काठमाडौं। अलैंची अभियानले अलैंचीको प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली रेसिपीको ‘रेसिपी बुक’ सार्वजनिक गरेको छ।पुस्तकमा मास्टरसेफ सन्तोष साह र प्रशिक्षार्थी तथा अन्य सेफहरुबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपी समावेश गरिएको छ।
साथै रेसिपी बुकमा सेकुवा, चिया र सीर जस्ता सदाबहार व्यञ्जनहरूका लागि आवश्यक मसलाहरू तयार गर्ने विधि पनि समावेश छ।
यस पुस्तकमा समावेश गरिएका रेसिपीहरू, वाह अलैंची अभियानअन्तर्गत पहिलो चरणमा आंकलन गरिएको हो सो प्रतियोगितामा अलैंचीलाई मुख्य सामग्रीको रूपमा प्रयोग गरिएको थियो।
जसमा विराटनगर, सौराहा र काठमाडौंका होटलहरूका प्रोफेसनल सेफ तथा कलिनरी विद्यालयका युवा प्रशिक्षार्थीहरु उत्साहका साथ सहभागी भएका थिए। प्रत्येक रेसिपीलाई काठमाडाैंका प्रोफेसनल सेफहरुको टोलीद्वारा सावधानीपूर्वक चयन एवं परीक्षण गरिएको थियो।
सन् २०२२ जुलाई महिनामा नेपाल अलैंची व्यवसायी महासंघ (एफएलसीईएन)ले उद्योग, कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी)को सहयोगमा होटल एसोसिएसन नेपाल (हान)सँगको सहकार्यमा अलैंची अभियान शुभारम्भ गरिएको थियो।
यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको छ। साथै, यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ।
हाल दोस्रो चरणमा रहेको अलैंची अभियानले नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्दधन गर्नेछ। यो अभियान अलैंचीलाई प्रवर्द्धन गर्न प्रमुख सरोकारवालाहरुसँगको सहकार्यमा केन्द्रित हुने र रेसिपी बुकको प्रवर्द्धन गर्न सञ्चार माध्यम, निजी क्षेत्र र होटल एसोसिएसनसँग पनि काम गर्ने बताइएको छ।