काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग साेमबार सिंहदरवारमा भेटगरी उद्योग व्यवसाय प्रवर्द्धनका विषयमा छलफल गरेको छ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डल र उद्योगमन्त्रीबीच भएकाे भेटवार्तामा अध्यक्ष गोल्छाले अस्थिर ब्याजदरका कारण विशेष गरी साना व्यवसायी अत्यन्त प्रताडित हुनु परेको बताए।
गाेल्छाले इन्धनको मूल्य समायोजन हुन नसक्दा लागत बढ्न गै मुद्रास्फितिमा समेत चाप परेको तथ्य सुनाए। उनले उद्योगहरूमा अघोषित लोडसेडिंगका कारण उत्पादन थप प्रभावित बनेको, बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुपर्नेमा जोड दिए।
कोभिड यता लगानी हुन नसकेका कारण आगामी केही वर्ष अर्थतन्त्रमा समस्या कायम रहने अध्यक्ष गोल्छाले बताए। भेटवार्तामा उनले राष्ट्रिय आर्थिक रुपान्तरण नेट २०३० कार्यान्वयनबारे गत साउनमा महासंघ र सरकारबीच समझदारी भएकाले यसको निरन्तरता र सहकार्य गर्न आग्रह गरे।
महासंघको पहलमा तयार भएको स्टार्टअप नीतिका सम्बन्धमा अन्तिम छलफल गरी पारित गर्नसमेत उनले आग्रह गरे। यस सम्बन्धमा आवश्यक छलफल आयोजना गर्न महासंघ तयार रहेको पनि उनले जानकारी दिए। जवाफमा मन्त्री भण्डारीले स्टार्टअप नीति अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने बताए।
त्यस अवसरमा महासंघले प्रधानमन्त्रीको आशन्न भारत भ्रमणका क्रममा नया दिल्लीमा नेपाल भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासंघको साझेदार संस्था सिआइआइ सह–आयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयकातर्फबाट आवश्यक समन्वय गरिदिनसमेत आग्रह गरेकाे छ।
भेटवार्तामा भारतले अहिले गहुँ आयात रोक्दा नेपाली मैदा मिलहरू समस्यामा परेकाले यसको निराकरणका लागि सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड दिए। यसबारे भारतसँग छलफल भैसकेको र तत्काल आयात खुल्ने मन्त्री भण्डारीले जानकारी दिए।
नेपालबाट भारत निर्यात गर्दा जारी हुने उत्पत्तिको प्रमाणपत्रको अनलाइन प्रक्रियालाई भारतले मान्यता नदिएकाले यसमा सहयोग गर्नसमेत महासंघले सुझाव दिएकाे छ। मन्त्रालयसँगको साझेदारीअनुसार सबै प्रदेशमा इन्कुवेसन केन्द्र स्थापना गर्न महासंघसँग सहकार्य गर्ने उल्लेख भएकाले यसलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजानुपर्ने धारणा महासंघकाे छ।
साथै साना तथा मझौला उद्यमीका लागि महासंघले सहयोग केन्द्र तथा वैदेशिक लगानी सहायता केन्द्र स्थापना गरेकाले सरकारसँग सहकार्य गर्न आग्रह गरेकाे छ।
उक्त अवसरमा जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले महासंघले राखेकाे सुझावलाई आफूले अगाडि बढाउने र महासंघसँग नियमित संवाद र नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाए।
मन्त्री भण्डारीले बन्द हडताल एवं लोडसेडिंगका कारण उत्पादन बन्द हुने अवस्था आउन नदिन मन्त्रालयले विशेष पहल गर्ने आश्वासन पनि दिए। त्यसैगरि बजेटको मध्यावधि समीक्षामार्फत सरकारको खर्च बढाउन विशेष योजना सार्वजनिक गर्ने जानकारी उनले दिए। उनले व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहकार्य गर्ने विश्वास पनि दिलाए।