काठमाडाैं । एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता १ सय रूपैयाँ अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो ।
कम्पनीले जारी पुँजी ३४ करोड रूपैयाँको २४ दशमलव ७१ प्रतिशतले हुने ८ करोड ४० लाख रूपैयाँ मूल्य बराबरको कुल ८ लाख ४० कित्ता साधारण सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो ।
जसमा ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।
त्यस्तै १६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी छ लाख ९७ हजार दुई सय कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
निष्कासन गरिने सेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत् तथा अनलाइनमा मेरो शेयर प्रयोग गरेर आइपीओका लागि आवेदन दिन व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।
कम्पनीलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेकोे छ ।