नयाँदिल्ली, एजेन्सी। भारतका गौतम अदानी विद्यालय छाडेपछि अर्बपति बन्न पुगे। यतिमात्र नभएर उनी एसियाको सबैभन्दा र विश्वका तेस्रो सर्वाधिक धनी व्यक्ति बन्न पुगे। तर, एक अमेरिकी सर्ट सेलर हिडनबर्गले आफ्नो व्यावसायिक अभ्यासमा शंका व्यक्त गरेपछि उनको पहिलो नम्बरमा पुग्ने योजनामा ब्रेक लगेको छ। हिडनबर्गका कारण उनकाे प्रतिष्ठा र कम्पनीको करियरमा सबैभन्दा ठूलो दाग लागेको छ।
अदानी जसको गृहराज्य पश्चिमी भारतको गुजरात हो। एक वस्तु व्यापारीका रूपबाट व्यवसाय विस्तार गरेका अदानीले पछिल्लो एक दशकमा विशाल साम्राज्य निर्माण गरे। प्रधानमन्त्री नरेन्द्र मोदी पनि सोही राज्यका हुन्। उनीहरूको सम्बन्धलाई लिएर मोदीका विपक्षीहरूले वर्षौंदेखि गहिरो जाँचबुझ माग गर्दै आएका छन्।
अदानीको व्यावसायिक साम्राज्य द्रुत गतिमा बढ्यो र उनको सम्पत्ति बेलुनजस्तै फुल्यो। उनको चासो बन्दरगाह, विद्युत उत्पादन, विमानस्थल निर्माण तथा सञ्चालन, खानी उत्खनन, खाद्यतेल उत्पादन, नवीकरणीय ऊर्जा उत्पादनका साथै हालै मिडिया र सिमेन्टमा उनको व्यावसायिक साम्राज्य फैलिएको छ। उनले हालसालै न्युदिल्ली टेलिभिजन (एनडी टिभी) खरिद गरेर मिडियामा पनि प्रवेश गरेका छन्।
फोर्ब्सका अनुसार बर्नार्ड अर्नाल्ट र इलोन मस्कलाई पछि पार्दै अदानी १ खर्ब २७ अर्ब डलरको कूल सम्पत्तिसाथ विश्वकै तेस्रो धनी व्यक्ति बन्न पुगेका थिए। हिडनबर्गले कर्पोरेट ठगी गरेको रिपोर्ट सार्वजनिक गरेपछि उनको सम्पत्ति एकै दिन २५ अर्ब डलर गुम्दा उनी अहिले सातौं स्थानमा झरेका छन्। दन्तचिकित्सक प्रितीसँग विवाह गरेका गौतमका दुई छोरा करण र जीत छन्। दुवै छोरा कम्पनी व्यवसायमा संलग्न छन्।
६० वर्षीया अदानी एक मध्यमवर्गीय कपडा व्यापारी परिवारबाट आएका थिए। अदानीको साम्राज्य बढ्दै जाँदा उनका सेयर बजारमा सूचीकृत सात कम्पनीको सेयर मूल्य बढ्यो। तीन वर्षमा आक्रमकरूपमा गरेको लगानी विस्तारबीचमा १ हजार ५ सय प्रतिशत उनको सम्पत्ति बढ्यो। मोदीका विपक्षीले उनीहरूको घनिष्ठ सम्बन्धबाट फाइदा उठाएको आरोप लगाएका छन्। तर, अदानीले त्यसको खण्डन गर्दै आएका छन्।
रोयटर्ससँगको २०१४ काे अन्तर्वार्तामा अदानीले मोदीसँग राजनीतिक स्पेक्ट्रममा मित्र भएको तर राजनीतिबाट आफू टाढा रहेको जानकारी गराएका थिए। उनले आफ्नो सफलताका पछाडि कुनै पनि राजनीतिक नेता नभएको बताएका छन्।
हालका वर्षमा २ खर्ब २० अर्ब डलरको अदानी समूहले विदेशी लगानी आकर्षित गरेको छ। उदाहरणका लागि फ्रान्सको टोटल इनर्जी कम्पनी हो। यो कम्पनीसँग अदानीले विश्वको सबैभन्दा ठूलो हरित हाइड्रोजन इकोसिस्टम विकास गर्न गत वर्ष साझेदारी गरेका थिए। हालसालै अदानीले स्थानीय र विदेशी मिडियालाई अन्तर्वार्ता दिँदै आफ्नो सार्वजनिक छवि निर्माण गर्न सक्रिय दृष्टिकोण अपनाएको बताएका छन्।
यस महिना जनताको अदालत भनिने एक लोकप्रिय हिन्दी टिभी कार्यक्रममा देखापर्दै अदानी अदालतको नक्कली सेटअपभित्र बसेर आफ्नो समूहबारे उठेका प्रश्नका जवाफ दिएका थिए। उनले आफूलाई एक लजालु व्यक्तिका रूपमा वर्णन गरेका थिए।
मोदी सरकारले अदानीलाई पक्षपात गरेको आरोपको उनले अस्वीकार गरेका छन्। मानिसले २०१४ को चुनावमा र त्यसपछि राहुल गान्धीले अदानीमाथि लगातार निशाना बनाएका छन्। राहुलका कारण अदानी को हो भनेर सर्वसाधारणले थाहा पाएको उनले उल्लेख गरेका छन्।
सञ्चित नोक्सान ४८ अर्ब डलर
अहिले सेयर बजारमा सूचीकृत सबै कम्पनीको सेयर मूल्यमा भारी गिरावट आयो। याे साता उनीहरूको सञ्चित घाटा ४८ अर्ब डलर पुग्यो। सर्ट सेलर हिडनबर्ग रिसर्चले बुधबार अदानीको व्यवसायलाई कर हेभन्सको अनुचित प्रयोग गरेको आरोप लगाएको छ र उच्च ऋणबारे चिन्ता व्यक्त गरेको छ। अदानीले हिडनबर्गको प्रतिवेदन आधारहीन भनेका छन्। उनले हिडनबर्गविरुद्ध कानुनी उपचार खोजीमा जाने विचार गरिरहेको बताएका छन्।
प्रतिष्ठामा चुनौती
अदानी समूहको वेबसाइटले कम्पनीको वृद्धिलाई सन्तुलन कायम राख्नु मुख्य उद्देश्य रहेको भनेको छ किनभने यसले राष्ट्रिय सान्दर्भिकताको सम्पत्ति निर्माण गर्ने र आत्मनिर्भरता तथा स्थिरतामार्फत जीवन परिवर्तन गर्ने लक्ष्य राखेको छ।
समूहको प्रमुख फर्म अदानी इन्टरप्राइजेजले याे साता २.५ अर्ब डलर जुटाउने लक्ष्य राख्दै देशको सबैभन्दा ठूलो सार्वजनिक सेकेन्डरी सेयर अफर सुरु गर्दा अभूतपूर्व सेयर मूल्यमा आएको गिरावटको सामना कसरी गर्ने भन्ने उनको पछिल्लो चुनौती हो। शुक्रबारको सेयर भाउ अफर मूल्यभन्दा धेरै तल झरेको छ, जसले यसको सफलतामा शंका उत्पन्न गरेको छ।
रिपोर्टका अनुसार अदानीको लागि प्रतिष्ठा जोखिम हुनसक्छ तर उसले त्यो क्षतिलाई सीमित गर्न र समूहको वित्तीय र सम्पत्तिको शक्तिको लगानीकर्तालाई आश्वासन दिन र सेयर बिक्री सफल भएको सुनिश्चित गर्न कदम चाल्न सक्छ।
अदानी समूहको कूल ऋण २३.३४ अर्ब डलर रहेको छ।जबकि हिन्डनबर्गले प्रमुख सूचीबद्ध अदानी कम्पनीका ऋण धेरै रहेको जिकिर गरेको छ। जसले सम्पूर्ण समूहले वित्तीय अनिश्चिततामा राखेको छ। अदानी समूहले बारम्बार आफ्नो उधारो व्यवस्थित भएको बताएको छ।
अदानी विवादमा आइरहेका छन्। भर्खरै दक्षिणी भारतको केरलामा ९० करोड डलरको बन्दरगाह निर्माणविरूद्ध माछा मार्नेहरूबाट महिनौंदेखि विरोध भएको थियो। जसमा उनले राज्य सरकार र माछा मार्नेका नेताहरूलाई मुद्दा हालेका थिए। अस्ट्रेलियामा वातावरणीय कार्यकर्ताहरूले कार्बन उत्सर्जन र ग्रेट ब्यारियर रिफ क्षतिको चिन्तामा क्विन्सल्यान्डमा अदानीको कारमाइकल कोइला खानी परियोजनाविरुद्ध वर्षौंदेखि विरोध गरिरहेका छन्।
भारतीय सेयर बजारमा आतंक
भारतीय डलर अर्बपति अदानीका कारण सेयर बजारमा आतंक छाएको छ। कोइला, विमानस्थल, सिमेन्ट र सञ्चार क्षेत्रमा फैलिएको उनको व्यापारिक साम्राज्य अहिले कर्पोरेट ठगीको आरोप र सेयर बजारमा आएको अचानक गिरावटले आतंक छाएको हो।
एसियाका सबैभन्दा धनी अदानीले यो साता आफ्नो कूल सम्पत्तिमा २५ अर्ब अमेरिकी डलर गुमाएका छन्। फोर्ब्सकाे विश्वव्यापी धनीहरूको तेस्रो सूचीमा रहेका उनी कर्पोरेट ठगी काण्ड सार्वजनिक भएपछि सातौं स्थानमा झरेका छन्।
अमेरिकी सर्ट सेलर हिडनबर्ग रिसर्च कर्पाेरेट ठगी र सेयर बजारमा जालसाजी गरेको भन्ने आरोपसहितको एक प्रतिवेदन सार्वजनिक भएपछि एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अदानीको कम्पनीले त्यस्ता आरोपको प्रतिवाद गरेको छ।
अदानी ग्रुपले एक अमेरिकी लगानी कम्पनीले तयार गरेको प्रतिवेदन दुर्भावनापूर्ण र नियोजितरूपमा फैलाइएको भ्रामक सूचना भनेर प्रतिक्रिया दिएको छ।
यसै साता बुधबार त्यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक भएयता अदानी समूहले सेयर बजारमा आफ्नो अर्बौं डलर गुमाएको छ।
उक्त भारतीय कम्पनीले अब त्यस्तो प्रतिवेदन तयार पारेको न्युयोर्कको ‘हिडनबर्ग रिसर्च’ विरुद्ध कानुनी उपचार खोज्नेबारे छलफल गरिरहेको जनाएको छ।
क्षतिपूर्तिका लागि मुद्दा हाल्ने
आफ्नो प्रतिवेदनमा हिडनबर्गले अदानीलाई ‘व्यावसायिक इतिहासकै सबैभन्दा ठूलो ठगी’ गरेको आरोप लगाएको छ। अदानी ग्रुपको थप निष्कासन (एफपिओ) सर्वसाधारणका लागि बिक्री खुला गरिनुभन्दा केही दिनअघि मात्रै त्यस्तो प्रतिवेदन सार्वजनिक भएको हो।
प्रतिवेदनले अदानी समूहको स्वामित्वमा माैरिसस र क्यारेबियनजस्ता ‘ट्याक्स हेभन’ भनिने देशमा रहेका कम्पनीबारे पनि प्रश्न उठाएको छ। प्रतिवेदनले अदानी समूहसँग ‘ठूलो मात्रामा ऋण’ रहेको र यसले पूरै समूहलाई कमजोर आर्थिक धरातलमा राखेको दाबी गरेको छ।
अदानी समूहले हिडनबर्ग रिसर्चविरुद्ध अमेरिका र भारतमा उपचारात्मक र दण्डात्मक कारबाही खोज्नेबारे छलफल भइरहेको बताएको छ। अदानीले आफ्नो काम सधैं कानुनको परिधिभित्रै रहेको दाबी गरेको छ।
‘भारतीय धितोपत्र बजारमा प्रतिवेदनले सिर्जना गरेको अस्थिरता ठूलो चिन्ताको विषय हो र यसले भारतीय नागरिकमा नसोचेको पीडा निम्त्याएको छ,’ अदानीको कानुनी टोलीका प्रमुख जतिन जालुन्धवालाले भने।
हिडनबर्गको अडान
हिडनबर्गको अध्ययन अप्रमाणित तथ्यमा आधारित रहेको र यसले अदानी समूहको सेयर मूल्यमा गिरावट आउने निश्चित देखिएको उक्त प्रतिवेदनमै स्वीकार गरिएको अदानी समूहको दाबी छ।
हिडनबर्गले अदानी समूहको प्रतिक्रियाको जवाफ दिँदै उक्त कम्पनीले आफूले उठाएको एउटा पनि विषय सम्बोधन नगरेको बताएको छ।
आफ्नो प्रतिवेदनमा रहेका विवरणमा आफू अडिग रहने र कानुनी कदमको सामना गर्न तयार रहेको समेत हिडनबर्गले जनाएको छ।
अदानीलाई भारतका प्रधानमन्त्री मोदीसँग नजिक रहेर फाइदा लिने गरेको आरोप लगाउँदै आएका विपक्षी राजनीतिज्ञहरूले यो मामिलामा तत्कालै प्रतिक्रिया जनाएका छन्।
सांसदसमेत रहेकी शिव सेना पार्टीकी नेतृ प्रियंका चतुर्वेदीले ट्वीट गर्दै प्रतिवेदनमा लगाइएका आरोपबारे सरकारले जानकारी लिनुपर्ने बताएकी छिन्।
दक्षिणी भारतका अर्का लोकप्रिय राजनीतिज्ञ केटी रामारावले अदानी समूहको सञ्चालनबारे छानबिन गर्न भारतका अनुसन्धान एजेन्सी र बजार नियामकसँग माग गरेका छन्।
तर, नियामकहरूले स्वतन्त्ररूपमा कुनै कदम नचाल्ने विज्ञहरू बताउँछन्।
‘भारतको सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्डले कुनै उजुरी परेको अवस्थामा मात्रै कदम चाल्छ। यो मामलामा कुनै उजुरी नपरेको बोर्डले जानकारी गराएको छ,’ लगानीकर्ताहरूलाई परामर्श दिँदै आएको इनगभर्न रिसर्चका प्रबन्ध निर्देशक श्रीराम सुब्रमन्यमले भने।
नियामक निकायसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरे पनि कुनै जवाफ प्राप्त नभएको बिबिसीले जनाएको छ ।
यो प्रतिवेदनले अदानी समूहले बिक्री खुला गरेको २.४ अर्ब डलरको एफपिओप्रति सम्भावित खरिदकर्ताहरू निरुत्साहित हुनसक्ने चिन्ता व्यक्त गरिएको छ। हिडनबर्गको असरले अदानी इन्टरप्राइजेजको एफपिओ एक प्रतिशतमात्र बिक्री भएको छ।
यो प्रतिवेदनको असर अदानी समूहभन्दा बाहिरसम्म पुग्न सक्ने आँकलनसमेत गरिएका छन्। यसलाई लिएर आर्थिक विश्वव्यापीकरण र राजनीतिक राष्ट्रवादबीच परेको भारतीय धितोपत्र बजारमा इमान्दारिताबारे बहस सुरु भएका छन्।
के हो हिडनबर्ग ?
सन् १९३७ मा हाइड्रोजनबाट सञ्चालित जर्मन एयरसिप अमेरिकाकाे न्यजुर्सीमा उडान गर्दागर्दै आगो लाग्यो र दुर्घटनाग्रस्त भयो। जसमा ३५ यात्रु मारिए। व्रह्माण्डको सबैभन्दा ज्वलनशील पदार्थले भरिएको बेलुनमा करिब १ सयजना सवार रहेको एक मानवनिर्मित प्रकोप थियो।
हवाई जहाजलाई हिडनबर्ग नाम दिइएको थियो। आठ दशकपछि २०१७ मा कनेक्टिकट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापनको स्नातकले उक्त गल्ती पत्ता लगाउन फरेन्सिक वित्तीय अनुसन्धान फर्म स्थापना गरेका थिए।
(रोयटर्स र बिबिसीको सहयोगमा)