बेइजिङ, सिन्ह्वा। चीनले वैदेशिक व्यापार र लगानी वृद्धि एवं उपभोगमा तीव्रता ल्याउने योजना अघि सारेको छ । चिनियाँ प्रधानमन्त्री लि केकाङको अध्यक्षतामा सम्पन्न राज्य परिषद बैठकले आर्थिक सुधार र व्यापार विस्तारका लागि यस्तो निर्णय गरेको हो ।
बैठकले केन्द्रीय आर्थिक सम्मेलनले हालै अनुमोदन गरेको आर्थिक सुधार सम्बन्धी निर्णयहरुको कार्यान्वयन गर्ने प्रस्तावलाई पनि अघि बढाएको छ । आर्थिक वृद्धि, रोजगारी र उपभोग्य वस्तुको मूल्यमा स्थिरता सुनिश्चित गर्नेतर्फ बैठकले ध्यान केन्द्रित गरेको छ ।
अर्थतन्त्रलाई स्थायित्व प्रदान गर्नका लागि अघि बढाइएका नीतिगत प्याकेजको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्न ठोस कदम अगाडि बढाइने छ । मुख्य परियोजना र वित्तीय नीतिको अग्रसरताका उपकरणहरुलाई अद्यावधिक गरी बढी भौतिक प्रगति गर्नेतर्फ अगाडि बढ्नेतर्फ बैठकले ध्यान दिएको छ ।
साना करदाताका उपलब्ध गराइएको भ्याट र सहुलियतपूर्ण ऋणको राहतलाई साना व्यवसायका लागि थप प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने छ । सार्वजनिक क्षेत्रलाई थप संगठित र विकास गर्नुपर्नेमा पूर्ण रुपमा प्रतिबद्धता व्यक्त गर्दै बैठकले गैर सार्वजनिक क्षेत्रको विकासलाई सहयोग र नीतिगत मार्गदर्शन गर्न प्रोत्साहित गरिने जनाएको छ । विश्वस्तरीय बजारमुखी व्यावसायिक वातावरण निर्माण गर्न निजी व्यवसायको कानुनी अधिकार र चासोलाई संरक्षण गरिने बैठकमा सहमति भएको छ ।
बैठकले स्प्रिङ चाड पछिको अवस्थामा व्यवसाय र उत्पादन क्षेत्रलाई थप व्यवस्थित रुपमा खुला गर्न सहजीकरण आवश्यक रहेकामा जोड दिएको छ । साथै आप्रवासी कामदारलाई उनीहरुका पूर्ववत काममा फर्कन र नयाँ रोजगारी खोज्ने गरी सहजीकरण गर्नुपर्ने कुरामा बैठकले ध्यान दिएको उल्लेख छ ।
चिनियाँ अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेको दैनिक उपभोग्य वस्तुको खपत बढाउन बैठकले जोड दिएको छ । वस्तुको मागका सन्दर्भमा वैदेशिक व्यापार र लगानी बढाउनेतर्फ ध्यान दिन राज्यका सबै निकाय अग्रसर हुनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
उपभोग्य वस्तुको मागलाई तीव्रता दिने सन्दर्भमा सेवामुलक व्यवसाय तथा स्वरोजगारमा आबद्ध व्यक्तिलाई मद्दत गर्नेगरी नीतिहरु अघि बढाइने छ । बैठकले कार र अन्य मूल्यवान सामानको उपभोग वृद्धिलाई प्रबद्र्धन गर्न जोड दिएको छ ।
उपभोग्य सामानको खरिदका लागि सहज ऋण उपलब्ध गराउने प्रावधान अघि बढाइएको छ । कुनै खास शहरी क्षेत्रलाई प्राथमिकता दिइने, घर खरिदका चाहनालाई ध्यानमा राख्ने, घरहरुको अवस्थामा सुधार ल्याउने तथा पहिल्यै बिक्री गरिएका घरहरुको अवस्थामा पनि सुधार ल्याइने छ ।
“उपभोगलाई व्यापक तुल्याउन देशभित्रै मागलाई विस्तार गर्नु मुख्य कदम हो । अर्थतन्त्रमा उपभोगलाई मुख्य प्राथमिकतामा राख्नु अति जरुरी छ,” प्रधानमन्त्री लि ले भने । “चिनियाँ अर्थतन्त्रको सर्वाधिक महत्वपूर्ण क्षमता भनेकै १ अर्ब ४० करोड मानिसले गर्ने उपभोग नै हो ।”
बैठकले आर्थिक खुलापनको राष्ट्रिय नीतिप्रति चीनको प्रतिबद्धतालाई पुनः जोड दिँदै वैदेशिक व्यापारलाई मजबूत बनाउने अझ ठोस उपायहरुका लागि आह्वान पनि गरेको छ । देशभित्र वस्तुहरुको प्रदर्शनीहरुलाई थप खुला गरिने तथा विदेशमा हुने औद्योगिक तथा व्यापारिक प्रदर्शनीमा सहभागिताका लागि व्यवसायीहरुलाई सरकारले मद्दत गर्ने बैठकले निर्णय गरेको छ ।
वैदेशिक व्यापारमा सहुलियत, ऋण र बिमा समेतका सुविधा उपलब्ध गराउने नीतिको प्रभावकारी कार्यान्वयन गरिने तथा चिनियाँ मुद्रा (आरएमबी) को परिवत्र्य दरलाई सकेसम्म स्थिर र सन्तुलित राखिने छ । व्यवसायीहरुलाई बजारका अवसरहरुको खोजी गर्न सरकारले थप राहत र सुविधा उपलब्ध गराउने छ ।
सीमापार ई–कमर्सको विकासलाई थप प्रबद्र्धन गरिने छ । वैदेशिक व्यापारको प्रतिस्पर्धात्मक क्षमता बढाउन प्रोत्साहित गरिने छ । आवश्यकता अनुसार आयातलाई विस्तार गरिने छ ।
वैदेशिक लगानी आकर्षित गर्न सक्रियतापूर्वक प्रयत्न गरिने छ । व्यवसाय र लगानीमा आकर्षिक गर्नेगरी स्थानीय सरकारहरुलाई मद्दत गरिने छ । स्वतन्त्र व्यापार क्षेत्र र अन्य प्लेटफर्मको प्रयोगमा सहुलियत दिइने छ । वैदेशिक लगानीमा सञ्चालित व्यवसायको सेवामा सुधार ल्याउन दिगो प्रयत्न गरिने छ ।बैठकले फेब्रुअरी महिनाको प्रारम्भमै विस्तृत योजना तयार गर्न सरकारका सम्बद्ध निकायहरुलाई आग्रह गरेको छ ।