काठमाडौं। नेपालले घर, अफिस, सडक, उद्योगलगायतका विभिन्न ठाउँमा ठूलो मात्रामा बत्ती प्रयोग गर्ने गरेको छ। नेपालका यस्ता विभिन्न स्थानहरुमा जडित बत्तीहरु प्राय बाहिरबाट ल्याइने गरिन्छ।
जसले गर्दा नेपाललाई आर्थिक रुपमा पनि यसले असर गरेको छ। तर काठमाडौंका रामकुमार भुसालले घर, उद्योग सडकका खम्बा, पुल र टावरका लागि अनुकूलित बत्ती उत्पादन गर्ने काम गर्दै आएका छन्।
भुसालले ‘नेपाल अल्टरनेटीभ इनर्जी एन्ड इलेक्ट्रोनिक इन्डस्ट्री’ कम्पनीमार्फत यस्ता बत्ती उत्पादनका साथमा देशका विभिन्न स्थानमा बत्ती जडान गर्ने कामसमेत गर्दै आइरहेको छ। ‘यस कम्पनीमार्फत हामी आफैंले सडक बत्तीहरू, स्टुडियो लाइटहरु, तथा विभिन्न किसिमका इलेक्ट्रिक सामग्रीहरू निर्माण गर्दै आएका छौं,’ रामकुमार भुसालले भने ‘हामी आफैंले नेपालमै निर्माण गरेका बत्तीहरू नगरपालिका तथा वडाहरुमा जडान गर्ने काम पनि हामी आफैंले गरिरहेका छौं।’
उनले यस्ता सामग्रीको उत्पादनमा आठ/नौ वर्षदेखि निरन्तर काम गरिरहेका छन्। अन्य बत्तीहरुको एक वर्ष वा दुई वर्षसम्म मात्र वारेन्टी हुन्छ तर उनले दश वर्षसम्मको वारेन्टी दिने तयारीका साथ काम गरिरहेका छन्। यसका साथै यस कम्पनीले डिजिटल टावरहरु पनि बनाउने काम गरिरहेका छ।
भुसालकाअनुसार कम्पनीले स्याङ्जाको एक नगरपालिकामा नमुना डिजिटल टावरसमेत बनाइसकेको छ। उनले बत्तीको साथमा लगभग १० देखि १२ वटा अन्य प्रकारका सामग्रीहरू बनाएका भएपनि हाल चार वटा भने धमाधम बिक्री भइरहेका छन्। बाहिरबाट आएका यस्ता सामग्रीहरु प्रयोग गर्नुको साटो नेपालमै उत्पादीत सामग्री प्रयोग गर्नुपर्नेमा उनको जोड छ।
बाहिरबाट ल्याएका अन्य डिजिटल सामग्रीहरुभन्दा बढी गुणस्तरीय सामग्रीहरु उत्पादन गरेकोले यसलाई बढाउँदै लैजाने उनको उद्देश्य छ। यस्ता डिजिटल सामनको उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउने उनको प्रमुख उद्देश्य हुन्। ‘नेपालले ठूलोमात्रामा यस्ता डिजिटल सामग्रीहरु बाहिरबाट आयात गरेर आर्थिक घाटा बेहोरेको कारणले यसमा नेपाललाई आत्मनिर्भर बनाउने सोच छ,’ उनले भने। पहिलो चरणमा आफूले बनाएका सामग्रीको उत्पादन बढाउँदै नेपालभर यसकै पहुँच बढाउने सोच राखेको उनले पछि गएर अन्टर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने सोच पनि राखेका छन्।