा हाल्ने योजनाअनुरुप काम भइरहेको छ।
त्यस्तै कारखानामा लगभग ४ बिघा खाली ठाउँ रहेकाले त्यहाँ खनजोत गरी मकै, धान र तोरी लगाउने योजना रहेको पनि उनले बताए। केही औजारको नमुना अबको दुई सातामा बनाउन सकिने देखिएकाले त्यसका लागि पनि तयारी गरिरहेको उनले सुनाए।
कारखाना मर्मत र मेसिनरी औजार थप गर्न आवश्यक रकम सञ्चालक समितिको सिफारिसमा पहिलो पटकलाई अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्ने सम्झौता छ।
पुराना मेसिन मर्मत गर्न, नयाँ मेसिन थप्न, कारखानामा रहेका सात वटा भवन मर्मत गर्न, कारखानाको विद्युतीय प्रणाली बदल्न आवश्यक देखिएपछि सञ्चालक समितिले सबै काम र नापजाँचको प्रतिवेदन बनाएर अर्थ मन्त्रालयसँग बजेट निकासाका लागि निवदेन दिएको थियो। तर अर्थ मन्त्रालयले समयमै बजेट उपलब्ध नगराउँदा लक्ष्यअनुरुपको समयमा उत्पादनको काम सुरू नहुने हो कि भन्ने आशंका पैदा भएको अध्यक्ष पुनले बताए।
‘हामीले १० महिनाभित्र उत्पादनको काम सुरु गर्ने लक्ष्यका साथ कात्तिक दोस्रो सातादेखि कारखाना मर्मतको काम सुरु गरेका थियौं,’ अध्यक्ष पुनले भने ‘तर बजेट माग गरेको दुई महिना बढी हुँदा पनि अर्थले कुनै प्रतिक्रिया नजनाएका कारण सो समयमा उत्पादन सुरु नहुने हो कि भन्ने आशंका हामी आफैंलाई पैदा भएको छ।’
उनले धेरैलाई कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन असम्भव लागिरहेको बताउँदै आफूहरु भने यसलाई पुनः सञ्चालनमा ल्याउन निरन्तर लागि रहेको बताए। अर्थ मन्त्रालयले समयमै बजेट उपलब्ध गराएमा कारखाना मर्मतको काम थप प्रभावकारी ढंगले अघि बढ्ने पुनको भनाइ छ।
आविष्कार केन्द्रले पहिलो चरणअन्तर्गतको काम आविष्कार केन्द्रकै ३ लाख ८० हजार रुपैयाँ लागतमा पूरा गरेको थियो। केन्द्रका १८ तथा वीरगन्जका विभिन्न संस्थाका सदस्य, विद्यार्थी, स्थानीयवासिन्दा गरी लगभग ३ सयभन्दा बढीको श्रमदानबाट एक सातामा पहिलो चरणको काम सम्पन्न भएको थियो।
तर, बजेट निकासा हुन नसक्दा पहिलो चरणको काम सम्पन्न भएको लामो समयसम्म पनि दोस्रो चरणको काम सुरु हुन सकेको थिएन। मन्त्रालयले बजेट निकासा गराउने कुनै सुरसार नगरेका कारण हाल भने आफ्नै लागतमा आविष्कार केन्द्रले कारखाना मर्मतको काम अगाडि बढाएको हो।
गत भदौ ३० को मन्त्रिपरिषद बैठकले कारखाना पुनः सञ्चालनको जिम्मा आविष्कार केन्द्रलाई दिएको थियो। त्यसपछि केन्द्रले कारखानामा रहेका मेसिन अध्ययन गरेको थियो। अध्ययनबाट कारखानामा रहेका मेसिनमध्ये ५० प्रतिशत चालू अवस्थामा र बाँकी आधामध्ये २५ प्रतिशतमर्मत गरेर चलाउन सकिने तथा २५ प्रतिशत काम नलाग्ने अवस्थामा रहेको निष्कर्ष निस्किएको थियो। त्यसपछि केन्द्रले कारखाना सरसफाइ र मेसिनमर्मतको काम सुरु गरेको थियो।
तत्कालीन सोभियत संघ (रुस) र नेपालको संयुक्त लगानीमा २०२१ सालमा स्थापना भएको यो कारखाना २०४८ सालमा निजीकरण भएपछि विभिन्न अवरोध पार गर्दै २०५९ सालदेखि पूर्णरूपमा बन्द भएको थियो। सरकारको पूर्णस्वामित्वमा रहेको यो कारखानाको अधिकृत पुँजी ३ करोड, जारी पुँजी २ करोड तथा चुक्ता पुँजी १ करोड ९५ लाख रुपैयाँ छ।
कृषि औजार कारखानाले आफ्नो सञ्चालन अवधिमा ट्याक्टरको ट्रेलर, विभिन्न पुर्जा, कृषिका लागि चाहिने सुधारिएको हलो, कृषिमा काम लाग्ने अन्य औजारबाहेक नहरका ढोका, भवनको ट्रस, झोलुङ्गे पुलजस्ता उपयोगी सामग्री बनाउँदै आएको थियो।
बन्द हुनु अगाडिसम्म यसले वार्षिक साढे ७ करोड रुपैयाँको सामान उत्पादन गर्ने गरेको कृषि विकास मन्त्रालयको तथ्यांकमा छ। मन्त्रालयका अनुसार कारखाना बन्द भएपछि वार्षिक ७ देखि ८ हजार ट्याक्टर, पुर्जा, २ हजार ५ मिनी टिलर, ५ हजार ५ सय पावर टिलर र करिब ३० हजारथान थ्रेसर आयात हुने गरेको छ।