काठमाडौं। एक दशक अघिसम्म समस्याग्रस्त नेसनल हाइड्रोपावर कम्पनी (एनएचपिसी) लिमिटेडले जलविद्युतमा पुनः आक्रमक हिसाबमा लगानी बढाएको छ।
१४ मेगावाटको तल्लो इर्खुवाखोला र ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजना बनाइरहेको एनएचपिसीले ४० मेगावाटको लिखु खोला अर्धजलाशय (पिआरओआर) आयोजना बनाउन लागेको हो।
लिखु खोलाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी सुरु भइसकेको एनएचपिसीका अध्यक्ष कुमार पाण्डेले जानकारी दिए। ‘आयोजनाको अध्ययन गरिरहेका छौं,’ पाण्डेले क्यापिटल नेपालसँग भने, ‘प्रारम्भिक अध्ययनअनुसार आयोजना बनाउन ९ अर्ब रुपैयाँ लाग्ने देखिएको छ।’
उनका अनुसार तीन वर्षभित्र आयोजनाको डिपिआर तयार, विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स), नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) र लगानी जुटाउने लक्ष्य छ।
निर्माण कार्य सुरु भएको चार वर्षभित्र आयोजना पूरा गरी विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको छ।
‘तीन वर्षभित्र सबै प्रक्रिया सकेर काम सुरु गरेको चार वर्ष अर्थात सातौं वर्षबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्ने हाम्रो लक्ष्य छ,’ उनले भने, ‘सात वर्षभित्र आयोजना सम्पन्न गर्ने छौं।’
आयोजना एनएचपिसीले सहायक कम्पनीमार्फत बनाउने छ। आयोजनामा एनएचपिसीको सहायक कम्पनीबाट लगानी गर्ने योजना छ। यस्तै आयोजनामा साझेदार भित्र्याउने तयारी उसको छ।
आयोजनामा ७५ प्रतिशत एनएचपिसीको र बाँकी २५ प्रतिशत उज्यालो इनर्जी सोल्युसन प्रालिको स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ ।
३० प्रतिशत स्वपुँजी र बाँकी ७० प्रतिशत बैंक ऋण लगानीबाट आयोजना बनाउने लक्ष्य एनएचपिसीको छ। एनएचपिसीले लगानीकर्तालाई लाभांश नबाँडी प्रस्तावित आयोजनामा लगानी बढाउने नीति लिएको छ।
आयोजनाको बाँध रामेछाप साँघुटारभन्दा केही तल र विद्युतगृह नवलपुरभन्दा एक किलोमिटरमाथि रहने प्रस्ताव छ। सुरुङ लम्बाइ ६ किलोमिटर र आयोजनाको हेड १ सय २० मिटर अग्लो हुनेछ।
एनएचपिसीले हाल ७.५ मेगावाटको माथिल्लो इन्द्रावती आयोजना सञ्चालन गरिरहेको छ। यस्तै बनाइरहेको तल्लो इर्खुवाखोला आयोजना र सुनकोसी आयोजना आगामी वर्ष सम्पन्न हुने छन्। दुई आयोजना सम्पन्न भएपछि एनएचपिसीको जडित क्षमता २६ मेगावाट पुग्ने छ। लिखु आयोजना बनेपछि जडित क्षमता बढेर ६६ मेगावाट पुग्ने छ।
तल्लो इर्खुवाखोला र सुनकोसीमा लगानी गर्न एनएचपिसीले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ८२ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको छ।
हकप्रद सेयर निष्कासनपछि एनएचपिसीको चुक्ता पुँजी बढेर २ अर्ब ४६ करोड रुपैयाँ पुग्ने छ। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड १७ लाख रुपैयाँ छ। चालू आर्थिक वर्ष पहिलो त्रैमासमा कम्पनीले ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ।
एनएचपिसीले आयोजनामा लगानीमात्र गरिरहेकोमा आगामी दिनमा सहायक कम्पनीमार्फत निर्माण, परामर्श सेवा र फ्याब्रिकेसनमा लगानी विस्तारको योजना रहेको अध्यक्ष पाण्डेले बताए।